‘वाइडबडीमा हामी निर्दाेष’
काठमाडौं : सरकारले बाइडवडी अनियमितताको छानबिनलाई विषयान्तर गर्न खोजेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकमा पुस ११ र असोज २१ मा बसेको केन्द्रीय समिति बैठकमा वाइडबडी छानबिनको माग उठाएको उनले बताए। साथै कांग्रेस छानबिन समितिको मागमा अडिग रहेको उनको भनाइ छ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला वाइडबडीका कतिपय निर्णय भएको भन्दै उनको संलग्नताबारे प्रश्न उठेपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर यस विषयमा धारणा सार्वजनिक गरेको हो। नेकपाका अध्यक्षसमेत रहेका केपी ओली यसअघि ०७२ असोज २५ मा प्रधानमन्त्री बनेपछि २९ असोजदेखि नै वाइडबडीको खरिद प्रक्रियाका महत्वपूर्ण काम सुरु भएको कांग्रेसको भनाइ छ। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री बन्दा थप अघि बढेको र कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको चौथो दिन नेपाल वायुसेवा निगमले मुद्रा सटहीको निर्णय गरेको भन्दै त्यसको समेत छानबिन गर्न कांग्रेसको माग छ।
‘वाइडबडीका विषयमा हाम्रो सभापति प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट कुनै निर्णय भएको छैन, उहाँ प्रधानमन्त्री बनेको चैथौ दिनमै किन सचिवहरूले हतारहतार मुद्रा सटही गर्ने निर्णय गर्नुभयो’, प्रवक्ता शर्माले भने, ‘त्यसको छानबिन गर्नुपर्छ।’
ससंद्को सार्वजनिक लेखासमितिको अनुसन्धानमा आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ। ‘सार्वजनिक खरिद ऐनको उल्लंघन, बिचौलिया कम्पनीसँगको कारोबार, खरिद या भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेखभन्दा कम क्षमताको जहाज आयात तथा अर्बौं कमिसनको चलखेलको प्रश्न सतहमा आएपछि यसको सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट सार्वजनिक गरिनुपर्ने हाम्रो मान्यता छ’, कांग्रेसको वक्तव्यमा भनिएको छ, ‘कुनै पनि ढंगको राजनीतिक आग्रह, प्रभाव र दबाबबाट मुक्त रहेर तथ्यहरूको जगमा सत्यको खोजी गर्न हामी सबैलाई आग्रह गछौं।’ वाइडबडी खरिद अनियमितताका दोषीमाथि कारबाहीका लागि दबाब जारी राख्ने पनि कांग्रेसले बताएको छ।
केसीका माग पूरा गर
चिकित्सा शिक्षा सुधारको मागसहित आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेसले देउवा प्रधानमन्त्री हुँदा केसीका मागअनुसार शिक्षा विधेयक ल्याएर समस्या सुल्झाए पनि ओली नेतृत्वको सरकारले त्यसलाई उल्टाएर पुनः विवाद निम्त्याएको आरोप लगाएको छ।
माघ १० सम्म नेविसंघको यही नेतृत्व
माघ १० सम्मका लागि नेपाल विद्यार्थी संघको यही नेतृत्वले काम गर्ने कांग्रेसले बताएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी विज्ञप्तिमा पार्टीको केन्द्रीय समिति बैठक १० गते बस्ने भएकाले त्यति बेलासम्म यही नेतृत्वलाई निरन्तरता दिइने कांग्रेसको भनाइ छ।