‘आचार्य सुश्रुत प्लास्टिक सर्जरीका पिता’
काठमाडौं : अमेरिकास्थित कोलम्बिया विश्वविद्यालय इरविङ मेडिकल सेन्टरले पूर्वीय आचार्य सु श्रुतलाई प्लास्टिक सर्जरीका पिता भएको स्वीकार गरेको छ ।
न्युयोर्कस्थित उक्त संस्थाले २ हजार पाँच सय वर्षअघि नै प्लास्टिक सर्जरीका बारेमा जानकारी भएको बताएको छ । विश्वविद्यालयले उल्लेख गरेको छ, ‘प्लास्टिक सर्जरी आधुनिक सुविधा हो ? यसको इतिहास केलाउँदा २५ सय वर्षअघि नै यो शुरु भएको देखिन्छ । त्यतिखेर प्लास्टिक कहाँबाट आयो भन्ने प्रश्न उठ्न सक्छ । प्लास्टिक शब्द ग्रीक शब्द ‘प्लास्टिकोस’बाट आएको हो । यसको अर्थ हुन्छ, ढालेर रूप दिनु ।’
गत वर्ष अस्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय कलेज अफ सर्जन मेलबर्नले पनि सु श्रुतलाई ‘फादर अफ सर्जरी’को मान्यता दिँदै उनको प्रतिमा स्थापना गरेको छ ।
विश्वविद्यालयले सु श्रुतलाई पूर्वीय सभ्यतामा ‘फादर अफ सर्जरी’ भनेर चिनिने उल्लेख गर्दै उनले औषधि र सर्जरी विषयमा संसारकै सबैभन्दा पुरानो जानकारी दिएको उल्लेख गरेको छ । उनले ‘सु श्रुत संहिता’मा १ हजार १ सय विरामी, हजारौं औषधीय वनस्पति र सर्जरी गर्ने तरिका बताएका छन् । त्यसमा छाला र नाकको सर्जरीका तीन किसिमको चर्चा गरेका छन् ।
छालाको सर्जरीमा शरीरको एक भागको छाला अर्को भागमा लगाउने तरिका वर्णन गरेका छन् । निधारको ‘फ्ल्याप राइनोप्लास्टी’को बारेमा लिखित पहिलो प्रमाण सु श्रुत संहिता हो । उक्त प्रक्रियामा निधारको मोटो छाला निकालेर नाकमा प्रत्यारोपण गरिन्छ । यो प्रक्रिया प्लास्टिक सर्जरी गर्दा हाल पनि प्रचलित छ ।
प्रतिवेदनमा घाउ, पोलिएको र संक्रमित खराब छाला ठीक बनाउन पनि उक्त विधि प्रयोग गरिएको र हालको ‘स्किन ग्राफ्टस’ जस्तै भएको बताइएको छ । सु श्रुत संहितामा कतिपय आधुनिक प्रविधि प्रयोग गरिएको बताइएको छ । कोलम्बिया विश्वविद्यालय इरविङ मेडिकल सेन्टर सन् १७६७ मा स्थापना भएको थियो । अमेरिकामा एमडीको पहिलो प्रमाणपत्र प्रदान गर्ने संस्था आफू भएको बताउँदै आएको छ । वैज्ञानिक अनुसन्धान, स्वास्थ्य र औषधि विज्ञानका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । अमेरिकामा यसका चारवटा केन्द्र छन् ।
फादर आफ मेडिसिन भनिने हिप्पोक्रेट्सभन्दा डेढ सय वर्ष पहिले नै सर्जरीको क्षेत्रमा नयाँ काम गरिसकेका थिए । सु श्रुतले वेद र उपनिषद्को अध्ययनपछि अपरेशन (शल्य चिकित्सा) र आयुर्वेदमा आकर्षित भएका थिए । आचार्य सु श्रुतको ग्रन्थ ‘सु श्रुत संहिता’मा आयुर्वेद, शल्य चिकित्सा लगायतको विस्तृत वर्णन गरिएको छ । संहितामा शल्य चिकित्सा सम्बन्धी १२५ किसिमका उपकरणको खोज र कार्यको वर्णन गरिएको छ ।
३ सय प्रकारका शल्यक्रियाको वर्णनका साथै कस्मेटिकलाई प्राथमिकता दिइएको छ । उनले शरीर संरचनाको वर्णन पनि गरेका छन् । मोतीबिन्दु, प्रसव प्रक्रियाका बेला गरिने शल्य चिकित्सालाई बेग्लै महत्व दिएका छन् । संहितामा भाँच्चिएको हड्डीलाई जोड्ने तरिका, मधुमेह र मोटोपन घटाउने तरिका र उपाय बताइएको छ । उनले सु श्रुत संहितामा उल्लिखित शल्य चिकित्सा र औषधिका बारेमा लामो समयसम्म प्रयोगात्मक र सैद्धान्तिक शिक्षा प्रदान गरेका थिए । उनले प्रयोगात्मक शिक्षा दिँदा शुरुमा फल, पुतला र पछि शवमा आफ्नो प्रयोग गर्ने गरेको सु श्रुत संहितामा वर्णन गरिएको छ । मनोरोग, बालरोग र स्त्रीरोगको बारेमा पनि उनले व्याख्या गरेका छन् ।