बीउ उत्पादनमा किसान

बीउ उत्पादनमा किसान

टीकापुर : कैलालीको सुदूरपूर्वी क्षेत्रका किसान पछिल्लो समय धान, गहुँ, तोरी, मकै र मसुरो लगायतका खाद्यबालीको बीउ उत्पादनमा आकर्षित हुन थालेका छन्। जीवन निर्वाहका लागि खेतीकिसानी गर्दै आएका उनीहरू पछिल्लो समयमा भने व्यावसायिक रूपमा बीउको उत्पादनमा गर्न थालेका हुन्।

बीउको रूपमा प्रयोग हुने धान, गहुँ, तोरीको बजार मूल्य बढी हुने र निःशुल्क प्राविधिक सहयोग पाइन थालेपछि किसान बीउ उत्पादनमा आकर्षित हुन थालेका हुन्। जानकी गाउँपालिका ७ गोलौरीका किसान तेजराम चौधरीले साढे सात बिघा जमिनमा बीउ उत्पादनका लागि गहुँ खेती गरेका छन्। पहिला खानका लागि गहुँ खेती गर्दै आइरहेका उनी केही वर्षयता बीउ उत्पादन गर्न थालेका हुन्। उनले डब्ल्यूके १२०४, विजया र आदित्या जातको गहुँ खेती गरेका छन्। ‘बीउका लागि उत्पादन गरिएको खाद्यान्न बालीको मूल्य बजार मूल्यभन्दा बढी हुने र फाइदा हुने हुँदा बिउ उत्पादन गर्दै आएको छु’, चौधरीले भने, ‘बीउ उत्पादनका लागि प्राविधिकको सहयोगमा खेती गर्दा कम लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ।’

जानकी गाउँपालिका ४ मुनुवाका किसान लौटन थारुले चार बिघामा बीउ उत्पादन गर्दै आइरहेका छन्। उनले विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बीउ उत्पादन सुरु गरेका हुन्। ‘खानकै लागि खेती गर्नुभन्दा बीउ उत्पादनमा फाइदा छ’, थारुले भने, ‘हामीमात्र होइन, गाउँका धेरै किसानले अहिले बीउ उत्पादन गर्दै आइरहेका छन्।’ गाउँका किसान मिलेर बिज वृद्धि कृषक सहकारी सञ्चालनमा ल्याएका छन्। चौधरी र थारुमात्र नभई सहकारी संस्थामा आवद्ध ९५ किसान केही वर्षयता विभिन्न खाद्यान्न बालीको बीउ उत्पादन गर्दै आएका छन्। किसानले उत्पादन गरेको बीउ सहकारीले जिल्ला कृषि विकास कार्यालयको माध्यमबाट विभिन्न एग्रोभेटमार्फत बिक्री गर्दै आएको छ।

सहकारीले उत्पादन गरेको बीउको मुख्य बजार कैलाली, कञ्चनपुर, बर्दिया, डडेल्धुरा, बैतडी, डोटी, पाल्पा, धादिङ, सुर्खेत र दैलेख लगायतका जिल्लामा बिक्री हुँदै आएको सहकारीका व्यवस्थापक गोविन्द रावतले जानकारी दिए। ‘बीउ बिक्रीका लागि समस्या छैन’, व्यवस्थापक रावतले भने, ‘हामीले तराईका अतिरिक्त पहाडी जिल्लामा उत्पादन हुने खाद्यान्न बालीको बीउसमेत उत्पादन गर्दै आएका छौं।’ सहकारीमार्फत् किसानले यस वर्ष, डब्ल्यूके १२०४, विजया, आदित्या, गौतम, डाँफे, भृकुटी, धौलागिरी, तिलोत्तमा, वाँणगंगा, एनएल ९१७ जातको बीउ उत्पादन गर्दै आएका छन्।

किसानले प्रजनन् बीउबाट मूल, प्रथम र उन्नत गरी तीन किसिमको बीउ उत्पादन गर्दै आएका छन्। किसानले यस वर्ष करिब एक सय बिघामा धानको बीउ उत्पादन गरेका थिए। किसानले धानको बिउमा राधा–४, सेहेराङ सब वन, सावित्री, मकवानपुर, रामधान, डीआरआर, सुख्खा सिरिज र सर्जुबाहुन जातका धानको बीउ उत्पादन गर्दै आएका छन्। सहकारीले धान, गहुँको बीउ खरिद गर्ने निश्चित भएपछि किसान वर्षेनी बीउ उत्पादनमा आकर्षित हुँदै गएका हुन्। ‘माग बढेसँगै किसानले बीउ उत्पादन पनि बढाउँदै लगेका छन्’, व्यवस्थापक रावतले भने, ‘तैपनि मागअनुसार पुर्‍याउन सकिएको छैन।’

सहकारीले बीउ, मल खरिदमा बीउ उत्पादन गर्ने किसानलाई पहिलो प्राथमिकता दिने गरेको छ। सहकारीले निःशुल्क प्राविधिक सहयोगसमेत दिने गरेको किसान बताउँछन्। सहकारीले बजार भाउभन्दा तीन सय रुपैयाँभन्दा बढी मूल्यमा बीउ खरिद गर्ने गरेको छ। सहकारीले बीउ उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको छ। यसका साथै सहकारीले बीउ उत्पादन कोष सञ्चालन गरेको छ। कोषबाट हरेक वर्ष बीउ उत्पादन गर्ने किसानलाई बोनस प्रदान गरिन्छ। ‘जसले धेरै बीउ उत्पादन गर्छ त्यो किसानले धेरै बोनस पाउँछ’, व्यवस्थापक रावतले भने। सहकारीलाई राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.