२३ लाखको अल्ट्रासाउन्ड मेसिन सहयोग

२३ लाखको अल्ट्रासाउन्ड मेसिन सहयोग

भक्तपुर : काठमाडौं निवासी रीमा श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताललाई २३ लाख रुपैयाँ पर्ने अल्ट्रा साउन्ड मेसिन सहयोग गरेकी छन्। यसअघि श्रेष्ठका बुबा चिनियाकाजी श्रेष्ठले करिब दुई करोड लगानीमा अस्पतालको स्मृति भवनको दोस्रो र तेस्रो तला निर्माण गरिदिएका थिए। 

त्यस्तै काठमाडौंकै प्रशन्नीदेवी घिराइयाले १२ लाख लगानीमा अस्पतालमा शुद्ध पानी पिउने प्लान्ट जडान गरिदिएकी छन्। उनले आफ्ना दिवंगत पति भैरुप्रसाद घिराइयाको स्मृतिमा उक्त प्लान्ट जडान गरिदिएकी हुन्।

खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले एक कार्यक्रमबीच उक्त प्लान्टको उद्घाटन गरेकी छन्। अस्पताललाई सहयोग गर्ने रीमा र प्रशन्नीदेवीलाई खादा ओढाएर सम्मानसमेत गर्दै मन्त्री मगरले हरेक नेपालीले क्यान्सरको पीडा भोगेकै हुने बताइन्।

उनले आफूले पनि क्यान्सरलाई नजिकैबाट भोगेको स्मरण गर्दै क्यान्सर लागेपछि परिवारबाट हुने अपहेलनाका घटना पनि धेरै रहेको बताइन्।

क्यान्सर लागेर उपचारबाट निको भएकाहरुको क्लव क्यान्सर सर्भाइभर क्लवको तेस्रो भेलासमेत उद्घाटन गर्दै खानेपानीमन्त्री मगरले क्यान्सरलाई जित्न उपचारमात्रै नभई आत्मबल र घरपरिवारको साथ र सहयोग अपरिहार्य हुने बताइन्।

‘नेपालमा क्यान्सरको अवस्था भयावह रुपमा देखापर्दै आएको छ’, उनले भनिन्, ‘उपचारबाट मात्रै क्यान्सरलाई जित्न सकिन्न। बिरामीको आत्मबल मजबुत हुनुपर्छ। घरपरिवारको साथ र सहयोग झन् अपरिहार्य छ।’

कार्यक्रममा क्यान्सर उपचार गरेर निको भएकी होटल द्वारिकाकी अध्यक्ष अम्बिका श्रेष्ठले क्यान्सरलाई जित्छु भन्ने आत्मबलसाथ उपचार गरिए आधा रोग निको हुने बताइन्।

क्यान्सर भएर फियो फालेकी उनले बिरामीले उपचारको अनुशासनमा नबसे क्यान्सरले नै सिध्याउने सुनाइन्।

भक्तपुर क्यान्सर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अस्पतालमा उपचारको लागि आउने बिरामीहरुको चाप बढेअनुसार सरकारबाट सहयोग नपाएको गुनासो गरे।

उनले अस्पतालमा क्यान्सरको उपचार हुने अत्याधुनिक लिनायक मेसिन जडान हुने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा जडान भएको पानी शुद्धीकरण प्लान्टबाट दैनिक एक हजार जनालाई शुद्ध खानेपानी वितरण हुने जानकारी दिए।

प्लान्ट जडानपछि अस्पतालले खानेपानीकै लागि मासिक तीसौं हजार रुपैयाँ खर्च गर्न नपर्ने भएको उनको भनाइ थियो।

मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले अस्पतालमा खानेपानीको स्रोत अभाव रहेकोले त्यसको व्यवस्थापनको लागि मन्त्री मगरको ध्यानाकर्षणससमेत गरे।

क्यान्सर सर्भाइभर क्लवका संयोजक डा. रोशन प्रजापतिले क्यान्सर लागेर उपचारमा आउने एक परिवारले अर्को परिवारलाई साथ र सहयोग गर्ने उद्देश्यले तीन महिनामा एकपटक भेला गर्दै आएको जानकारी दिए।

क्यान्सर लागे पनि बिरामीहरु नखुल्ने समस्या रहेको सुनाउँदै उनले एक बिरामीले अर्को बिरामीलाई आफ्नो समस्या खुलस्त भन्ने र सोहीअनुसार उपचारमा आउने समस्या समाधान गर्न क्लव प्रभावकारी हुँदै आएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.