हारे पनि क्वार्टरफाइनलमा पुग्यो रियल म्याड्रिड
म्याड्रिड : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। बिहीबार बिहान खेलिएको अन्तिम १६ टोलीबीचको भिडन्तको दोस्रो लेग खेलमा लेगानेससँग १-० गोलले पराजित भए पनि रियल क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।
अघिल्लो साता खेलिएको पहिलो लेग खेलमा निकालेको नतिजाका आधारमा रियलको क्वार्टरफाइनल यात्रा सम्भव भएको हो। पहिलो लेग खेलमा रियलले लेगानेसलाई ३-० गोलले हराएको थियो। सोही नतिजाका कारण रियल ३-१ कूल गोल भिन्नताका आधारमा अगाडि बढेको हो।
बिहीबार बिहान खेलिएको खेलमा लेगानेसका लागि मार्टिन ब्राथवेटले ३३औं मिनेटमा निर्णायक गोल गरेका थिए। खेल अवधिभर लेगानेसले बलियो प्रतिद्वन्द्वी रियललाई दबाबमा राखेको थियो।
यसैगरी बलियो टोली एट्लेटिको म्याड्रिड भने उपाधि होडबाट बाहिरिएको छ। घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिको म्याड्रिडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनाले ३-३ गोलको बराबरीमा रोक्यो। अघिल्लो सात गिरोनाको मैदानमा खेलिएको पहिलो लेग खेल पनि १-१ को बराबरीमा सकिएकाले यी दुबै टोलीबीचको कूल गोल भिन्नतामा ४-४ भएको थियो। त्यसपछि अवे गोलका आधारमा एट्लेटिकोलाई स्तब्धः पार्दै गिरोना क्वार्टरफाइनलमा पुग्न सफल भयो।
सेभिल भने प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो। घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओसँग १-० गोलले पराजित भए पनि अघिल्लो साता खेलिएको पहिलो लेग खेलको नतिजाका आधारमा सेभिल अगाडि बढेको हो।
पहिलो लेग खेलमा सेभिल ३-१ गोलले विजयी भएको थियो। सोही नतिजाका आधारमा सेभिल ३-२ कूल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।