सुनसहित ६ जना पक्राउ

सुनसहित ६ जना पक्राउ

सिरहा : पौने २ किलो सुन बोकेर काठमाडौंबाट लहान आइरहेका लहान नगरपालिकाका वडाध्यक्षसहित ६ जना शनिबार पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उनीहरूलाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलबाट पक्राउ गरेको हो। तर सशस्त्रले पक्राउमध्ये ३ जना मात्र सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरी सिरहाले लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सोही वडाका मोहम्मद कैयुम, मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल, मोहम्मद रहमान र सप्तरी खडग नगरपालिका–३ का मोहम्मद अफरोजलाई पक्राउ गरेको सिरहाका सशस्त्र प्रहरी प्रमुख एसपी सोम गुरुङले जानकारी दिए। उनीहरूबाट प्रहरीले १ किलो ७ सय ७२ ग्राम सुन, साढे ३४ हजार रुपैयाँ र ६ थान मोबाइल बरामद गरेको छ।

उनीहरूले ६ वटा बाला बनाएर र ३ ढिक्का पारेर ल्याइरहेको सशस्त्रले जनाएको छ। बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कोर्पियोमा आइरहेका उनीहरूलाई सुराकीका आधारमा जाँच गर्दा पक्राउ परेको एसपी गुरुङले बताए। सुनसहित पक्राउ परेकामध्ये अमिरुल हिमालय एयरलाइन्सबाट र कैयुम कतार एयरवेजबाट शुक्रबार बिहान १० बजे कतारबाट काठमाडौं आएका थिए। वडाध्यक्ष हकिम, रियाज र रहमान स्कोर्पियो लिएर दुवैलाई लिन गएका थिए। शुक्रबार साँझ काठमाडौंबाट हिँडेका उनीहरू शनिबार बिहान सुनसहित पक्राउ परे।

सशस्त्रको पत्रकार सम्मेलनमा अमिरुल र कैयुम दुवैले सुन आधा/आधा आफ्नो भएको र बिल पनि रहेको दाबी गरे। गाउँकै मान्छे भेट्दा ‘लिफ्ट’ मागेर आउँदा यस्तो भएको दुवैको भनाइ छ। रियाजले भने आफूहरूलाई अर्कै कसैले सबै सुन दिएको बताए। सुन दिने मानिसलाई आफूले नचिनेको उनले दाबी गरे।

उनीहरूबाट केही व्यक्तिको नाममा सुन किनेका बिल पनि बरामद भएको छ। बरामद सुन गल्फ ज्वेलरी र साइन इन्टरनेसनल गोल्ड एन्ड डाइमन्ड्स दोहा कतारबाट खरिद गरेको बिलमा उल्लेख छ। बिलमा हजरत अली, आसिफ मोहम्मद, जागेश्वर मण्डल, हरिवंश मण्डल, मोहम्मद आसिम, अमान्त हुसेन र समसुल मियाँको नाम उल्लेख छ। त्यसमध्ये आसिफको नाममा ५ सय ८३ ग्राम, समसुलको पनि ५ सय ८३ ग्राम, अमान्तको नाममा २ सय ९१ ग्राम र अरूको नाममा ५०÷५० ग्राम सुन खरिद गरेको बिलमा उल्लेख छ।

सुनचाँदी व्यवसायीका अनुसार दैनिक ४० किलो सुन खपत हुन्छ। राष्ट्र बैंकको स्वीकृति लिएर क श्रेणीका बैंकले दैनिक १५ किलो सुन बजारमा पठाउँछन्। यसका आधारमा दैनिक कम्तीमा २५ किलो सुनको अभाव बजारमा रहेको देखिन्छ। सिरहा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष भरत अग्रवालका अनुसार बैंकमार्फत जिल्लामा महिनामा ६ किलो सुन आउँछ। जिल्ला सुनचाँदी व्यवसायी संघलाई ४ किलो र लहान नगर सुनचाँदी व्यवसायी संघले २ किलो सुन पाउँछ। जिल्लाभरि करिब डेढ सय सुनचाँदी पसल छन्।

लहान बजारमा खाडी मुलुकबाट भित्रिएको सुन सजिलै पाइन्छ। बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइने भएकाले खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ। जिल्लाको प्रमुख सुनचाँदी बजार हो लहान। यहाँ करिब ५० सुनचाँदी पसल छन्। जिल्लामा हुने सुनको कुल खपतको पचास प्रतिशत लहानबाटै हुन्छ। ‘बैंकबाट आउने सुनले मात्रै बजार धान्दैन, सेवाग्राहीले सुन बिक्री गर्छन्’, अध्यक्ष अग्रवालले भने, ‘खाडीबाट ल्याउने व्यक्तिले सुनका बाला पनि बिक्री गर्छन्, त्यसले बजारको माग धानेको छ।’

वैध बाटो (बैंक) बाट आउने सुनको तुलनामा खाडीबाट आउने सुन सस्तो हुने भएकाले केही व्यक्ति किनबेचमा धेरै संलग्न छन्। विदेशमा विभिन्न व्यक्तिका नाममा किनेर ल्याई यहाँका बजारमा बेच्ने गरेका छन्। खाडीको सुनले आधिकारिक रूपमा बजारमा आउने सुनको मूल्य बिगारेको एक व्यवसायीले बताए। ‘यी दुईबीच तोलामै करिब १० हजार रुपैयाँको अन्तर हुँदा केही व्यक्ति त्यसकै व्यापारमा आकर्षित भएका छन्’, अध्यक्ष अग्रवालले भने, ‘खाडीमा काम गर्न गएका मानिसमार्फत त्यहाँको सुन यहाँ आउने गरेको छ।’

दुईपल्ट सार्वजनिक

सशस्त्रले गरेको पहिलो पत्रकार सम्मेलनमा पक्राउ परेकामध्ये ३ जनालाई मात्र सार्वजनिक गरी बाँकीलाई लुकाएको थियो। दिउँसो १ बजे गरेको पत्रकार सम्मेलनमा सशस्त्रले वडाध्यक्ष हकिमसहित रहमान र अफरोजलाई सार्वजनिक गरेन। एसपी गुरुङले बिहान ६ जना पक्राउ परेको जानकारी दिएका थिए। किन ३ जनालाई मात्र सार्वजनिक गरेको जिज्ञासामा उनले ३ जनामात्र पक्राउ गरेको दाबी गरे।

फेरि दिउँसो ४ बजे सशस्त्रले वडाध्यक्षसहित ६ जना समातिएको जानकारी सञ्चारकर्मीलाई गराएको थियो। यस विषयमा बुझ्न सशस्त्रका डीआईजी प्रवीणकुमार श्रेष्ठ पनि सिरहा आएका थिए। उनले पनि पत्रकारलाई सुनसहित ३ जना पक्राउ गरेको बताएका थिए। उनी पत्रकार सम्मेलनमा बसेनन्। वडाध्यक्षसहित ३ जनालाई लुकाउन खोजिएबारे एसपी गुरुङले केही खुलाउन चाहेनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.