सभामुख कप भलिबल : सुदूरपश्चिम र कर्णाली बाहिरियो
पोखरा : पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेश बाहिरिएका छन्। दुई/दुई खेल खेलेका सुदूरपश्चिम र कर्णालीले दुवै खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएका हुन्। पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको खेलमा सुदूरपश्चिमाञ्चल प्रदेश १ सँग पराजित भयो। प्रदेश १ ले सुदूरपश्चिमाञ्चललाई संघर्षपूर्ण खेलमा २५–१३, १५–२५, १६–२५, २५–२२, १५–११ ले पराजित गर्यो।
यसैगरी कर्णाली प्रदेश र प्रदेश २ बीच भएको अर्को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई पराजित गर्यो। प्रदेश २ ले कर्णाली प्रदेशलाई २५–२३, १०–२५, २५–१०, २५–१६ ले हरायो। जितसँगै प्रदेश २ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
यसैगरी साविक विजेता एपीएफले सुदूरपश्चिमलाई ३–० को सोझो सेटमा पराजित गर्यो। एपीएफले २५–४, २५–७, २५–३ ले सुदूरपश्चिमलाई पाखा लगायो। यसैगरी प्रदेश ५ र कर्णाली प्रदेशबीच भएको खेलमा कर्णाली प्रदेश पराजित भयो। प्रदेश ५ ले कर्णाली प्रदेशलाई २५–१५, २५–११, २५–१० ले हरायो।
प्रतियोगिताका विजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी उपविजेताले एक लाख ७५ हजार, तेस्रो हुनेले एक लाख र चौथो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।