खानेपानीको पिरलो उस्तै
कालिकोट : कालिकोट पलाँता गाउँपालिका–२ बान्जडाकी सरस्वती प्याकुरेलको दैनिकी खानेपानी बोक्दै बित्छ। एक गाग्री पानी लिन उनी दुई घण्टाको बाटो हिँडेर खोला किनारमा रहेको धारामा पुग्ने गर्छिन्। ‘गाउँमा पानी छैन, एक घण्टा ओरोलो झरेर थाडीबाट पानी ल्याउनुपर्छ’, उनले भनिन्, ‘वर्षौं भयो यो समस्या भोगेको, पानी बोक्दा बोक्दा थाप्लोका कपाल झरिसके। सजिलै एक गाग्री पानी पाउँदा पनि लडाइँ जितेजस्तै लाग्छ।’ धारोमा गाउँभरिका मानिस पानी भर्न लाइन लागेर बसेका हुन्छन्।
‘पानीको धारो सानो छ, पालो पाउनै मुस्किल छ’, उनले दुखेसो पोखिन्। गाउँमा आउने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले खानेपानी समस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय महिलाहरू गुनासो गर्छन्। पानी भर्न लाइन लाग्नुपर्ने हुँदा छिटो भर्न खोज्दा भागदौड हुने र बालबालिका घाइतेसमेत हुने गरेका छन्।
बान्जडाकै १२ वर्षीया ममिता प्याकुरेल पानी लिन जाँदाको पीडा सुनाउँदै भन्छिन्, ‘पानी ल्याउँदैमा बिहान बित्छ, स्कुल जानै भ्याइँदैन। पानी नहुँदा नुहाउन नपाइने र विद्यालयमा शिक्षकले हपार्ने गरेको ममताले गुनासो गरिन्। यस्तै स्थानीय १३ वर्षीया विनिता प्याकुरेलले भन्छिन्, ‘पानी लिन जानुपदौ दिक्क लाग्छ घण्टौं कुर्नुपर्छ।’
बान्जडामा खानेपानीका लागि बजेट नआएको पनि होइन। पलाँताकै चर्चित बुड्ने खानेपानी आयोजनामा वर्षौंदेखि बजेट आइरहेको छ। जिल्ला खानेपानी कार्यालयका अनुसार उक्त आयोजनामा हालसम्म ३६ लाख बजेट खर्च भइसकेको छ। गाँउपालिकाले चालु आर्थिक वर्षमा युवा कार्यदल लगायर पाइप लाइन खनेको पनि बताएको छ। तर गाउँमा पानी भने आउन सकेको छैन। तर, गाउँपालिकाले भने यसै वर्षभित्र गाउँमा खानेपानी पु¥याउने जनाएको छ।