राजनीति र कला

राजनीति र कला

किन संसारका महान् कलाकार, साहित्यकार, संगीतकार विकसित देशकै हुन्छन् ?  राजनीति नसुध्रिए हाम्रो सृजना स्तर र दायरा संकुचित नै रहनेछ


पुसको दोस्रो हप्ता, कठ्यांग्रिँदो जाडो। नेपालका प्रतिष्ठित धेरै व्यक्तित्वहरू काठमाडौंभन्दा न्यानो पोखरा र सबैभन्दा सुन्दरमध्ये एक फेवातालको किनारमा जम्मा भएका थिए। फाइन प्रिन्टस् प्रकाशनका मूलतः दुईजना ऊर्जावान् युवा नीरज भारी र अजित बरालको अगुवाइमा गत सात वर्षदेखि लगातार हुँदै आएको नेपाल साहित्य महोत्सवमा वक्ता, प्रस्तोता र सहभागीका रूपमा चार दिनसम्म दिनदिनै त्यहाँ सयौं मानिस भेला हुने गरेका थिए। त्यहाँ के थिएन,       कला (साहित्य, संगीत, चित्रकला), समाज, पत्रकारिता, पर्यटन, विकास र राजनीति ? सामाजिक सञ्जालमा कतिपय टिप्पणीहरू आइरहेका थिए— साहित्य सम्मेलनमा राजनीति ?        बरू राजनीतिक सम्मेलन नै गरे भइहाल्थ्यो नि !

सरसर्ति सुन्दा कुरा ठीकै लाग्छ। तर राजनीति र कला एकअर्काका परिपुरक हुन्। मेरा बुवा मनुजबाबु कलाकार तथा साहित्यकार हुनुहुन्थ्यो। उहाँले मलाई भनेको एउटा कुरा कहिल्यै बिर्सन्न— आँखा खोलेर हेर्नेबित्तिकै जे देखिन्छ त्यो सबै कला हो। त्यसलाई मैले अलिकति तन्काउन चाहें। आँखा खोलेर हेर्दा देखिने सबै दृश्य कला मात्र होइन, राजनीति पनि हो। हुन पनि मैले आँखा खोल्नेबित्तिकै देख्ने फोन, कम्प्युटर, लुगा, बस्ने घर, घरका भित्ताका रङ, कोठामा राखिएका फर्निचर, झ्यालबाट देखिने बस्ती, पार्क, बाटोघाटो, पहाड र हिमालको रूपरङ सबैमा कला छ र ती कलाको स्वरूपलाई राजनीतिको स्वरूपले निर्धारण गर्दछ। किनभने नागरिक र सरकारको आम्दानीलाई राजनीतिले निर्देशित गर्दछ र ठूलो हदसम्म सो आम्दानीले हामीले प्रयोग गर्ने सामान र हामीवरिपरिको वातावरणको स्तर र कलात्मक रूप निर्धारण गर्दछ। पहाड र हिमालसमेत फुंग हुने कि हराभरा हुने भन्ने पनि अन्ततोगत्वा ठूलो हदसम्म राजनीतिसँगै आएर जोडिन्छ किनभने वातावरण परिवर्तन मूलतः राजनीतिक विषय बनिसक्यो।

त्यसै भएर कलात्मक चेत नभएको व्यक्ति सफल नेता हुन सक्दैन। यो वर्ष राजनीतिक बहसको मूल विषय ‘अबको नेतृत्व ः कस्तो, कसको ? ’ थियो र त्यसमा कम्युनिस्ट नेता नारायाणकाजी        श्रेष्ठ, कांग्रेस नेता गगन थापा र म सहभागी थियौं। आयोजकहरूका अनुसार सो बहसमा साहित्य सम्मेलनको सात वर्षको इतिहासमै सबैभन्दा बढी दर्शकहरूको उपस्थिति थियो र त्यसको भिडिओ पनि युट्युबमा भाइरल भएको छ। राजनीतिमा कलात्मक चेतको महत्व बुझेरै हुनुपर्छ नीरज भारी र अजित बरालले हरेक साहित्य सम्मेलनमा राजनीतिको पाटो छुट्ट्याएका हुँदैनन्। छुट्ट्याउनु हुँदैन पनि। बरू अर्कोपटक ‘राजनीति र कला’ का बारेमा एउटा छुट्टै बहस नै राखे, त्यो रोचक हुने थियो।

