बिचौलियाको बोलवाला, रिसाहा कर्मचारी, निरीह सेवाग्राही

बिचौलियाको बोलवाला, रिसाहा कर्मचारी, निरीह सेवाग्राही

विहान ११ बजे। त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रार कार्यालयको परिसरमा टोलाइरेका थिए, रौतहटका श्याम साह (२५)। उनी दुई दिनदेखि नयाँ कम्पनी दर्ता गर्न कार्यालय धाइरहेका थिए। कलंकीको एक लजमा बस्दै आएका उनको अझै काम सुरु भएको थिएन। फाइल बोकेर परिसरमा टोलाइरहेका उनले भने, ‘कर्मचारीलाई सोध्यो, जवाफै दिँदैनन्।’

दुई दिनमा उनले किसिमकिसिमका मान्छे भेटे। कानुन व्यवसायी भेटे। बिचौलिया भेटे। आफूजस्तै अनभिज्ञ सेवाग्राही भेटे। तर, कसैको सहारा नलिइ आफै काम गर्न सघि सरे। अन्ततः हात लाग्यो शून्य। एकातिर काम बनेको छैन। अर्कोतिर लजमा बस्दाबस्दा पैसा सकिन लाग्यो। दुई दिनमा पनि काम सुरु नभएपछि निरास हुँदै उनले भने, ‘कामै सुरु भएको छैन। के गर्ने गर्ने ? ’

बाहिर श्यामजस्ता सयौं सेवाग्राही अलमलमा थिए। भित्र कर्मचारी भने कम्प्युटरमा फेसबुक चलाइरहेका थिए। कतै ठट्टा गरिरहेका थिए। कोठा नम्बर १०४ का एक कर्मचारी कम्युटरमा फेसबुक चलाइरहेका थिए। सोही कोठामा ‘भ्रष्टाचार कम्पनी लिमिटेड’ खोल्नेबारे छापिएको लेखमा हाँसोठट्टा र व्यंग्य चलिरहेको थियो। सहायक रजिस्ट्रार दीपक खनाल कानुन व्यवसायीसँग ठट्टा गर्दै थिए, छेउछाउमा उभिनेहरू त्यसैमा लय मिलाउँदै थिए।

पैसाको प्रसंग आउनासाथ व्यंग्य राष्ट्र बैंकको गर्भनरतर्फ मोडियो। एक कर्मचारी भन्दै थिए, ‘गर्भनरलाई पैसाको खाँचो पर्‍यो भने के गर्छन् होला ? ’ अर्का कर्मचारीले हाँस्दै थपे, ‘आफै छाप्छन् होला नि।’ छेउमै उभिएका कानुन व्यवसायीले थपे, ‘उनीहरूलाई छाप्ने गरी खाँचै छैन।’ हाँसोले गुन्जियो कोठा। सहायक रजिस्ट्रार खनालले हाँस्दै थपे, ‘अहिले पैसाको कसैलाई अभाव छैन। अभाव त रूपैयाँको मात्रै छ।’ सबै जना फेरि गलल्ल हाँसे। सेवाग्राही भने फाइल बोकेर जिल्ल परिरहेका थिए।

भुइँतलाको कोठा नम्बर १०५। सहायक रजिस्ट्रार सेवाग्राहीसँग रुखो स्वरमा बोलिरहेका थिए। उनकै छेउको कुनामा कम्प्युटर ‘अन’ थियो। तर कम्प्युटर–कुर्सीमा कोही थिएन। त्यही मौका छोपी एक युवती कम्प्युटर चलाउन थालिन्। उनी सेवाग्राही थिइनन्। कानुन व्यवसायीको कार्ड पनि भिरेकी थिइनन्। यताउती आँखा डुलाउँदै कम्प्युटर चलाइरहिन्। उनी फाइल हेर्थिन्, अनि किबोर्ड थिच्थिन्। करिब २० मिनेट कम्प्युटर चलाएर काम सकाएर बाहिरिइन्। सँगै रहेका सहायक रजिस्ट्रारले एक शब्द बोलेनन्। सेवाग्राहीसँग रुखो आवाजमा बोल्ने उनले ती युवतीले कम्प्युटर चलाएको नदेखेझैं गरिरहे।


