महोत्तरीमा रातु खोला दोहन, सरोकारवाला बेखबर

महोत्तरीमा रातु खोला दोहन, सरोकारवाला बेखबर

महोत्तरी : महोत्तरी बर्दिबासकाे रातु खोलाको बहाव क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। बर्दिबास नगरपालिको वडा नम्बर— ७ को किसाननगर र वडा नम्बर—९ को सीमाना रातु खोलाबाट ठेक्केदारले सम्झौता विपरित खोला उत्खनन गरिरहेका छन्।

ठेकेदारले जनप्रतिनिधिलाई प्रभावमा पारेर ठूला यन्त्र एक्साभेटर, लोडर प्रयोग गरेर खोला दोहन गरिरहेका छन्।  नगरपालिकाले कर उठाउने भन्दै ठेकेदारलाई ठेक्का दिएर कानमा तेल हालेर सुतेको स्थानीयबासी बताउँछन्। छड्के अनुगमन नहुँदा ठकेदारले रातारात एकलौटी रुपमा खोला दोहन गरिरहेका छन्।

नदीको दुवै किनारबाट ५०—५० मिटर छोडेर खोलाको बीच भागमा मात्र तीन फिट गहिरो खनेर निर्माण समाग्री झिक्ने सम्झौतामा भएको थियो।  नदीजन्य पदार्थ निकाल्न ठूला यन्त्रलाई स्थानीय सरकारले निषेध गरेको छ। तर रातु खोला उत्खननको ठेकेदारले सम्झौता विपरित ठूला यन्त्र खोलामा पसाएर  ६ फिट गहिरो खाल्टो खनी नदीजन्य पदार्थ झिकिरहेका पाइएको छ। पहिले जिल्ला विकास समितिले रातु नदीमा ठेक्का लगाउथ्यो। चालु आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा बर्दिबास नगरपालिका मातहतमा आएको छ। 

गत पौष २४ गते बर्दिबास नगरपालिकाले व्याहुत निर्माण सेवा प्रा.लि. जलेश्वरलाई खोलाको ठेक्का दिएको थियो। डेढ करोडमा ठेक्का हात पारेको उसले सम्झौता विपरित ठूलो यन्त्रको प्रयोग गरेर खोला खनिरहेको छ। 

नगरपालिकाको किसाननगर दक्षिण सीमादेखि पशुपतिनगरको अन्तिम सीमानाको खोला खन्न ठेकेदारले  जिम्मा पाएको हो। उसलाई १ हजार ६ सय ५० मिटर क्षेत्र भित्रको रातु नदीबाट ८१ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न नगरपालिकाले अधिकार दिएको छ। एक सातादेखि ठेकेदारले क्रसर संचालकलाई नदीजन्य पदार्थ बेचिरहेका छन्। खोलामा ढाट राखेर अवैध रुपमा दर्जनौं ठूला यन्त्र प्रयोग गर्दै टिपरबाट नदीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको छ। 

सम्झौता विपरित खोला खन्दा पनि अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति महोत्तरी, अनुगमन समितका सदस्य, जिल्ला प्रशासन, जिल्ला प्रहरी भने यसबारे बेखबर छन्। अनुगमन समितिले अवैध रुपमा रातु खोला खनिरहेका ठेकेदारलाई न चेतावनी दिएका छन् न  त ठेकेदारलाई कारवाही नै गरेका छन्। 

कानुन अनुसार ठेक्का : मेयर

ठेक्का बन्दोबस्त गर्नुअघि आईई (वातावरण परीक्षण मूल्याङ्कन) गरेर प्रचलित ऐन, कानुन अनुसार खोला ठेक्का लगाएको मेयर विदुरकुमार कार्कीले दावी गरेका छन्। उनले खोलाको अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुरेश सिंहको रहेको बताए। यता ठेकेदारले नगरपालिकासँग गरेको सम्झौता लत्याउँदै रातारात खोला खन्ने धन्दा चलाइरहेका छन्  । 

ठूला यन्त्र प्रयोग गरेर वातावरणमा गम्भीर असर पार्ने गरी नदी उत्खनन भइरहँदा पनि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय बताउँछन्। चुरेको भावर क्षेत्रमा पर्ने रातु नदीको वैध ठेक्काको कागज देखाएर ठेकेदारले अवैध रुपमा नदीको चरम दोहाेन गरिरहेका छन्।  


उत्खननले किसान कंगाल

दशक अघिदेखि हुँदै आएको नदीको दोहन यथावत छ। ठेक्केदारको कमाउ धन्दामा सरोकारवाला प्रभावित बन्दा रातु खोलामा जथाभावी नदी दोहान हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहनले वर्षैपिच्छे खोलाले बहाव फेर्दै आएको छ। खोलाले बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हात्तिसर्वाका हजारौं किसानको सयौं विघा जग्गा कटान गरेर बगर बनाइदिएको छ। खेतीयोग्य जमिन खोलाले निलेपछी किसानहरु विदेशिएको बताउँदै स्थानीय बासिन्दा अनिलकुमार भन्छन्, ‘खोलाले खेत बगाएपछि कमाउन विदेश जानु परेको छ। विदेशको कमाइले अन्न किनेर खान बाध्य छौँ।’  

