भूकम्पको अनुदान माग्न घस्रेर सदरमुकाम (भिडियो)
धादिङ : पुसको जाडोमा भिजेको सुरुवाल। दुवै गोडा र एउटा हात चल्दैनन्। एउटा हातको सहाराले भुइमा टेकेर जवरजस्ती घस्रदै हिँडेका सुब्बा रम्तेल सोमबार सदरमुकाम धादिङबेसीस्थित जिल्ला आयोजना कार्यन्वयन इकाइ कार्यालयमा देखा परे।
उनको घर नीलकण्ठ नगरपालिका-७, तारुखर्क हो। हातगोडै नचल्दा पनि घस्रेर सदरमुकामसम्म आउने आँट गर्नुको कारण हो भूकम्पपछि घर बनाउनका लागि सरकारले दिने अनुदान पाउने आश।
सरकारले भूकम्प पछि घर बनाउने अनुदान दिनको लागि गरेको सर्वेक्षणमा सुब्बा छुटेपछि उनले गुनासो फारम भरे। वड मार्फत गुनासो फारम भरेका उनले अनुदान रकम पाउने टुंगो नलागेपछि लागि सदरमुकास्म्म आएका हुन्। गाउँबाट सदरमुकामसम्म गाडी चढेर आएपनि कार्यलय सम्म उनी घस्रेरै आइपुगेका थिए।
पुसको जाडोमा भिजेको सुरुवाल लगाएर हात टेक्दै, रोडमा घस्रदै कार्यलय आएका रम्तेललाई आगनमा रहेकाहरुले सोधीखोजी गरे। उनको समस्या अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयका कर्मचारीहरुले आगनमै आएर बुझे। कार्यालयका कर्मचारीहरुले भने रम्तेलको काम यस कार्यालयमा नभइ वडा कार्यालयमै हुने बताए।
कार्यलयका एक कर्मचारीले भने, ‘उहाँले गुनासो फारम भरेपछि सम्बोधन भएर अनुदान पाउन योग्य हुनुभएको हो।सबै काम वडाकार्यलयबाटै हुने हो। उहाँका नाममा सम्झौता गराउन हामीले विवरण वडा कार्यलयमा पठाइसकेका छैाँ।
वडा कार्यलयमा सम्झौता भएपश्चात उहाँको विवरण हाम्रो कार्यलयमा आएपछि मात्रै हामीले उहाँको खाता पैसा पठाउन सिफारिस गर्ने हो।’ वडा कार्यलयले रातो किताब (अनुदान सम्झौता ) नदिएकाले आफू फेरी भूकम्पको कार्यलयमा गुनासो राख्न आएको सुब्बाले बताए।
ससुराले खुकुरी हान्दा अपांग
भूकम्प गएको साढे तीन वर्ष नाघिसक्दा पनि सुब्बा रम्तेलले भूकम्प पछि घर बनाउन पाउने सरकारी अनुदान नपाएको कारण भने अर्कै छ। अनुदान नपाउनुको कारण भन्दा बढी उनी अपाङगता कसरी हुन पुगे भन्ने कुरो मार्मिक रहेको छ।
हालको नीलकण्ठ नगरपालिका-५ खाल्टेको पात्लेमा विहे गरेका सुब्बा विहेपछि ससुराली बस्दै आएका थिए। दाजुभाइ र बाबुआमासँग छुटिएर बसेका उनी बैदेशिक रोजगारीको लागि २०७१ भदौ २९ गते कतार गए। कतार गएको ८ महिनामा भूकम्पपछि २०७२ बैशाख २० गते नेपाल फर्किए। रम्तेलका अनुसार उनले ८ महिनामा ८० हजार जति कमाएर ल्याएको थिए कतारबाट फर्किएपछि उनको ससुरासँग झगडा भयो।
