आज थाइल्यान्डसँग खेल्दै नेपाल
काठमाडौं : थाइल्यान्डमा जारी उमन्स टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगिताअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार आयोजक थाइल्यान्डको ए टोलीसँग प्रतिस्पर्धा गर्दै छ। बुधबार बिहानै सुरु हुने खेल थाइल्यान्डको टर्डथाई क्रिकेट मैदानमा हुनेछ।
यो खेलबाट समूह एको विजेता टोलीको टुंगो लाग्नेछ। समूह एबाट नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। समूह विजेता र उपविजेता टोलीको मात्रै टुंगो लाग्न बाँकी रहेकाले बुधबार थाइल्यान्डको ए टोलीसँग प्रतिस्पर्धा गर्दा नेपालको उद्देश्य समूह विजेता बन्ने नै हुनेछ।
नेपालले प्रतियोगितामा खेलेको सुरुआती तीनमध्ये सबै खेलमा जित हात पारेको छ। त्यसको तुलनामा थाइल्यान्डको ए टोलीले तीनमध्ये एक खेलमा मात्रै जित हात पारेको छ। त्यसैले बुधबारको खेलमा नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पनि जित हात पार्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा आयोजक थाइल्यान्डले दुई टोली बनाएकाले ए टोली केही कमजोर देखिएको छ। समूह बीमा रहेको थाइल्यान्डको अर्काे टोलीले तीनमध्ये तीनै खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। बुधबार थाइल्यान्डको ए टोलीलाई पराजित गरेको अवस्थामा सेमिफाइनलमा नेपालसामु समूह बीको तुलनात्मक कमजोर टोलीसँग प्रतिस्पर्धा गर्न पाउने अवसर हुनेछ।