कम्पनी रजिस्ट्रार कार्यालयमा शुक्रबार देखिएका तीन प्रतिनिधि घटना हुन् यी।


अस्तव्यस्त कार्यालय

कार्यालय छिर्ने वित्तिकै देखिन्छ मान्छेको अस्तव्यस्त भिड। फाइल बोकेर दौडिरहेका। कोही टोलाइरहेका। कोही फोन गरिरहेका। कोही कसैलाई पैसा दिइरहेका। कसैले कार्ड भिरेका छैनन्। कुन कर्मचारी ? कुन कानुन व्यवसायी ? कुन बिचौलिया ? कुन सेवाग्राही ? मेसै पाइन्न। भित्तामा जताजतै टाँसिएको छ सूचना– म भ्रष्टाचार गर्दिनँ। अख्तियारको सूचना पनि छ– भ्रष्टाचार भएको देखे फोन गर्नू।

कार्यालयको प्रत्येक कोठा फाइलले भरिएको छ। उप–रजिस्ट्रार तथा सूचना अधिकारी महेशराज तिम्सिनाका अनुसार देशभरि करिब दुई लाख ५० हजार कम्पनी छन्। ती सम्पूर्ण कार्यालयका फाइल यत्रतत्र छन्। भर्‍याङमा, बार्दलीमा, भुँइमा, शौचालय नजिकै जताजतै फाइल चाङहरू छन्। सेवाग्राही पुरानो फारम खोज्दै तेस्रो र चौथो तला पुग्छन्।

कुनै फाइल ७ दिन खोज्दा पनि भेटिँदैन। उप–रजिस्ट्रार तिम्सिना भन्छन्, ‘लाखौं फाइल खोज्न दुई जना मात्रै कर्मचारी छन्। त्यही भएर समय लागेको हो।’ हप्ता दिनपछि फाइल बल्लबल्ल तल आइपुग्छ। तल फेरि हराउँछ। एक सेवाग्राही अपरान्हतिर क्यान्टिनमा झोँकिँदै थिए, ‘खै फाइल नै छैन रे। कहाँ खोज्ने अब ? ’ फाइल बाहिर लैजान निषेध गरिएको छ। तर शुक्रबार ५ जनाले चारतलामाथि हुनुपर्ने फाइल बाहिरबाट लिएर आए।


भित्ताभित्तामा अर्को पनि सूचना छ– तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ। सूचनाले सतर्क त गराउँछ तर निगरानी गर्ने मान्छे नै कार्यकक्षमा थिएनन्। सीसी क्यामेराको मोनिटर प्रमुख रजिस्ट्रारको कार्यकक्षमा राखिएको छ। तर कार्यकक्षमा उनी नै देखिएनन्। आइतबार करिब ३ घन्टा ढिलो गरी कार्यालय आए। बिना हतार, सुस्तसुस्त कार्यकक्ष प्रवेश गरेका उनले अन्नपूर्णकर्मीसँग भेट्न चाहेनन्। कार्यालयभित्र उनी एक्लै थिए। फुर्सदमै थिए। उनका सहयोगीले खबर ल्याए, ‘सर व्यस्त हुनुहुन्छ। अहिले भेट्न मिल्दैन।’


सेवाग्राहीलाई सहयोग गर्ने थलो हो सोधपुछ कक्ष। तर कक्ष नजिकै फर्मान शैलीमा सूचना छ– ‘खाजा समयमा डिस्टर्ब नगरौं।’ सेवाग्राहीको फाइल हेरिरहँदा कर्मचारीको मोबाइलको घन्टी बच्छ। कर्मचारी फाइलमा हस्ताक्षर गर्दागर्दै ‘हेलो हेलो’ भन्दै बाहिरन्छन्, एकपटक होइन, पटकपटक। ब्लक ‘ए’मा यो क्रम शुक्रबार दिनभरिजसो चलिरह्यो।

कार्यालयमा १४ जना सहायक रजिस्ट्रार छन्। तर उनीहरू एकअर्कामा अपरिचित रहेको सेवाग्राहीसँग जिकिर गर्छन्। सेवाग्राहीले पल्लो कोठाको सहायक रजिस्ट्रारको नाम लिँदा वल्लो कोठाका रजिस्ट्रारको जवाफ आउँछ, ‘यस्तो नाम गरेको मान्छे पनि छन् र यहाँ ? सेवाग्राही अलमल हुन्छन्।

