टोट्टनहामलाई म्यानचेस्टर युनाइटेडको झट्का
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलमा म्यानचेस्टर युनाइटेडले टोट्टनहामलाई १-० गोलले हराएको छ। हारसँगै टोट्टनहामको उपाधि होडमा पनि नमिठो धक्का लागेको छ। उक्त नतिजापछि टोट्टनहाम ‘लिग लिडर’ लिभरपुलसँग नौ अंकले पछाडि परेको छ।
वेम्बलीमा खेलिएको प्रतिस्पर्धात्मक खेलको ४४ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रासफोर्डले निर्णायक गोल गरे। उनले पल पोग्बाको पासमा गोल गरेका हुन्। रासफोर्डले प्रिमियर लिगमा क्लबका लागि लगातार तेस्रो खेलमा गोल गरेका हुन्। यसअघि उनले प्रिमियर लिगमा लगातार तीन खेलमा गोल गर्न सकेका थिएनन्।
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षक ओले गनर सोल्सकजरको नेतृत्वमा सतप्रतिशत नतिजा निकालेको छ। सोल्सकजरको प्रशिक्षकत्वमा हालसम्म खेलको ६ वटै खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। सोल्सकजरले प्रशिक्षणको जिम्मेबारी समाल्नुअघि भने म्यानचेस्टर युनाइटेडले गतिलो प्रदर्शन गर्न सकेको थिएन। सोही कारणले यो सिजन म्यानचेस्टर युनाइटेड उपाधि होडबाट निकै टाढा छ।
टोट्टनहाम प्रिमियर लिगमा सन् २०१५ को मेयता पहिलो पटक घरेलु मैदानमा लगातार दुई खेलमा पराजित भएको हो। यो सिजनको प्रिमियर लिगमा टोट्टनहामले घरेलु मैदानमा चारवटा हार भोगिसकेको छ। प्रिमियर लिगमा हालसम्म २२ खेल खेलेको लिभरपुल ५७ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ। २१ खेलबाट ५० अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। २२ खेलबाट ४८ अंक जोडेको टोट्टनहाम तेस्रो, समान खेलबाट ४७ अंक हात पारेको चेल्सी चौथो र ४१ अंकसहित आर्सनल पाँचौं स्थानमा छन्। म्यानचेस्टर युनाइटेड भने २२ खेलबाट ४१ अंक हात पार्दै गोलअन्तरका आधारमा छैटौं स्थानमा छ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सकजरले प्रिमियर लिगमा आफूले जिम्मेवारी समालेपछि लगातार पाँच खेल जितेर पूर्वप्रशिक्षक सर म्याट बसबीको कीर्तिमानसँग बराबरी पनि गरेका छन्। हालसम्म सोल्सकजर र म्याट बसबी बाहेक कुनै पनि प्रशिक्षकले म्यानचेस्टर युनाइटेडलाई यस्तो सफलता दिलाउन सकेको छैन। म्यानचेस्टर युनाइटेडको जितमा गोलरक्षक डेभिड डे गेयाको पनि महत्वपूर्ण योगदान रह्यो। खेलका क्रममा उनले विपक्षीका कही गतिला प्रहारलाई विफल पारेका थिए।
केन घाइते भएपछि प्रशिक्षक चिन्तित
म्यानचेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा टोट्टनहामका प्रभावशाली खेलाडी ह्यारी केन घाइते भएका छन्।
उनको खुट्टाको गोलीगाँठोमा चोट लागेको छ। टोट्टनहामका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले केनको चोट गम्भीर हुन सक्ने बताउँदै चिन्ता व्यक्त गरेका छन्।
प्रशिक्षक माउरिसियाको अनुसार केनको गोलीगाँठो निकै सुन्निएको छ।
‘केनको चोट आगामी खेलमा क्लबका लागि घातक हुन सक्छ’, माउरिसियोले भनेका छन्। खेलको अन्तिम समयमा घाइते भएपछि केनलाई बाहिर निकालिएको थियो।
प्रशिक्षक माउरिसियोले म्यानचेस्टर युनाइटेडका खेलाडीले केनलाई गम्भीर ट्याकल गरे पनि रेफ्रीले फल नदिएको आरोप समेत लगाए। ‘त्यो निकै खराब ट्याकल थियो, जसलाई रेफ्रीले पूर्ण रुपमा बेवास्ता गरे। मलाई केनको चोटको चिन्ता छ’, उनले भने।