ठेकेदारसँग प्रहरी —प्रशासन र स्थानीय तहको मिलोमतोमा अवैध उत्खनन हुने कामले निरन्तरता पाइरहेको स्थानीय बताउँछन्। पशुपतिनगर–९ का स्थानीय रामजतन महतोले पहिला स्थानीय सरकारले रातु नदीका दुवै किनारमा तटबन्धको व्यवस्था मिलाएर मात्र रातु खोलाबाट उत्खनन गर्ने अनुमति दिनुपर्ने माग गरेका छन्। ‘खोलामा तट्बन्ध नलगाने तर, उल्टै ठेकेदारलाई अवैध रुपमा खोला खन्न दिने ? यो कुरा हामी कुनै पनि हालतमा मान्दैनौं, ’उनले भने। स्थानीय चुनावका बेला बर्दिबास नगपालिकामा चुनाव जितेका मेयर विदुर कार्कीले रातु खोलामा भइरहेको उत्खननलाई रोक्ने भन्दै आफ्नो चुनावी नारा बनाएका थिए।

नीतिगत रूपमै अघि बढ्न पोहोर साल मंसिरमा पहिलो कार्यपालिकाको बैठकबाट रातु खोलाको साथै चुरे दोहनलाई रोकेर पर्यावरण संरक्षण गर्ने पहिलो निर्णय लिएका थिए। तर अहिले आएर उनै मेयरले खोलाको बहावलाई व्यवस्थित बनाउने भन्दै उत्खनन गर्ने दिने निर्णय गरेका छन्। मेयरले उत्खनन रोक्नुको साटो ठेक्का लगाएर ठेकेदारलाई नदी दोहन गर्न प्रसय दिएका स्थानीयहरु बताउँछन्। 

खोला दोहोन कमाई खाने भाँडो

बोलबालाहरुले रातु खोलालाई कमाई खाने भाँडो बनाएको बिजलपुराका स्थानीय सन्तोष महतोले बताए। ‘खोलाको अवैध दोहनले धनी झन— झन धनी हुँदै गयो। गरिब त मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्।’  
बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले  कानुन अनुसारै रातु खोला ठेक्का लगाएको बताए, ‘खोलाको दुवै किनारबाट ५०—५० मिटर छोडेर खोलाको बीचबाट तीन फिट गहिरो गरी मात्रै नदीजन्य पदार्थ निकाल्न ठेकेदारलाई दिएका छौं।’ 

‘अरु कसैले रातु खोलाको उत्खनन रोकेका छन् भने कसैको नाम दिनुस्। मै यस्तो मान्छे हो जसले रातु खोलाको अवैध उत्खनन रोक्नपर्छ भनेर लागेका छु,’ आफ्नो कामको बारेमा बताउँदै मेयर कार्कीले भने, ‘खोलाको अनुगमन गर्ने अधिकार हामीलाई छैन। त्यो काम जिल्ला समन्वय समितिको हो।’ खोला अनुगमन गर्न धेरै पटक पत्रचार गर्दा पनि अनुगमन हुन नसकेको उनले दावी गरे।

 तुरुन्त उत्खन्न रोक्छौं : अध्यक्ष सिंह

खोलाको अनुगमन गर्ने अधिकार पाएका जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुरेश सिंहले ठूलो यन्त्र लगाएर खोला खन्ने अधिकार कसैलाई कानुनले नदिएको बताए। ‘पहिलो बैठकबाटै महोत्तरीका १५ वटै स्थानीय तहलाई नदीको आईई प्रतिवेदन र खोलाको ठेक्का लगाएको प्रक्रियाका कागजात लिखित रुपमा पठाउन भनें,’ अध्यक्ष सिंहले भने, ‘दुर्भाग्य भन्नुपर्छ, अहिलेसम्म कुनै नगरपालिका वा गाउँपालिकाले कुनै कागजपत्र पठाएको छैन।’ 

बर्दिबासका मेयरले मौखिक रुपमा बीस दिनअघि खोलाको अनुगन गर्न जानकारी दिए पनि खोलाको आईई र कागजपत्र नपाएको उनले सुनाए। ‘तुरुन्त अर्को बैठक बोलाउन जिल्ला समन्वय समितिका समन्वय अधिकारीलाई भनेकाे छु। उहाँले बैठक बोलाउन वातावरण मिलाइरहनु भएको छ।’ बैठक बसेर खोला उत्खननको अनुगमन गर्ने उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.