नौ महिनादेखि कामको खोजीमा कामेश्वर
भूषण दाहालको टेलिभिजन सिरिज ‘हाम्रो टिम’ कामेश्वर चौरसियाको अभिनयको पहिलो खुड्किलो थियो। फिल्म ‘लुट’मा एकदुई मिनेटको सानो रोल गर्दै अभिनयमा प्रवेश गरेका उनले ‘रेसम फिलिली’बाट आफूलाई उम्दा कलाकार साबित गरे।
त्यसयता ‘कृ’, ‘राज्जा रानी’, ‘पलाँस’ जस्ता फिल्ममा काम गरेका कामेश्वर यतिबेला भने कामको खोजीमा छन्। उनी आफू नौ महिनादेखि बेरोजगार भएको र कामको खोजीमा रहेको बताउँछन्। ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनाले उनीसँग खुलस्त संवाद गरेका छन्।
तपाईं साँच्चिकै नौ महिनादेखि कामको खोजीमा हो?
झुटो कुरा किन बोल्थेँ? ‘गरुड पुराण’को सुटिङ सकिएको नौ महिना भयो। त्यसयता कुनै पनि फिल्ममा काम गर्न पाएको छैन।
कसैले काम नै अफर गरेका छैनन्?
छैनन् र त काम मागिरा’छु। झुटो बोल्नु हुन्न, बीचमा एकदुई जनाले फिल्म अफर गर्नुभएको थियो। तर, गेस्ट रोलमा। मैले उहाँहरूलाई भनेँ– ‘गेस्ट रोलबाट बल्लतल्ल अलि लामो रोल गर्न पाएको मान्छे हुँ। फेरि गेस्ट रोलमा झरुँ। झर भन्नुहुन्छ भने म गर्छु।’ यसपछि उहाँहरू फर्केर आउनुभएन। यो अलि अघिको कुरा हो। तत्काल त कसैले पासिङ सिनका लागि पनि सम्झनुभएको छैन।
थिएटरका सबै कलाकार व्यस्त छन्। सबलाई भ्याइ–नभ्याइ छ। तपाईं मात्र किन खाली?
यही त म पनि सोचिरहेको छु। मलाई मात्र किन कसैले काम दिइरहेको छैन। बीचमा त म अभिनय नै छाड्छु भनेर लागेको थिएँ। तर, अरू काम पनि गर्न सकिनँ।
भनेपछि अरू काम पनि गर्नुभयो?
अरू काम गर्न पाएको भए त भइहाल्थ्यो नि ! त्यसमा पनि कसैले पत्याएन। एक समय अरू नै काम गर्छु भनेर सारा भ्याकेन्सीमा अप्लाई गरेर बसेँ। केही साथीले भनसुन पनि गरिदिए। जब काम गर्न भनेर गएँ, त्यहाँको साहुले मलाई देखेर पत्याउँदै पत्याएन। ‘तपाईं जस्तो कलाकार मान्छे कहाँ यहाँ काम गर्नुहुन्छ’ भन्दै फर्काइदिए। एकचोटि यो देखेर पनि दुःख लागेको थियो। तर, पछि सम्झिएँ, म अभिनय गर्न जन्मिएको हो। कामै पाएको भए पनि १० दिनभन्दा बढी टिक्न मुश्किल पथ्र्यो।
अभिनयलाई ‘मिस’ गरिरहनुभएको छ?
त्यसको कुरै नगर्नुस्। यो दुःखलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ। अभिनयप्रति मेरो लगावको तपाईं अनुमान पनि लगाउनु सक्नुहुन्न। एक समय अनुप बरालले अभिनयमा मेरो लगाव देखेर बिनापैसा तीन महिना पढाउनुभएको थियो। एक्टर्स स्टुडियोमा तीन महिनाको अभिनय कोर्स गरेर अभिनयमा आएको हुँ।
फिल्म वा नाटकको कसैलाई ‘काम देऊ’ भन्नुभएन?
मैले जिन्दगीमा गर्न नसकेको काम यही हो। मैले माग्न जानेको छैन। अनि, अर्को कुरा मलाई के लाग्यो भने कोही न कोही मेरो लागि राम्रो रोल लेखेर बसिरहेको छ। एकदुई दिनमा आइहाल्छ। तर, होइन रहेछ। बाटोमा हिँड्दा पनि मलाई नचिन्नेले समेत तपाईंको काम बबाल छ भन्थे। सामान्य मानिसले मलाई यसरी चिनेको छ भने लेखक निर्देशकले त चिनेकै होलान् भन्ने लागेको थियो। तर, होइन रहेछ।
काम नभएपछि घर चलाउन पनि त गाह्रो भएको होला?
