कुन बाटो आउँछ सुन ?, खाडीबाट सिरहा हुँदै भारतसम्म तस्करीको तरिका

कुन बाटो आउँछ सुन ?, खाडीबाट सिरहा हुँदै भारतसम्म तस्करीको तरिका

सिरहा : शनिबार सिरहामा पोने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जनालाई सशस्त्र प्रहरीले पक्राउ ग‍र्‍याे ।

तिमध्ये लहान नगरपालिका–१९ का मोहम्मद कैयुम र मोहम्मद अमिरुल अघिल्लो दिन मात्रै कतारबाट काठमाडौं आएका थिए । उनीहरुको साथबाट भेटिएको बिलमा हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल, हरीवंश मण्डल, मोहम्मद आसिफ, अमान्त हुसैन, समसुल मियाँ साथै पक्राउ पर्ने अमिरुल र कैयुमको पनि नाम छ ।

जसमध्ये आसिफको नाममा ५८३ ग्राम, समसुलको नाममा ५८३ ग्राम, अमान्तको नाममा २९१ ग्राम र बाँकी व्यक्तिका नाममा ५०÷५० ग्राम सुन खरिद गरेको बिलमा उल्लेख छ । तर बिलमा सुन खरिदकर्ताको नाम पक्राउ पर्ने अमिरुल र कैयुम बाहेक कसैको पनि मिल्दैन ।

६ जना पक्राउ परे पनि सुरुमा सशस्त्र प्रहरीले कैयुम, अमिरुल र रियाजलाई मात्रै सार्वजानिक गरेको थियो । जसमध्ये कैयुम र अमिरुल दुबैजना कतारबाट आएका थिए । उनीहरुले पत्रकार सम्मेलनमा आफूहरुको बिलसहित ५०÷५० ग्राम सुन मात्रै रहेको दाबी गरे । तर, उनीहरुले दिएको बिल केलाउँदा कतारबाट ती दुवैजना (अमिरुल, कैयुम) ले नै सुन बोकेर ल्याएको देखिन्छ ।

अमिरुल र कैयुम बिहीबार (जनवरी १० तारिख) कतारबाट हिँडेको, शुक्रबार (११ तारिख) काठमाडौं आएको र शनिबार (१२ तारिख) का दिन सिरहामा पक्राउ परेको बिलमा उल्लिखित मितिले प्रष्टयाउँछ । कैयुमसहित हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल, हरिवंश मण्डल, आसिफ, समसुलले जनवरी १० तारिखमा कतारमा सुन किनेका थिए । ७ जनाले एउटै मितिमा सुन किनेको देखिए पनि कैयुम मात्रै नेपाल आएर पक्राउ परेका छन् ।

सुन किन्ने पसलन पनि एउटै
जसमध्ये हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल र हरिवंश मण्डलले त एउटै पसल गल्फ ज्वेलर्सबाटै सुन खरिद गरेका थिए । चारैजनाको बिलको सिरियल नम्बर लगातार र मिति समेत एकै छ । पक्राउ परेका कैयुमले पनि त्यही मितिमा साइन इन्टरनेशनल गोल्ड एण्ड डाइमण्डबाट सुन खरिद गरेका छन् । आसिफले पनि उनीसँगै सुन किनेको देखिन्छ । आसिफ र कैयुमको बिलको सिरियल नम्बर लगातार हुनुका साथै पसल पनि एउटै छ ।

प्रहरी अनुसन्धान अनुसार आसिफले ५८३ ग्राम र कैयुमले ५० ग्राम सुन किनेको देखिन्छ । सोही पसलबाट सोही मितिमा समसुलले ५८३ ग्राम र एक दिनअघि अमानतले २९१ ग्राम सुन किनेको देखिन्छ । पक्राउ परेको अमिरुलले पनि सोही पसलबाट जनवरी ७ तारिखको ५० ग्राम सुन किनेका थिए ।

कैयुम र अमिरुललाई लहानबाट ‘रिसिभ’ गर्न काठमाडौं पुगेका थिए, सोही वडाका वडाध्यक्ष मोहम्मद हकिम, मोहम्मद रियाज, मोहम्मद रहमान र सप्तरी खडग नगरपालिका–३ का मोहम्मद अफरोज ।

बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियोमा सवार भई सुन लिएर काठमाडौंबाट लहानतर्फ आइरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले गोलबजार नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको घुर्मीपुलबाट पक्राउ गरेको हो ।

६ जनामाथि राजश्व अनुसन्धान कार्यालय इटहरीले राजश्व चुहावट मुद्दामा जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरि अनुसन्धान गर्दैछ । तर पनि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरेको छैन ।

तस्करी गर्ने नयाँ तरिका
विदेशबाट फर्किँदा गहना बनाएर प्रति व्यक्ति ५० ग्राम सुन ल्याउन पाउने कानुनी छिद्रको दुरुपयोग गर्दै सुन तस्करहरुले अधिकांश कामदारहरुलाई सुन बोक्ने ‘भरिया’को रुपमा प्रयोग गर्दै आएका हुन् ।

अनर्मा गाउँपालिकाका एक कामदार, जो कतारमा काम गर्छन, उनका अनुसार अहिले कोही पनि कामदार खाली हात जाँदैन । तस्करका दलालले पाँच हजार रुपैयाँ दिने शर्तमा ५० ग्राम सुन बराबरको ओठी वा बाला लगाएर पठाउँछन् ।

‘५ हजार नगद नलिनेहरुले सुन पठाउने मान्छेले भनेको होटलमा एक रात बस्न, खान निःशुल्क पाउने गरेको’ उनले सुनाए । उनी भन्छन्, ‘सुनको काम गर्ने मान्छेहरु विदेशमा कामदार खोज्न क्याम्प–क्याम्प पुग्छन् ।’ साथै तस्करका दलालले विमानस्थलमै पुगेर नेपाल फर्कने कामदारसँग चिनजान गर्ने र सुन बोकाएर पठाउने समेत गर्छन् ।

मुख्य बजार भारत
खाडी मुलुकबाट यहाँ भित्रिएको सुनको ठूलो परिमाण भरियामार्फत भारतीय बजारमा पुग्ने गरेको छ । स्थानीय बजारको तुलनामा भारतीय बजार पुर्‍याउँदा बढी फाइदा हुने भएकाले केही व्यक्तिले यही धन्दामा लागेको स्रोतले बतायो ।

भारतीय बजारमा सुन लैजान सेटिङ नमिल्दा मात्रै खाडीको सुनका लागि स्थानीय बजार खोजिन्छ । यहाँबाट भरियामार्फत सीधै सीमापार गराउने गरेको प्रहरी स्रोतको दाबी छ । वैदेशिक रोजगारका लागि गएका यस क्षेत्रका युवामार्फत यहाँका केही व्यक्तिले सुन मगाउने र भारतीय बजारमा पु¥याउने काम गर्दै आएका छन् ।

सुनको तस्करी फस्टाउनुमा भारतीय मुद्रा प्रमुख आकर्षण रहेको एक सुनचाँदी व्यवसायीले बताए । भारतीय सहरमा सुन बिक्री गर्दा भारतीय रुपैयाँ प्राप्त हुन्छ ।

भारतीय रुपैयाँ सटही गर्दा सयकडा तीनदेखि ६ रुपैयाँ कमिसन आउँछ । सुन बिक्री गरेर दाम कमाउनुभन्दा पनि भारुबाट पाइने कमिसनका कारण केही व्यक्तिहरु भारतीय सहरमा सुन बिक्री गर्न रुचाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.