भक्तपुरमा गुञ्जिए दीपक खरेल
भक्तपुर : नेपाली सुगम संगीतका प्रसिद्ध गायक दीपक खरेलको एकल साँझ शनिबार भक्तपुरमा सम्पन्न भएको छ। भक्तपुर सांगीतिक समाजले भक्तपुरमै पहिलोपटक दीपक खरेलको एकल साँझको आयोजना गरेको हो। साँझमा गायक खरेलले आफ्ना कालजयी एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे।
‘गरुँ कि मीठो भूल’, ‘तिम्रो त्यो हँसिलो मुहारमा’, ‘पूर्णिमाको रात पनि औंशीको झैं लाग्छ’, ‘बादल बनाइदेऊ’ जस्ता कालजयी गीत गाउँदा एकल साँझमा सहभागी सबै मौन देखिएका थिए। तर ‘तिम्रो हर प्रश्नको जवाफ’ गीत प्रस्तुत गर्दा साँझका सहभागीहरुले स्वरमा स्वर मिलाएका थिए। उक्त गीत पुनः गाउन माग हुँदा गायक खरेलले अस्वीकार गर्न सकेनन्। र, उनले ‘तिम्रो हर प्रश्नको जवाफ’ सँगै ‘प्रतिक्षा गर मेरी मायालु’ गीत दुईदुईपटक गाए।
कार्यक्रममा दीपकको प्रत्यक्ष गीत सुन्न वरिष्ठ गीतकार चेतन कार्की, वरिष्ठ कलाकार नीर शाह, प्रकाश सायमी, गीतकार सुवासचन्द्र ढुंगेल, संगीतकार दीपक जंगम, साहित्यकार राजेन्द्र थापालगायत सहभागी भएका थिए। वरिष्ठ गीतकार कार्कीले गायक खरेलको अनुपस्थितिमा नेपालको आधुनिक गायन क्षेत्र अपुरो हुने बताए।
उनले खरेलकै बलमा नेपाली आधुनिक गीतले फड्को मारेको दाबी गरे। गायक खरेलले नीर शाह अगाडि उनैले रचना गरेको गीतसमेत गाए। त्यस्तै सुवासचन्द्र ढुंगेलको रचना रहेको ‘मेरा यी हातहरुमा तरवार र छुरा नहोस्’ भन्ने गीतसमेत गायक खरेलले प्रस्तुत गरे।
उक्त गीतपछि गीतकार ढुंगेलले मुलुकको राजनीतिक अस्थिरता र नेताको गैरजिम्मेवारी कार्यशैलीले आजीत जनताको मनोदशा बुझेर उक्त गीत रचना गरेको सुनाए। उनले उक्त गीतलाई मनन् गरेर राजनीतिलाई अगाडि बढाउनसमेत आग्रह गरे।
कार्यक्रम सञ्चालन गरेर वरिष्ठ कलाकर्मी प्रकाश सायमीले गायक खरेलको साँझको अझ शोभा बढाएका थिए। उनले साँझका सहभागीहरुको मनोभावनाअनुसार दीपकलाई गीतमात्रै गाउन लगाएनन् कार्यक्रममा सहभागी गीतकार, संगीतकार तथा साहित्यकारहरुलाई गायक खरेलको प्रतिभा र नेपाली गीतसंगीतको बारेमा चर्चा गराएका थिए।
त्यस्तै भक्तपुरका नवोदित गायकगायिकाहरुलाई समेत खरेलका गीतहरु गाउन लगाएका थिए।
आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले सुगम संगीतमा नयाँ पुस्तालाई उत्साहित गर्न दीपक खरेल एकल साँझ गरिएको सुनाए।
वरिष्ठ गायक खरेलले आफ्नो एकल साँझ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ पुस्तालाई सुगम संगीत आकर्षित गर्नुपर्ने धारणा राखे।
‘गीत, संगीत तथा साहित्य माटोसँग जोडिएको हुन्छ’, उनले भने, ‘त्यसैले उक्त माटो जस्ताको तस्तै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।’
खरेलले करिब चारसय वटा गीत गाइसकेका छन्।
कार्यक्रममा गायक खरेललाई द लिजेन्ड ब्याण्डका सदस्यहरुले संगीतमा साथ दिएका थिए। साँझका सहभागीहरुले खरेलको आवाजमा कुनै परिवर्तन नआएको प्रतिक्रिया दिए। उनीहरुले ३०-३५ वर्षअघि सुनेका गीतमा जस्तो आवाज थियो, शनिबारको साँझमा त्यस्तै आवाज सुन्न पाएको बताएका थिए।
‘३०-३५ वर्षमा जस्तो आवाजमा गीत सुनेको थिएँ, अहिले पनि त्यस्तै पाएँ। उहाँको आवाजमा कुनै परिवर्तन आएको महसुस भएन’, भक्तपुरका अनिल कसपालले भने।