राजस्व तिर्ने ठाउँमा लामो लाइन छ। कुपन सिस्टम छैन। न त बस्ने ठाउँ छ। बेलाबेलामा सर्भर डाउन भइरहन्छ। त्यही बेला गफिन्छन् कर्मचारी। उप–रजिस्ट्रार तिम्सिना ५५ जना कर्मचारी दरबन्दीको भएपछि कामको चापले सेवाग्राहीलाई छिटो सेवाप्रवाह गर्न कठिनाइ भइरहेको बताउँछन्। भन्छन्, ‘तर, पहिलेभन्दा अहिले धेरै सुधार भएको छ।’

कार्यालय हाताभित्र खानेपानीको व्यवस्था छैन। सेवाग्राही बाहिर जाँदा भित्र आउन सकस हुन्छ। भित्र न पानी छ, न क्यान्टिन। मुख सुकाएर दिनभरि दौडिरहन्छन् सेवाग्राही। सहायक रजिस्ट्रार तिम्सिना भन्छन्, ‘हजारौं सेवाग्राहीलाई पानी खुवाउन सकिन्नँ।’

सहायक तथा उप–रजिस्ट्रारको स्ट्याम्प जो कोहीले प्रयोग गर्न पाउँछन्। दराजका फाइल जो कोहीले पल्टाएर हेर्न सक्छन्। जो कोहीले अमूक कम्पनीको विवरण माग्न सक्छन्। आइतबार ११ः३० बजे आइटी सेक्सनमा दुई व्यक्ति कम्पनीको विवरण माग्दै थिए। उनीहरू को हुन् ? कसैले सोधेन।

शुक्रबार बिहान ११ बजे। एक युवा कार्यालय परिसरमा रिसाइरहेका थिए। कम्पनी खारेज गर्न उनी हतारिँदै कार्यालय आए। तर ११ बज्दा पनि कार्यकक्षमा कर्मचारी आइपुगेका थिएनन्। ‘अफिस नै आएका छैनन् कि घाम ताप्न निस्किएका हुन्, केही थाहा छैन,’ उनी भन्दै थिए, ‘अब आधा घन्टामा पनि आइपुगेन भने कार्यालय प्रमुखलाई उजुरी गर्न जान्छु।’ सँगै उभिएका एक अधबैंसेले भने, ‘तपाईं नेपालको सबैसँग जुध्न सक्नुहुन्छ। तर, ब्युरोक्रेसीलाई हल्लाउन सक्नु हुन्न।’ डर देखाउँदै भने, ‘यिनीहरूले चाहे भने तपाईंको फाइल महिनौं रोकिदिन सक्छन्। फाइल शंकास्पद छ, अनुसन्धान गर्नुपर्छ भनिदिन्छन्। अनि सकिएन ! ठूलो स्वर नर्गनुस्। ज्यूज्यू गरेर काम सकाउनुस् पहिला।’ ती युवा तुरुन्तै बम्किन छाडे।

छद्‍म बिचौलियाको बिगबिगी


काम लिएर सेवाग्राही आफै कार्यालय जाँदैनन्। कानुन व्यवसायी खोजेर जिम्मा लगाउँछन्। एक कानुन व्यवसायीले भने, ‘सेवाग्राही आफै आएको थाहा पाए कर्मचारीले आलटाल गरिदिन्छन्।’ व्यवसायीसँग वर्षौं पुरानो चिनजान हुन्छ। सुरुमै हाइहेलो चल्छ। त्यसपछि वास्तविक सेवाग्राहीको भन्दा उनीहरूको काम अगाडि हुन्छ।

 व्यवसायीले सामान्य काम गर्न समेत १० हजारदेखि बार्गेनिङ सुरु गर्छन्। एकाधबाहेक अधिकांश कानुन व्यवसायीले वकिलको लोगो लगाउँदैनन्। ल फर्ममार्फत कर्मचारी खटाउँछन्। उनीहरू बेरोकतोक कार्यालयको चोटाकोठा चहार्छन्। झ्यालमा लेखिएको हुन्छ– झ्यालबाट सेवा लिनु होला। तर, फाइल बोकेका उनीहरू सिधै कार्यकक्षभित्र जान्छन्। आफै फाइल पल्टाउँछन्। हाकिमको टेबलमा फाइल राखेर फर्म भर्छन्। उनीहरूसँग हाँसो, ठट्टा गर्छन्। कार्यकक्षभित्रै बिचौलिया र सेवाग्राहीबीच पैसा लेनदेन हुन्छ।


