अर्ब लगानीमा सय होटेल

अर्ब लगानीमा सय होटेल

धनकुटा : नागबेली सडक छिचोल्दै पुगिने धनकुटाको भेडेटारले पाहुनालाई जुनसुकै बेला चिसो हावाले स्वागत गर्न भ्याइहाल्छ। धरानसँग सीमा जोडिएको भेडेटार प्रदेश १ कै चर्चित पर्यटकीय स्थल हो। सहज यातायातको पहुँच भएकै कारण भेडेटार भौगोलिक हिसाबले पूर्वी तराइका बजारसँग नजिक छ। यहाँ पछिल्लो समय पर्यटकको आगमन दिनप्रतिदिन बढ्दो छ। पूर्वी क्षेत्र घुम्न आउने जोकोही आन्तरिक तथा बाह्य पर्यटक भेडेटार बजार आइपुग्छन्।

समुन्द्री सतहदेखि करिब एक हजार चार सय २६ सय मिटर उचाइमा अवस्थित भेडेटारबाट जुनसुकै मौसममा पनि पूर्वी तराई र सप्तकोशी नदीको फाँटसहित मकालु, कुम्भकर्णजस्ता सेताम्मे हिमाल आँखा अगाडि देखिन्छ। भेडेटारमा पर्यटकको आगमन बढ्दै जान थालेपछि स्तरीय होटेल खुल्ने क्रम बढ्दो छ। पर्यटकको आगमनले स–सानादेखि ठूला लगानीका होटेल प्रत्यक्ष लाभान्वित भएका छन्। यहाँका होटेल दैनिकजसो पर्यटकले भरिभराउ हुने गर्छन्।

भेडेटारमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गर्दै होटेल व्यवसायमा लगानी हुन थालेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। उनका अनुसार होटेल थपिने क्रमसँगै लगानी बढ्दो छ।

ठूला लगानीका स्तरीय ४० र मझौला तथा साना लगानीका ७० गरी एक सय १० भन्दा बढी होटेल सञ्चालनमा रहेको एसोसिएसनको तथ्यांक छ। जग्गाबाहेक यी होटेलमा झन्डै एक अर्बभन्दा बढी लगानी रहेको जानकारी अध्यक्ष राईले दिए। भेडेटारले दैनिक एक हजार पर्यटकलाई बास बसाउन सक्ने उनी बताउँछन्। राई स्वयंले थुम्की डाँडामा करिब डेढ करोड रुपैयाँको लगानीमा भेडेटार भिलेज रिसोर्ट हालै सञ्चालनमा ल्याएका छन्।

पछिलो समय भेडेटार बजारमा मात्रै नभएर आसपासका नाम्जे, थुम्की, ओख्रेबजार, सिम्सुवालगायत स्थानमा साना लगानीदेखि स्तरीय होटेल खुल्ने क्रम बढ्दो छ। पाख्रिवास मुगाका युवा व्यवसायी किरनकुमार राईले पनि विगत एक वर्षदेखि राजारानी जाने बाटोमा सवसारा रिसोर्ट सञ्चालनमा ल्याएका छन्। करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टको भौतिक संरचनामा मात्रै तीन करोडभन्दा बढी लगानी रहेको राईले बताए। ‘जग्गा खरिदमा मात्रै चार करोड लगानी गरेँ’, उनले भने, ‘रिसोर्टमा पार्किङ सुविधासहित एक सय ५० जना क्षमताको हल र सुविधायुक्त कोठा छन्।’ पर्यटकीय क्षेत्र भएका कारण र यहाँ आउने पाहुनालाई सुविधा होस् भन्ने उद्देश्यले नै होटेलमा लगानी गरिएको उनले बताए।

पहाडको टुप्पोमा अवस्थित भेडेटार घुम्न ७० प्रतिशतभन्दा बढी भारतीय आउने गर्छन्। ३० प्रतिशत आन्तरिक पर्यटकको आगमन रहने होटेल एसोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीको भनाइ छ। लावती आफैंले विगत डेढ दशक अघिदेखि करोडभन्दा बढी लगानीमा होटल लावती कर्नर सञ्चालन गरिरहेका छन्। उनका अनुसार भेडेटारसहित आसपासका नमस्ते झरना, थुम्की र नाम्जे गाउँमा होटेल थपिने क्रम बढ्दो छ।