सिर्जनात्मकता, आत्मविश्वास, दक्षता, नैतिकता, नागरिक चेतना, अभिव्यक्ति क्षमता, भाषागत ज्ञान सबै न्यून भएको जनशक्ति उत्पादन गरेर न देशको विकास सम्भव छ न त विश्वस्तरको उत्कृष्ट कला सिर्जन नै।

किन संसारका सबैभन्दा महान् कलाकार, वास्तुकार, साहित्यकार, संगीतकार अधिकांश विकसित देश र अझ खासगरी योरोप र अमेरिकाकै हुन्छन् ?        साहित्यका लागि नोबेल पुरस्कार पाउनेहरू अधिकांश किन योरोप र अमेरिकामा छन् ?        हो, पश्चिमा कलाको पश्चिमाहरूले नै मूल्यांकन गर्ने, त्यसका लागि उनीहरूकै परिवेशमा निर्माण भएको सौन्दर्य चेत प्रयोग हुने र संसारभर भाषा र आमसञ्चारमा उनीहरूकै प्रभावका कारण उनीहरूको दबदबा बढी रहने कारण पनि जिम्मेवार छन्। त्यहाँभित्र हाम्रा आँखामा नपर्ने राजनीति पनि हुन्छ। राजनीतिका कारण नै हो नोबेल पुरस्कारहरू बेलाबेलामा विवादित भइरहने। तर ती कारणले मात्र विकसित देशका कला विशिष्ट भएका होइनन्।

हामी बाटोघाटो, बिजुली बत्ती, स्कुल, कलेज या विकासका अन्य पूर्वाधारको दुरवस्था अनि गरिबी, भ्रष्टाचार, कुशासन सबैको कारक राजनीति ठान्छौं। तर कला र साहित्यको स्तरलाई देशको राजनीतिसँग बिरलै जोडेर हेर्दछौं। राजनीति ठीक नभएका कारण नेपालमा विश्वस्तरका स्रष्टा जन्मिएनन् भनेको मैले कहिल्यै सुनेको छैन। तर राजनीति ठीक नभएका कारण यति स्रोतसम्पन्न देश पनि विकास गर्न सकिएन भनेको चाहिँ सधैं सुनेको छु। कुनै पनि देशमा विकास सामान्यतया सर्वपक्षीय हुन्छ। एउटा क्षेत्र मात्र ह्वात्त विकास हुँदैन। सबै क्षेत्रको क्रमिक र लगभग समान स्तरमा विकास हुन्छ। उदाहरणका लागि छिमेकी चीनले गरेको विकास अर्थतन्त्र र पूर्वाधारसँग मात्र सम्बन्धित छैन। त्यो त्यहाँको शिक्षा, स्वास्थ्य, नागरिक चेतना, कला र साहित्य सबैसँग सम्बन्धित छ। त्यसैगरी योरोप र अमेरिकाको हकमा पनि त्यही लागू हुन्छ। हर क्षेत्रमा विकासका स्तर लगभग समान हुन्छन्, जसको प्रत्यक्ष साइनो राजनीतिसँग गाँसिएको हुन्छ। त्यसकारण देशको सर्वांगीण विकाससँग कला र साहित्यको स्तर जोडिएको हुन्छ।