म वीरगञ्जको मान्छे। काठमाडौँ भाडा गरेर बस्छु। महँगी छ। हातमुख जोर्न पनि समस्या छ। तपाईंलाई के भनुँ, मेरो छोरी छ, १६ महिनाको। यहाँ राख्न सक्ने स्थिति नभएपछि श्रीमती र छोरीलाई घरमै राखेको छु। छोरी म भनेपछि मरिहत्ते गर्छे। फोनमा कुरा गरेर चित्त बुझाउनुपरेको छ।
घरमा के भन्छन्?
घरको कुरा पनि त्यही हो। उहाँहरूलाई पनि थाहा भइसक्यो, मैले अभिनय छाड्नेवाला छैन। यसबाट केही गर्न सकेको पनि छैन। उहाँहरूले मैले कमाएर केही गर्ला भन्ने आश मारिसक्नुभएको छ। आजभोलि भन्नुहुन्छ– ‘हाम्रो छोड, कम्तीमा आफू गरिखा।’ मैले परिवारको चिन्ता गर्नुपर्ने बेलामा परिवारले उल्टै चिन्ता गर्नुपरेको छ।
बीचमा तपाईं घमण्डी भएको खबर आएको थियो। यसैको असर हो कि?
अलि–अलि पक्कै यसको असर होला।
अनि, किन मात्तिनुभएको त? बीचमा तपाईंले ‘विजयकुमार पाण्डे र भूषण दाहालबाहेक कसैलाई अन्तर्वार्ता नै दिन्नँ’ भनेको समाचार आएको थियो?
यसको तपाईंलाई पूरा कहानी सुनाउँछु। यो आएको हो, ‘पलाँस’को निर्माता कृषा चौलागाईंबाट। ‘पलाँस’ फिल्मको प्रचार सुरु हुने बेलामा म ‘राज्जा रानी’को सुटिङका लागि नेपालगञ्जमा थिएँ। उहाँहरूले ट्रेलरको डबिङका लागि बोलाउनुभयो। मलाई ‘राज्जा रानी’ले छाडेन। उहाँहरूले फाइल पठाउनुभयो, मैले त्यतै मेरो आवाज रेकर्ड गरेर पठाएँ। केही दिनपछि ट्रेलर लन्चमा आउनुस् भन्नुभयो। फेरि सुटिङकै समस्या थियो। ‘राज्जा रानी’ले एक दिनका लागि छाड्ने भयो। हामी दुवैको सहमतिमा म एक दिनका लागि काठमाडौँ आएँ। कार्यक्रम सकेर म सुन्धाराको होटलमा बसेँ। भोलिपल्ट बिहानै कृषाजी आउनुभयो र अन्तर्वार्ता गर्नुपर्यो भन्नुभयो। मलाई ‘राज्जा रानी’को टिम नेपालगञ्जमा कुरेर बसिरहेको थियो। मैले भनेँ, ‘म अन्तर्वार्ता दिन्नँ।’ सवालजवाफ भयो। मैले झोक्किएर भनेँ– ‘ल अन्तर्वार्ता नै दिने भए म विजयकुमार, भूषण दाहाललाई दिन्छु। सक्नुहुन्छ उहाँहरूसँग अन्तर्वार्ता गराउन?’ झोकमा भनेको यही कुरालाई उहाँले मिडियामा फैलाइदिनुभयो। बस् भएको यही हो।
यसको मतलब तपाईं घमण्डी भएको वा मात्तिएको होइन?
मैले दर्जनभन्दा बढी निर्देशकसँग काम गरिसकेको छु। हर कोहीलाई थाहा छ, म कस्तो छु। म मिडियासँग नजिक नभएर पनि होला, मलाई कसैले घमण्डी भनेको। आफ्नो काम गर्छु, बस्छु। मिडियाको कसैलाई पनि चिन्दिनँ। यही कारण पनि सबैमा मेरोबारे गलत धारणा छ। तर, म त्यस्तो मान्छे हुँदै होइन। मैले गरेको के छ र घमण्ड गर्नलाई?
अबको योजना के छ?
पहिलो योजना त काम खोज्ने नै छ (हाँस्दै)। केही दिनपछि मेरो नयाँ फिल्म ‘गरुड पुराण’ लाग्दै छ। केही दिन यसैको प्रचारप्रसारमा हुन्छु। त्यसपछि के हुन्छ थाहा छैन। तर, अब म पहिला जस्तो डिमान्ड गर्ने मुडमा छैन। जसले जहाँ जे जस्तो रोलमा अफर गर्नुहुन्छ, खुशी–खुशी स्विकार्छु।