दिनको दुई बजे। कोठा नम्बर १०२ मा एक महिला विचौलियालाई सेवाग्राहीले पैसा दिए। त्यस्ता व्यक्तिलाई बिचौलिया होइन, मध्यस्थकर्ता भन्नुपर्ने मत राख्छन् उप–रजिस्ट्रार तिम्सिना। भन्छन्, ‘बिचौलिया अलि कडा शब्द भयो।’


सेवाग्राही कार्यकक्षभित्र पस्ने बित्तिकै बिचौलियाहरू शिकार भेटेजसरी घेर्न पुग्छन्। दैनिक १५ सयदेखि २ हजारसम्मलाई सेवा दिन बसेको कार्यालयमा कतिजना कानुन व्यवसायी आउँछन् ? कतै रेकर्ड छैन। कति जना बिचौलिया आउँछन्, त्यो पनि थाहा छैन। गेटबाहिर र भित्र बिचौलियाको फन्दामा परेका छन् कति। फन्दामा पारेपछि कार्यालयभित्रको जन्जाल र ढिलासुस्ती सुनाएर हतोत्साही बताउँछन्। त्यसपछि काम लिन्छन्।

बिहान १०ः३५ बजे। गेटनजिकै दुई युवक मसिनो आवाजमा कुराकानी गरिरहेका थिए। ‘यहाँ तपार्इंले केही मेलोमेसो पाउनुहुन्न। कताकता धाउनुहुन्छ ? कर्मचारीले एक सिन्को काम गरिदिँदैनन्,’ ती युवकले भने, ‘तपाईंको काम के हो भन्नुस्, म गरिदिन्छु।’ ती युवाले १० लाख पुँजीको डिपार्टमेन्ट स्टोर खोल्न चाहेको बताए। त्यसबापत २० हजार रूपैयाँ लाग्ने ती बिचौलियाले भने। १५ मिनेट कुराकानी गरे। ती युवा उनलाई २० हजार दिन राजी भए। आइतबार भेट्ने भन्दै फोन नम्बर लिएर गए। यता नागरिक बडापत्रमा भनिएको छ– दश लाख पुँजीको उद्योग दर्ता गर्न ९ हजार ५ सय रूपैयाँ लाग्छ। ती युवाले बडापत्र हेर्दै हेरेनन्। सोधपुछ कक्षसम्म पनि उनी पुग्नै पाएनन्।

मंगलबार, शुक्रबार र आइतबार उही मान्छे, उही समय तर फरक फाइल बोकेर तलमाथि गरिरहेका थिए। दिनभरि परिसरमै डुलिरहेका सञ्चीव राई भन्दै थिए, ‘कर्मचारीसँग हाम्रो चिनजान छ। तपाईंलाई १० दिने लाग्ने काम मैले गरे ४ दिनमा हुन्छ।’

रिसाहा कर्मचारी, निरीह सेवाग्राही

एकजना महिला सेवाग्राही हतारहतार कोठा नम्बर १०५ मा पुगिन्। उनले हतारिँदै भनिन्, ‘सर, हजुरको नाम के हो ? ’ कर्मचारीले कड्केर बोले, ‘किन चाहियो मेरो नाम ? ’ ‘आइटीमा गएको थिएँ। त्यहाँबाट तपाईंको नाम सोध्यो, त्यसैले।’ उनले स्पष्टिकरण दिइन्। कर्मचारीले फेरि भने, ‘मेरो सहीले नै मलाई चिन्छन्। सही देखाउनुस्।’ उनले फेरि नम्र भएर भनिन्, ‘तपाईंको नाम नै चाहियो रे सर।’ कर्मचारीले झर्किएर भने, ‘बाहिर ढोकामा छ। जानुस्। त्यही हेर्नुस्।’ महिला सेवाग्राही निरास हुँदै ढोकामा आइन् अनि भित्तामा चियाउन थालिन्।


