लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको सोमबार राति खेलिएको खेलमा सफलता हात पार्दै म्यानचेस्टर सिटीले ‘लिग लिडर’ लिभरपुलसँगको दूरी चार अंकमा झारेको छ । साविक विजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा वल्भरह्याम्पटनमाथि ३-० गोलको सजिलो जित हात पार्‍यो ।

खेलको प्रारम्भमै वल्भरह्याम्पटन नौ खेलाडीमा समेटिएपछि म्यानचेस्टर सिटीको जित अझ सहज बनेको थियो । खेलको १९औं मिनेटमै वल्भरह्याम्पटनका विली बोली सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । बेनार्डो सिल्भासँग फल खेलेका कारण उनले रातो कार्ड पाएका थिए ।

म्यानचेस्टर सिटीको सजिलो जितमा ग्याब्रियल जिससले पहिलो हाफमै दुई गोल गरेका थिए । खेल सुरु भएको १०औं मिनेटमै पहिलो गोल गरेका जिससले ३९औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । निर्धारित समयको ७८औं मिनेटमा वल्भरह्याम्पटनका कोनर कोडीबाट आत्मघाति गोल भएपछि म्यानचेस्टर सिटीको जित अझ सह बनेको थियो ।

जारी सिजनको प्रिमियर लिगमा सबै टोलीले २२÷२२ खेल खेलिसक्दा ५७ अंकसहित लिभरपुल तालिकाको पहिलो स्थानमा छ । म्यानचेस्टर सिटी भने ५३ अंकसहित लिभरपुललाई पछ्याउँदै छ । हालसम्म लिभरपुलले एक र म्यानचेस्टर सिटीले तीन खेलमा हार भोगेका छन् ।

यसैगरी ४८ अंकसहित टोट्टनहाम तेस्रो, ४७ अंकसहित चेल्सी चौथो र ४१ अंकसहित आर्सनल पाँचौं स्थानमा आसिन छन् । ४१ अंक बटुलेको म्यानचेस्टर युनाइटेड भने गोलअन्तरका आधारमा तालिकाको छैटौं स्थानमा छ । वल्भरह्याम्पटन २९ अंकसहित ११औं स्थानमा छ ।

म्यानचेस्टर सिटीले जारी सिजनमा सबै प्रतियोगितालाई मिलाएर ९९ गोल गरेको छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विपक्षी १० खेलाडीमा सिमित भए पनि आफ्ना खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘विपक्षीको क्षेत्रमा बल लैजानेभन्दा पनि हामी आपसमा पास खेल्न बढी सक्रिय भयौं । आगामी खेलमा यो गल्ती सुधार्नु आवश्यक छ’, उनले भने ।

वल्भरह्याम्पटनका प्रशिक्षक नुना एसपिरिटो सान्तोले खेलको सुरुमै १० खेलाडीमा सिमित हुनु परेकाले आफूहरु दबाबमा आएको प्रतिक्रिया दिए । अब आगामी शनिबार वल्भरह्याम्पटनले लेस्टर सिटी र आइतबार म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनको सामना गर्नेछन् ।

म्यानचेस्टर सिटीले इत्तिहाद रंगशालामा खेलेको पछिल्ला १५ मध्ये केवल एक खेलमा हार भोगेको छ । बाँकी १४ मध्ये १३ खेलमा जित र एक खेलमा बराबरीमा रोकिएको छ । गत डिसेम्बरमा इत्तिहाद रंगशालामा खेलिएको खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग ३-२ गोलले हारेको थियो ।

यसैगरी सोमबार राति खेलिएका खेल वल्भरह्याम्पटनका लागि निराशाजनक रहँदै आएका छन् । सोमबार राति खेलिएका पछिल्ला नौमध्ये आठ खेलमा वल्भरह्याम्पटन पराजित भएको छ। 

वल्भरह्याम्पटन यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएको क्लब हो । यसरी सोही सिजन प्रिमियर लिगमा बढुवा भएका क्लबविरुद्घ इत्तिहाद रंगशालामा खेलिएको खेलमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा ३५ पुर्‍याएको छ । 

म्यानचेस्टर सिटी र ग्याब्रियल जिससबीच पनि एउटा गतिलो संयोग जोडिएको छ । जिससले गोल गरेका २० वटा प्रिमियर लिग खेलमध्ये कुनैमा पनि म्यानचेस्टर सिटी पराजित भएको छैन । जिससले गोल गर्दा १९ खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ ।

म्यानचेस्टर सिटीका लागि इत्तिहाद रंगशालामा आफूले खेलेका पछिल्ला आठ खेलमा जिससले १२ गोल गसिसकेका छन् । सोमबार रातिको खेल डेभिड सिल्भाका लागि म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा दुई सय ६७औं खेल थियो । उनले म्यानचेस्टर सिटीका लागि सबैभन्दा बढी खेल खेल्ने जोय हार्टको कीर्तिमानलाई उछिनेका छन् । हार्टले दुई सय ६६ खेल खेलेका थिए ।  

यसैगरी सन् २०१२ को अप्रिलपछि प्रिमियर लिगमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिने विली बोली वल्भरह्याम्पटनका पहिलो खेलाडी बनेका छन् । सन् २०१२ को अप्रिलमा आर्सनलविरुद्घ खेलिएको खेलका क्रममा वल्भरह्याम्पटनका सेबास्टियन बासोङले रातो कार्ड पाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.