होटल अभावमा पर्यटक अलपत्र

होटल अभावमा पर्यटक अलपत्र

चरिकोट : होटलमा बास नपाएपछि चरिकोटमा हजारभन्दा बढी आन्तरिक पर्यटकहरु अलपत्र परेका छन्। सदरमुकाम चरिकोटका होटल खचाखच भरिएपछि कालिञ्चोक, भीमेश्वर दर्शनमा आएका पर्यटकहरू अलपत्र परेका हुन्।

कालिञ्चोक तथा दोलखा भीमेश्वर दर्शनको लागि काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, सप्तरी लगायतका जिल्लाबाट शुक्रवार, शनिबार र मंगलवार ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। काठमाडौं किर्तीपुरबाट भीमेश्वर दर्शनमा आएका विनय मर्हजन कोठाको अभावले बसमै सुत्नु परेको बताए।

चरिकोटमा साना र ठूला गरी करिब १६५ वटा होटल छन् । सबै होटलमा तीन हजारदेखि तीनहजार पाँच सयसम्म मानिस अट्न सक्ने होटल व्यवसायीहरु बताउँछन्। होटल शुभेच्छाका प्रोपाईटर चन्द्र लामा आफूले दुई सयभन्दा बढी पर्यटकलाई फिर्ता गरेको बताए। २१ कोठा भएको होटलमा ४९ जनालाई राखिएको लामाले बताए।

सदरमुकाम चरिकोटको चोकमा रहेको होटल किर्तीका संञ्चालक देवकृष्ण थापा आफुले शुक्रबार झण्डै पाँच सय पर्यटकलाई कोठा नभएर फिर्ता गर्नु परेको बताउँछन्। १८ कोठा भएको आफ्नो होटलमा ४२ जनालाई राखिएको थापाले बताए। भीमेश्वर नगरपालिका–३, गौतमटोलस्थित चरिकोट उड्स रिसोर्टका सञ्चालक निराजन थापाले पनि क्षमताभन्दा एक तिहाई बढी आगन्तुकलाई म्यानेज गरेको जानकारी दिए।

दोलखाको कालिञ्चोकमा हिमपातको मौसममा उल्लेख्य पर्यटक आउने गरेका छन्। शुक्रवार कालिञ्चोकमा रहेका ४५ वटा होटल भरिएपछि धेरै पर्यटकहरू सदरमुकाम चरिकोट आएका थिए। कालिञ्चोकमा तीन हजारभन्दा बढी पर्यटक रहेको र होटल भरिएपछि धेरैलाई सदरमुकाम चरिकोट पठाउनु परेको होटल सुनापातीका संञ्चालक हरि ओलीले जानकारी दिए।

चरिकोटको होटलहरुमा पनि बास नपाएपछि स्थानीयहरुले करिब ५ सयजनालाई आ–आफ्नो पाहुना कोठामा लगेर बासको व्यवस्था गरेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए। सडकमा अलपत्र रहेका ५ जनालाई आफ्नो घरमा निशुल्क बास दिएको स्थानीय मुरारिराज शिवाकोटीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.