उद्दण्ड मन्त्री

उद्दण्ड मन्त्री

जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै हात हालेका छन्। संघीय समाजवादी फोरम नेपालका तर्फबाट मन्त्री बनेका यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झालाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेका हुन्।

आफूनिकटको एनजीओलाई अनुदान नछुट्टाएको भन्दै मन्त्री सचिवमाथि खनिएका हुन्। संघीय सरकारको सशर्त अनुदानअन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा मन्त्री र सचिवको स्वार्थ बाझिएको थियो। त्यही झोकमा मन्त्रीले रिस पोखेका हुन्।

मन्त्रीले सचिवमाथि हातपात गर्दा प्रदेश २ का सभामुख सरोजकुमार यादव र प्रदेशसभा सदस्य उपेन्द्र महतो पनि कार्यकक्षमै थिए। सभामुख यादवले बिचबचाउ समेत गरेका थिए। सचिव झाले आफूलाई मन्त्रीले पहिले एक झापड हानेको र रोक्न खोज्दा लात्तीले पिठ्युँमा हानेर बाहिर धकेलेको बताए।

मन्त्री यादवले सचिव झाको डायरी र मन्त्रालयको फाइल समेत खोसेका थिए। कुटपिटपछि आक्रोशित झा कार्यकक्षबाहिर निस्केर गालीगलौज गर्दै रोए। उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयले उद्यमीहरूको क्षमता विकास गर्न ८ करोड रकम लद्यु उद्यम कार्यक्रम सञ्चालन गरेको हो। एउटा जिल्लामा एक करोडका दरले आठै जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको छ। यसका लागि प्रत्येक जिल्लामा दुईवटा एनजीओ छनौट गर्नुपर्छ।

एनजीओ छनौटका लागि वन मन्त्रालयले सूचना निकालेर ४८ वटा आशयपत्र आह्वान गरेको थियो। त्यसमा १ सय ९३ वटा एनजीओले आशयपत्र दिएका थिए। ‘ती सबै आशयपत्रहरू मैले आफै बसेर मूल्यांकन गर्न लगाएको थिएँ,’ सचिव झाले भने, ‘मैले निष्पक्ष र उचित मूल्यांकन गरेर ४० वटा छनौटमा परेका हुन्। तर, मन्त्रीज्यूले सिरहाको आफ्नो नजिकको एक एनजीओबाट पैसा बुझिसक्नुभएको रहेछ।’।

मन्त्री यादवले वनमन्त्रीलाई फोन गरेको र वनमन्त्रीले अर्थमन्त्रीकहाँ फाइल लिएर जान आग्रह गरेको पनि सचिवले सुनाए। सचिवका अनुसार वनमन्त्रीले पनि उनलाई ‘मन्त्रीको कुरा सुनदिन’ आग्रह गरेका थिए। अर्थमन्त्रीलाई भेट्न गएको बेला आफ्नो एनजीओलाई कार्यक्रम नपारेको विषय झिक्दै हातपात गरेको सचिव झाको आरोप छ। झाले भने, ‘सोही विषय लिएर मन्त्रीज्यूले मलाई तपाईंले सो पैसा तिर्नुपर्छ भन्नुभयो। मैले तपार्इंले लिनुभएको पैसा तपाई नै तिर्नुस् भनेर उहाँले झापड हान्नुभयो।’

मन्त्री कार्यकक्षअगाडि रुँदै सचिव यादवले भने, ‘मैले गलत प्रक्रियाले एनजीओ छनोट गरेको भए अख्तियारले छानबिन गरोस्, यसरी हात छाड्ने मन्त्रीलाई कारबाही हुनुपर्छ।’ उनले मन्त्रीलाई व्यक्तिगत सम्पत्ति आर्जनमा लागेको पनि आरोप लगाए।हरेक योजनाहरू मन्त्रीकै गाउँमा पर्नुपर्ने र उनकै नातागोता हेरिदिनुपर्ने भन्दै आफ्नो गल्ती भए कारबाही भोग्न तयार रहेको सचिवले बताए। मन्त्री यादवकै निर्देशनमा उनलाई प्रहरीले भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो।

सचिवले मर्यादा बिर्से : मन्त्री यादव

मन्त्री यादवले भने सचिवले आफ्नो मर्यादा बिर्सेको दाबी गरेका छन्। उनले आफूले सचिवमाथि हातपात गरेको पनि स्वीकारेनन्। ‘मैले केही हातपात गरेको छैन’, उनले भने, ‘सभामुखज्यू, म र एकजना माननीय बसिराखेको ठाउँमा आएर सचिवज्यू सभामुख बसेकै सोफामा बसिदिनु भयो। मर्यादा मिचेर बसेपछि मैले बाहिर कोठामा गएर बस्नुस् भनेको हुँ।’

सचिव झाले फोनमा आफूसँग पनि अनावश्यक कुरा गरेको आरोप लगाए। ‘आज पनि म स्थानीय हुँ, मधेस आन्दोलन तपाईंले मात्रै गरेको हो र ? मैले पनि गरेको छु भन्दै उनी जथाभावी बोले।’ जोरजोरले म स्थानीय हुँ भन्दै चर्केपछि तनाव भएको मन्त्रीले बताए।

 >> पत्रकारसँग यसरी रोए मन्त्रीको कुटाई खाने सचिव (भिडियो)

प्रत्यक्षदर्शी सभामुख सरोजकुमार यादवले सचिव झा आफूलाई नचिनेर आफु बसेकै कुर्सीमा आएर बसेको बताए। सभामुख यादवले भने, ‘मन्त्रीज्यूले सचिव झालाई केहीबेर बाहिर बस्न भन्नुभएको थियो। पछि सचिव फेरि भित्रै आएपछि उहाँहरूबीच कुनै म्यासेजबारे विवाद भयो। यो घटना दुःखद हो।’

छानबिनका लागि समिति

मन्त्रीले सचिवमाथि गरेको दुव्र्यवहारबारे छानबिन गर्न प्रदेश २ को मन्त्रिपरिषदले समिति गठन गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति बनेको प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए। समितिले सात दिनभित्र घटनाको सत्यतथ्य बुझी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रतिवेदन बुझाउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.