ठूला लगानीका स्तरीय ४० र मझौला तथा साना लगानीका ७० गरी एक सय १० भन्दा बढी होटेल सञ्चालनमा रहेको एसोसिएसनको तथ्यांक छ। जग्गाबाहेक यी होटेलमा झन्डै एक अर्बभन्दा बढी लगानी छ।

विगत दुई दशकदेखि होटेल अरुणभ्याली सञ्चालन गरिहेका विष्णुराज श्रेष्ठले क्षणमै मौसम परिवर्तन भइरहने विशेषता रहेको भेडेटारलाई गुरुयोजना बनाएर व्यवस्थित गर्नुपर्ने बताए। एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठ आफैंले होटेलको स्तरोन्नति गरेर सेवा सुविधा थप गरेका छन्।

त्यस्तै १० वर्षअघि सानो लगानीमा सुरु भएको होटेल म्याजिस्ट्रिकमा अहिले तीन करोडभन्दा बढी लगानी भइसकेको सञ्चालक आशीष राईले बताए। उनका अनुसार पर्यटकको मागअनुसार सुविधा थप्दै जाँदा होटेलमा लगानी बढेको हो। पार्किङसहित साढे दुई रोपनी क्षेत्रमा रहेको सो होटलले दैनिक ६५ जना पाहुनालाई राख्न सक्छ।

स–साना होटेलको स्तरोन्नति हुँदै

पर्यटकीयस्थल भेडेटारमा स्तरीय होटेल खुल्ने क्रम मात्रै होइन स–साना होटेलको पनि धमाधम स्तरोन्नति भइरहेको छ। यस क्षेत्रमा घुम्न आउने पर्यटकको आगमन बढेसँगै साना लगानीमा सञ्चालित होटेलले पनि लगानी बढाउँदै लगेका हुन्। धनकुटा–२ भीरगाउँका राजु मगरले भेडेटार चोकमा १० वर्ष अघिदेखि होटेल व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका छन्। २०५४ सालमा होटेलमा काम गर्न निस्किएका उनले सुरुवाती दिनमा धरान र विराटनगरमा अरुको होटेलमा काम गरेर समय बिताए।

भेडेटारबाट राजारानी जाने बाटोमा रहेको उनको होटेलमा दैनिकजसो ग्राहकको भीड लाग्ने गर्छ। उनको होटेलमा विशेष गरी स्थानीय परिकार पाइन्छ। ‘ठूला गेस्ट सुविधायुक्त होटलमा जान्छन्’, उनले भने, ‘मेरोमा निम्नस्तरका गेस्टहरू आउने गर्छन्।’

एक दशकको अवधिमा भेडेटारमा धेरै नै चहलपहल बढेको उनको बुझाइ छ। उनी भन्छन्, ‘पहिले पर्यटक घुम्न मात्रै भेडेटार आउँथे। तर, अहिले केही दिन बास बस्नेगरी आउन थालेका छन्।’ मगरजस्तै साना लगानीमा सञ्चालित होटेलमा पनि पर्यटकको भीड लाग्ने गरेको छ।

दक्ष जनशक्तिको अभाव

भेडेटारमा सञ्चालित होटेलमा जनशक्तिको अभाव छ। सानादेखि ठूला लगानीका होटेललाई कम्तीमा पाँचदेखि १० जना कामदार आवश्यकता पर्छ। तर पर्याप्त कामदार नहुँदा आफैं पनि खट्नु परेको होटेल व्यवसायी बताउँछन्।

कामदार पाइहाले पनि दक्ष जनशक्तिको अभाव हुन्छ। ‘होटेलमा काम सिकायो। केही महिना काम गरेर विदेश हिडिहाल्छन्’, एसोसिएसन अध्यक्ष राईले भने, ‘कामको स्तरअनुसार सेवासुविधा उपलब्ध गराए पनि दिगो रूपमा रहने गरी कामदार पाउन सकिएको छैन। अहिले भेडेटारका होटेलमा पाँच सय कामदार कार्यरत छन्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.