इतिहासको पाना पल्टाउने हो भने पनि पूर्व होस् या पश्चिम जहाँसुकै सभ्यता संवृद्ध भएका बेला अर्थात् समाजहरू तात्कालीन परिवेशमा विकसित रहेका बेला त्यहाँका कलात्मक सिर्जनाको स्तर उच्च भएको देखिन्छ। त्यो इन्डस उपत्यकाको सभ्यता होस् या इजिप्ट, ग्रिस या चिनियाँ सभ्यता किन नहोस्, त्यो भारतको गुप्त या मुगल अवधि होस् या नेपालको लिच्छवी र मल्लकाल किन नहोस्, ती कालखण्ड इतिहासको समयक्रममा तुलनात्मक रूपले उत्कृष्ट थिए भने ती अवधिमा सिर्जना भएका कला, साहित्य पनि उत्कृष्ट नै थिए। आज हामीले काठमाडौंमा गर्व गर्ने विश्वस्तरका कलात्मक धरोहरहरू अधिकांश लिच्छवी र मल्लकालका उपज हुन्। ती दुवै कालखण्डमा शासकहरूले या भनौं तत्कालीन राजनीतिले ती कलात्मक धरोहर सिर्जनमा ठूलो योगदान पुर्‍याएका थिए। ती अवधिमा अहिलेका जस्तो शिक्षा र कला अध्ययन गर्ने केन्द्रहरू धेरै थिएनन्, तर त्यतिबेलाका शासकहरूको कला सिर्जन, प्रवर्धन र संवर्धनमा प्रत्यक्ष चासो हुन्थ्यो।

अहिले समय फेरिएको छ। समाज र राजनीतिको चरित्र फेरिएको छ। कलाका रूपरङहरू फेरिएका छन्। उहिलेको कला सिर्जन प्रक्रिया र प्रेरणा र अहिलेको कला सिर्जन प्रक्रिया र प्रेरणामा धेरै अन्तर छ। अहिले आएर पनि पहिलेजस्तै विकसित सभ्यतामै किन उत्कृष्ट कला सिर्जन हुन्छ भन्नेबारे केही अध्ययन गर्दा र घोत्लिँदा म एउटा निष्कर्षमा पुगेको छु। पुराना सभ्यतामा विकासको अन्तर्यमा धर्म र परम्परा थियो। ती दुवै तत्कालीन प्रकृतिका राजनीतिसँग बलियोसँग बाँधिएका हुन्थे। अहिले विकासको अन्तर्यमा शिक्षा र राजनीति छ। मानव अधिकारको विशिष्ट बुझाइका कारण विकसित समाजमा धर्म र परम्परालाई व्यक्तिको चाहना र स्वतन्त्रतामा छोडिएको छ। अहिले समाजको विकास धर्म र संस्कृतिवरिपरि मात्रै घुमिरहेको छैन, त्यो मूलतः शिक्षा र राजनीतिमा गएर ठोक्किएको छ। जुन देशले शिक्षाको गुणस्तर सुधारेका छन्, ती देशको विकासको गति दिगो र तीव्र भएको छ। उदाहरणका लागि दक्षिण कोरिया र चीन भनौं या हाम्रै छिमेकी भुटान नै किन नहोस्, ती देशहरूमा शैक्षिक सुधार उदाहरणीय देखिएको छ र विकासको गति पनि तीव्र छ।

गुणस्तरीय शिक्षा, मानवता, नैतिकता, क्षमता, नेतृत्व, संस्कार र विकास सबै हो। दक्ष जनशक्ति नभई कुनै पनि देशले विकास गर्न सक्दैन र मैले माथि नै भनेजस्तो कलाको स्तर पनि देशको विकासको स्तरले निर्धारण गर्छ। त्यसैले अबको युगमा हामीले पाउने र दिने शिक्षाको गुणस्तरले हाम्रो कलात्मक चेत र सिर्जनलाई गम्भीर असर पार्दछ। कसैले भन्लान्, बालकृष्ण समले त खास औपचारिक शिक्षा नै पाएका थिएनन्, कसरी त्यस्तो उत्कृष्ट साहित्य लेखे ?  

