नुवाकोटमा गोरु जुधाइ मेलाको तयारी पूरा

नुवाकोटमा गोरु जुधाइ मेलाको तयारी पूरा

नुवाकोट : माघे संक्रान्तिका अवसरमा नुवाकोटमा गरिने गोरु जुधाइ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष नुवाकोटमा ४७ हल जुधाइने भएको छ। माघे संक्रान्तिमा अघिल्ला वर्षजस्तै यस वर्ष पनि तारकेश्वर गाउँपालिका –२ स्थित तारुकाको चन्दनी,  विदुर नगरपालिका–१० बेत्रावती र पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा गरी ४७ हल गोरु जुधाइने भएको छ। 

 
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारुका चन्दनीमा यसवर्ष २३ हल गोरु जुधाइने भएको छ। त्यसमध्ये १० हल गोरुको जुधाई विशेष प्रकृतिको हुने आयोजक तारुका गोरु जुधाई मेला वयवस्थापन समितिका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए। 

अधिकारीले मेलास्थल आउनको लागि सडकको मर्मत, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्था गरिएको बताए। 
 
गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकाहरुका सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको मेलाका संरक्षक तथा तारकेश्वर गाउँपालिका–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले बताए।

मेलामा विजेता हुने गोरु धनीले ६ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्।  उपविजेता हुनेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। विजेता हुने प्रथम, द्वितीय र तृतीय गोरुको पुरस्कार र बिमाका लागि नेपाल लाइफ इन्स्योरेन्सले व्यवस्था गरेको आलेमगरले बताए। 

सहभागी गोरुको उपचार तथा गोरु धनीलाई प्रोत्साहन हुने अन्य कार्यको थालनी गरिएको उनको भनाइ छ। ‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने मूल नाराका साथ परापूर्वकालदेखि नै मनाउँदै आइएको यो पर्वको ऐतिहासिक महत्व भएको स्थानीय बताउँछन्। तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक मिति नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो २०० सय वर्ष पुरानो मानिन्छ।


तारुकाको विभिन्न गाँंमा हुने गोरु जुधाइलाई व्यवस्थित पारी २०६० सालदेखि एकैथलो चन्दनीमा गर्न थालिएको हो। गोरु जुधाइ पश्चिम–१ नम्बरको पुरानो परम्परा भएपनि पछिल्लो समय बिर्सन थालिएकामा तारुकाले पुनर्जागृत गरेको तारकेश्वर–५ का वडाध्यक्ष चुडामणि गजुरेल बताउछन्।

‘हाम्रो भेगमा पहिले–पहिले झिल्टुङ, रातमाटे, बधुसिङ, दाङसिङ, तारुकामा गोरु जुधाउने गरिन्थ्यो, उता थानसिङ, चौघडातिर पनि गोरु जुधाउने गरिएको सुनिन्थ्यो, वडाध्यक्ष गजुरेले भने, ‘पहिले आ–आफ्नो टोलमा सय÷पचासको उपस्थितिमा गोरु जुधाउने गरिन्थ्यो। न चर्चा हुन्थ्यो, न प्रचार।

 यो परम्परा नै लगभग हराइसकेका बेलामा तारुकाले व्यवस्थित रुपमा मेला नै सञ्चालन गरी यसलाई निरन्तरता दिएको हो। ’ तारुकाको गोरुजुधाइ मेलालाई गत वर्षदेखि गाउँपालिकाले प्रमुख सांस्कृतिक पर्वको मान्यता दिएर सहयोग गर्दै आएको छ। 


हजारौं दर्शकहरु आउने यो मेलालाई अझै व्यवस्थित गर्न गाउँपालिकाले ध्यान दिएको उपाध्यक्ष तारादेवी रिमालले  बताइन्। गोरु जुधाउन ४६ जना किसानले नाम दर्ता गराएको संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले बताए। गोरु जुधाई मेलाको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकूद परिषद्ले समेत सहयोग गरेको छ। 


रसुवाको सीमानामा रहेको बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ। यो वर्ष बेत्रावतीमा ७ हल गोरु जुधाइने आयोजक गोसाइकुण्ड युवा क्लबले जनाएको छ।बेत्रावतीमा सात वर्षदेखि अघिबाट व्यवस्थित रुपमा गोरु जुधाउने जात्रा आयोजना गर्न थालिएको हो।  बेत्रावतीको गोरु जुधाइमा रसुवाका किसानले पनि गोरु लिएर आउने भएका छन्।
 
यहाँका विजेता गोरुधनीलाई ३ हजार र उपविजेतालाई २५ सय प्रदान गरिने आयोजकले बताएका छन्। सहभागी गोरुधनीलाई एक हजार ५ सय रुपैयाँ दिइनेछ। गोरु जुधाइको सहज अवलोकनका लागि मञ्च र प्याराफिटको निर्माण गरिएको छ। 

यहाँ पनि गोरु जुधाइका साथमा साँस्कृतिक कार्याक्रमको आयोजना गरिने छ। पर्यटन व्यवसायी दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए। नुवाकोटकोटमा आयोजना हुने गोरु जुधाइ पर्व हेर्न नुवाकोट, आसपासका जिल्लासहित काठमाडौं, चितवनलगायत ठाउँबाट दर्शकहरु आउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.