विवेकशील साझाले पनि बनायो 'युवा संघ', के के गर्यो केन्द्रीय समितिले ?
काठमाडौं : विवेकशील साझा पार्टीको बैठकले फुटका बारेमा समीक्षा गरेको छ। पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीका पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाका रुपमा मूल्याङ्कन गरिएको जानकारी दिए।
बैठकले पार्टीका संयोजक रवीन्द्र मिश्रद्वारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। पार्टीमा आएको विभाजनले प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्याङ्कन बैठकले गरेको उनले जानकारी दिए।
पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्यौलता उत्पन्न भएकाले त्यसलाई चिर्न पार्टीका विभिन्न तहमा विविध कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ।
२०७६ फागुनमा पहिलो महाधिवेशन
बैठकले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ।
‘विवेकशील साझा युवा सङ्गठन’ र ‘विवेकशील साझा महिला सङ्गठन’ गठन गरी दुवै सङ्गठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरीका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।