     त्यसको जवाफ सरल छ। शिक्षा होस् या नहोस्, अपवाद सधैं अपवाद नै हुन्छन्, तिनबाट प्रेरणा लिन मिल्छ तर तिनलाई सामान्यीकरण (जेनरलाइज) गर्न मिल्दैन। मोजार्टले पाँच वर्षको उमेरमा संगीत सिर्जना गर्न थालिसकेका थिए। विश्वविख्यात नाटककार जर्ज बर्नाड शा १४ वर्षको उमेरपछि विद्यालय नै गएनन्। त्यसैले आमरूपमा चर्चा गर्दा असाधारणरूपमा प्रतिभाशाली अपवादहरूको उदाहरण दिन मिल्दैन।

म आफू आफ्नो समयको सबैभन्दा नराम्रो भन्न सकिने सरकारी विद्यालयहरूमा पढें, जहाँबाट एकदुईजना विद्यार्थीले एसएलसी पास गर्दा पनि ठूलो कुरा हुन्थ्यो। साधारण विद्यालयहरूमा पढेकाले जब म बेलायत पुगें, त्यहाँको विद्यालय शिक्षाबारे मेरो सधैं गहिरो चासो रह्यो। त्यहाँका सात–आठ वर्षका एकजना बालकको अभिव्यक्ति र सिर्जनात्मक क्षमता देख्दा म छक्क पर्थें। उनीहरूलाई त्योभन्दा पनि सानो उमेरदेखि कला, साहित्य, संगीतमा प्रेरित गरिन्छ। १२–१३ वर्षको उमेरदेखि सन्दर्भ सामग्री उल्लेख गर्दै विविध विषयमा मौलिक निबन्धहरू लेख्न लगाइन्छ। १२ कक्षा पास गरेर निस्कँदा तिनको आत्मविश्वास, अभिव्यक्ति र कैयन्का हकमा सिर्जनात्मक क्षमता यति विकास भइसकेको हुन्छ कि तिनलाई हाम्रोजस्तो तेस्रो विश्वबाट राम्रैसँग स्नातकोत्तर उत्तीर्ण गरेका अधिकांश विद्यार्थीसँग राखेर वादविवाद या मौलिक लेखन प्रतियोगित गराउने हो भने ती १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू नै सबै दृष्टिकोणबाट उत्कृष्ट ठहरिने छन्। र, मलाई लाग्छ ती देशका स्रष्टाहरूको साहित्य, संगीत, चित्रकलाजस्ता विविध विधामा पाइने उत्कृष्ट कलात्मक चेत र अभिव्यक्ति मूलरूपमा सानै उमेरमा विद्यालय शिक्षमा रोपिएको सिर्जनात्मकताको परिणाम हो। त्यसपछि उनीहरू हुर्किने परिवेशका अन्य कारक पनि जिम्मेवार हुन्छन् नै।

जतिबेलासम्म शिक्षाको गुणस्तरमा विकास हुँदैन, हाम्रो कला (साहित्य, संगीत, चित्रकला) को स्तर पनि यो देशको विकासको अन्य स्तरकै तहमा रहिरहनेछ। तर, दुःखको कुरा शिक्षाको स्तरलाई पूर्णतः राजनीतिले निर्देशित गर्दछ, जुन दशकौंदेखि इमान र क्षमता दुवै नभएकाहरूका हातमा छ। अफशोच, हाम्रो विद्यालय शिक्षाको हाल बेहाल छ। देशका लगभग ८० प्रतिशत विद्यार्थी सरकारी विद्यालय जान्छन्। देशभर कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या लगभग १५ लाख हुन्छ तर एसईई दिनेबेलामा त्यो संख्या लगभग साढे चार लाखमा झर्दछ। त्यति विद्यार्थीले एसईई दिँदा पनि करिब ७० प्रतिशतको नतिजा न्यूनस्तरको आउँछ। सिर्जनात्मकता, आत्मविश्वास, दक्षता, नैतिकता, नागरिक चेतना, अभिव्यक्ति क्षमता, भाषागत ज्ञान सबै न्यून भएको जनशक्ति उत्पादन गरेर न देशको विकास सम्भव छ न त विश्वस्तरको उत्कृष्ट कला सिर्जन नै। त्यसैले, भौतिक विकाससँग मात्र होइन, कलाको विकाससँग पनि राजनीतिको गहिरो सम्बन्ध छ र हामीले देशको राजनीति सुधार्न सकेनौं भने हाम्रो सिर्जन स्तर र दायरा सधैं संकुचित रहिरहनेछ।

—मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.