त्यही कोठामा आइपुगे अर्का सेवाग्राही। टेबलमा राखिएको कागजपत्र ती सेवाग्राहीको कुइनामा ठोकिएर छरियो। ती कर्मचारीले हकार्दै भने, ‘कागज नछर्नुस्। उता जानुस्। जे मन लाग्यो, त्यो नगर्नुस्।’ कोठामा होहल्ला भयो। ती सेवाग्राहीले विनम्र भएर भने, ‘फाइल देखिनँ सर। जानीजानी छरेको होइन।’ कर्मचारीले उनको कुरा सुनेनन्। फेरि हकार्दै भने, ‘उता जानुस्।’


गेटमा खानतलासी

कार्यालयको गेटमा दिनहुँ टाँसिन्छन् खबरदारीको सूचना। भाषा एकदमै निर्देशनात्मक र कडा हुन्छ। फाइल बाहिर नजाओस् भन्दै कार्यालयले नियम कडा बनाएको छ। कार्यालय भित्रिने सबैको झोला खोतलिन्छ।

कार्ड बाहिर लैजान कडाइ गरेपछि क्यान्टिनमा फाइलको चाङ बोकेका कानुन व्यवसायी डुलिरहेका भेटिन्छन्। काम सकिसकेको व्यक्ति कार्यालय परिसरमा बसे बाहिर निकालिदिन सक्नेसम्मको सूचना छ। तर भिड कम हुँदैन।

नागरिकता देखाएपछि मात्रै गेटबाट प्रवेश दिइन्छ। मतदाता परिचयपत्रसमेत काम लाग्दैन। तर, गेटमा बस्ने सुरक्षाकर्मीको मनपरी नियम छ। मंगलबार विद्यार्थी परिचयपत्र देखाएर पस्न दिए। शुक्रबार मतदाता परिचयपत्रसमेत काम लागेन। आइतबार कुनै कार्ड देखाउनु परेन।

शुक्रबार अपरान्ह ३ बजे। गेटमा होहल्ला भयो। कार्यालयको चौथो तलामा हुनुपर्ने ‘अटोमोबाइल एडभेन्जर एन्ड ट्रेड’को फाइल गेट बाहिरबाट पो आयो। कार्यालयभित्रबाट यसरी पटकपटक फाइल बाहिरिएपछि सूचना जारी गरिएको थियो। तर कर्मचारीकै मिलोमतोमा फाइल बाहिरिएको त्यो पछिल्लो उदाहरण थियो। महिला प्रहरीले रिसाउँदै भनिन्, ‘कर्मचारीले लापरबाही गर्छन्। बाहिरबाट आएको फाइल कति जफत गर्नु ? ’

एकजना वकिल गेटभित्र छिरे। उनी पर पुगिसकेका थिए। प्रहरीले बोलाए। उनी सुरुमा गेटतर्फ फर्किन मानेनन्। निकै रवाफिलो शैलीमा अटेरी गरी प्रहरी नजिक आए। प्रहरीले उनको झोला तलासी गरे। वकिलले रिसाउँदै भने, ‘अदालतमा त ब्याग चेक गर्दैन। यहाँ किन ? ’ उनी कड्किँदै भित्र गए।


क्यान्टिनमा मोलमोलाइ

कार्यालय परिसरमा क्यान्टिन छैन। सेवाग्राही क्यान्टिन खोज्दै बाहिरिन्छन्। त्यसपछि त्यही क्यान्टिनमा भेटिन्छन् कानुन व्यवसायी र बिचौलियाहरू। अधिकांश सेवाग्राही दिक्क मान्दै क्यान्टिनमा पुग्छन्। त्यही हुन्छ मोलमोलाइ। सेवाग्राहीले कानुन व्यवसायी र बिचौलियालाई पैसा दिने ठाउँ पनि त्यही हो।


एक सेवाग्राही निराश हुँदै क्यान्टिन पुगे। उनी कम्पनी दर्ता गरेको प्रमाणपत्र लिएर हस्ताक्षर चेकजाँच गर्न कार्यालय पुगेका थिए। चेक गरेपछि उनी छाँगाबाट खसेजस्तै भए। उनले भने, ‘हस्ताक्षर नै नक्कली रहेछ। कसैसँग मिलेन। अब के गर्ने होला ? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.