तात्तातो भक्का
जाडोयाममा बिहानै उठ्नसमेत जोकोहीलाई जाँगर चल्दैन। ओछ्यान र सिरक छाड्न नसक्नेहरू मुख धुन पनि नपरोस्झैँ गर्छन्। तर, एकाबिहानै इटहरीकी मालती चौधरी व्यापार गर्न निस्किन्छिन्। मानिसको चहलपहल बाक्लिसक्दा नसक्दै चुल्हो र केही भाँडाकुँडा लिएर इटहरी चोकको सडक छेउमा पुगिसक्छिन्।
‘दिउँसो माटाका भाँडा बनाउने व्यवसाय छ’, उनी भन्छिन्, ‘बिहान तीन–चार घण्टा भक्का बनाएर बेच्छु।’ उनकी दिदीचाहिँ टेंग्रा खोलाको पूर्वपट्टि बस्छिन्। अनि बहिनी पश्चिममा। सडक छेउ चुल्हो र भाँडाकुँडा राख्छन् उनीहरू। अनि थाल्छन्, भक्काको व्यापार।
उनको घर इटहरी–६ मा छ। जाडोको मौसम हुनासाथ उनको सिजनल व्यापार सुरु हुन्छ। त्यो पनि जाडोको उग्र समयमा अर्थात् बिहान। धन्न आगोमा काम गर्ने हो। ‘त्यति जाडो हुँदैन’, १२ वर्षदेखि जाडो महिनाको बिहान सडकछेउ भक्का पकाउने मालती भन्छिन्, ‘व्यापार भनेपछि जाडो मानेर पनि हुँदैन नि।’
उनले भक्का बेचेरै परिवारको गर्जो टार्छिन्। भक्का बनाउन खासै खर्च लाग्दैन। चामलको पिठो, आगो, एक भाँडो पानी भए पुग्छ। पानीको बाफले भक्का पाक्छ। भक्का पकाउन भाँडोमा पानी हालेर तताइन्छ। त्यसपछि चामलको पिठोलाई बटुकोमा राखेर कपडाले छोपिन्छ। अनि त्यही भाँडोको मुखमा राखिन्छ। पानीबाट निस्केको बाफले भक्का पाक्छ। त्यसपछि अचारसँग भक्का खान दिइन्छ।
उनले बनाएको भक्का खान बूढापाकादेखि बच्चाहरूसम्म आउँछन्। थारू समुदायले खाजाका रूपमा पकाउने परिकार हो भक्का। तर अहिले के थारू, के राई, के बाहुन, क्षेत्री, भक्का खान आउँछन्। कतिले घर लगेर परिवारलाई बाँड्छन्। ‘बिहानको खाजाका लागि राम्रो हुन्छ। चिल्लो नहुने भएकाले ग्यास्ट्रिक हुनेका लागि पनि राम्रो हुन्छ’, उनी भन्छिन्।
अर्की व्यापारी लोकी ताजपुरियाले पकाएको भक्का छेवैमा बसेर खाइरहेका गोकुल गुरुङ भन्छन्, ‘भक्का ग्यास्ट्रिक भएकाका लागि राम्रो खाजा हो, त्यसैले म दिनमा सातआठवटा खान्छु।’ कसैलाई चाहिँ चिसो मौसममा तातोकै लागि पनि तात्तातो भक्का मन पर्छ।’ गोकुल दास भन्छन्, ‘चिसो भगाउन पनि भक्का मन पर्छ।’ लोकी भक्का बेचेर दैनिक एक हजार पाँच सय रुपैयाँसम्म नाफा कमाउँछिन्।
भक्का किनबेचको क्रम ८ बजेसम्म चल्छ। बिहान एकपटक त उनको पसल वरपर मान्छेको भीड नै हुन्छ। दूध किन्न आएकाहरू, रिक्सा कुदाउने मजदुर वा कलेजका विद्यार्थी नै किन नहुन्, पालो पर्खेर बस्छन्। त्यतिन्जेलमा उनले ल्याएको तीन केजी चामलको पीठो पनि सकिन्छ। ‘दिउँसो भक्का बिक्दैन, जति बिक्नु बिहानै हो’, उनी भन्छिन्, ‘दिउँसो त मेरो पनि अर्को ठाउँमा मजदुरी गर्न जानुपर्छ।’
दिउँसो मजदुरी, बिहान भक्काको व्यापार। कुन काम सजिलो ? उनी जवाफ दिन्छिन्, ‘गर्नु परेपछि सबै सजिलो।’