ससुराले खुकुरीले प्रहार गर्दा उनको मेरुदण्ड र पेटमा गम्भीर चोट लाग्यो। तत्काल उपचार पछि ज्यान त बाँच्यो तर मेरुदण्डमा चोट लागेपछि कम्मरमुनीको भाग र एउटा हात सधैको लागि काम गर्न छाड्यो। उनलाई खुकुरी हान्ने आफ्नै ससुरा ‘ज्वाँइलाइ खुकुरी हानेको अभियोग’मा २ वर्ष जेल संजाय काटेर छुटिसकेका छन्।
श्रीमान असक्त बनेपछि २ छोरी च्यापेर उनकी श्रीमती माइतै बसिन। काम गर्न र पाकेको कुरा आँफै खान समेत नसक्ने सुब्बा घरमै आफ्नो भागमा बनेको जग्गामा टहरो बनाए बसे। ‘दाइभाइ सबै छुटिसकेका थिए, आमाबाबु पनि छुटिएकाले एक्लै बसें।’ सुब्बाले भने, ‘सकेको दिन यही एउटा हात चलाएर पकाएर खान्छु, नसकेको दिन कहिले काँही आमाले दिनुहुन्छ।’ अपाङगता भएपछि रक्सी खाने बानी लागेको भने उनले बताए। ‘काम गर्न सक्दिन, पुराना कुरा सम्झेर साह्रै दुःख लाग्छ, दुःख भुल्न भनेपनि भत्ताबाट पाएको पैसाले रक्सी खाने गर्छु’ सुब्बाले भने।
आफू सद्धे हुँदा नै परिवार सबै छुट्टा भिन्न भएकाले उनीहरुको बोझ बनेर बस्न मन नलागेर एक्लै झुप्रो हालेर बसेको सुब्बाले बताए। ‘बिहान बेलुका खानलाई अपाङगताको भत्ता आएको हुन्छ, कतिपय अवस्थामा दया लागेर अरुले दिएको खाएको छु।’ आत्मविश्वास देखाउदै सुब्बाले भने, ‘तर खान पाइन भनेर माग्न कतै गएको छैन।’
यसकारण पाएका छैनन् भूकम्पको अनुदान
श्रीमतीले वास्ता नगरी माइतै बस्ने थालेपनि उनीहरुको सम्बन्धविच्छेद भएको छैन। श्रीमतीले खाल्टेबाट आफ्नै बाबुको जग्गामा घर बनाउन पाउने गरी अनुदान लिएकाले यता श्रीमानलाई पनि अनुदान दिन समस्या भएको नीलकण्ठ नगरपालिका-७ का वडाअध्यक्ष गौतमहरि अधिकारीले बताए।
भिडियो
उनकी श्रीमतीले यसै वडाबाट सम्झौता गरी अनुदान रकम लगी खाल्टेमा घर बनाइसकेकी छिन। फेरि उनलाई पनि यसै वडाबाट अनुदान दिँदा एकै घरका श्रीमान श्रीमतीलाई अनुदान दिएको ठहरिने भएकाले सम्झौता हुन नसकेको वडाअध्यक्ष अधिकारीले बताए।
गुनासोमा नाम निक्लिएको छ, आवश्यक कागजपत्र ल्याउँदैनन् अनि कसरी सम्झौता गरिदिने ?’ वडाअध्यक्ष अधिकारीले भने। भूकम्प अनुदान व्यवस्थापन कार्यलयमा सल्लाह गरेर सुब्बाको अनुदानको घर बनाउन सम्झौता गरिदिने प्रयासमा रहेको वडाअध्यक्ष अधिकारीले जानकारी दिए।
आफूले घर बनाउने अनुदान पाए दाजुभाइलाई हारगुहार गरेर घर बनाउन लगाउने सुब्बाले बताए। ‘एउटा हात र खुट्टा नचले पनि एक हातले माटो मुछ्न सक्छु।’ आँटिलो स्वरमा सुब्बाले भने, ‘भाइहरु घर बनाउने ज्यामी काम गर्छन्, पैसा पाएँ भने उनीहरुलाई बनाइदेउ भन्न पनि सक्छु नी।’