समुदायको लगानीमा बिजुली

समुदायको लगानीमा बिजुली

बागलुङ : ताराखोला गाउँपालिकामा निर्माणाधीन सामुदायिक जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। १ हजार ६ सय ७९ परिवारले रकम संकलन गरी बनाइएको आयोजनाबाट फागुन मसान्तभित्र बिजुली निकालिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।

सूर्यहाइहेक निर्माण सेवाले बनाएको यो आयोजनामा पावर हाउसको छाना छाउने काम र उपकरण जडानको काम भइरहेको छ। ताराखोलास्थित धसमरेमा निर्मित विद्युत् गृहदेखि गाउँगाउँमा विद्युतीकरणका लागि पोल गाड्ने काम पनि भएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९ करोड १२ लाख अनुदानसहित २० करोड रुपैयाँको लागतमा आयोजना बन्दै छ। आयोजनाबाट गाउँपालिकाका सबै घरमा विद्युत् सेवा पुग्ने छ। ३ सय ८० किलोवाट क्षमताको आयोजनामा गाउँपालिकाका सबैले लगानी गरेका छन्। ‘गाउँपालिकामा आफ्नै मेहेनतले बत्ती बाल्न एक दशकदेखि प्रयत्न जारी छ, अब उत्पादनको अन्तिम अवस्थामा आएको छ’, ताराखोला सामुदायिक जलविद्युत् लिमिटेडका अध्यक्ष धनबहादुर विकले भने, ‘राज्यको अपेक्षित सेवा पाउन नसकेका हामीले हाम्रो उत्पादन राज्यलाई बेच्ने लक्ष्य बनाएका छौं।’

स्थानीय जनताले लगानी गरेर गाउँपालिका सिंगो उज्यालो हुने देशकै नमुना गाउँपालिका बन्ने उनले दाबीसमेत गरे। सुुरुमा सामुदायिक जलविद्युत् लगानीको अवधारणामा आयोजना अघि बढाइए पनि उल्लेख्य प्रगति र उपलब्धि हुन नसकेपछि कम्पनी मोडेलमा लगेर काम अघि बढाइएको छ।

प्रसारण लाइन विस्तारका लागि गाउँपालिकाले पनि सहयोग गरेको छ। अनुदान र उठाइएको रकमले नपुगेपछि सीवाईसी सहकारीबाट तथा पहाडी हाइड्रो पावरबाट १÷१ करोड ऋण खोजेर काम सम्पन्न गर्न लागेको विकले बताए। पहिले सबै घरमा विद्युत् बालेपछि सरकारसँग विद्युत् खरिद सम्झौता गर्ने गरिने तयारी छ। गलकोटस्थित हरिचौरमा निर्माण हुने सब स्टेसनमा विद्युत्को प्रसारण लाइन जोड्ने गरी खरिद सम्झौता हुने उनले बताए।

लघु जलविद्युत्मार्फत ताराखोलाका केही गाउँमा बिजुली बालिएको छ। राष्ट्रिय प्रसारण लाइन भने यहाँ छैन। अहिले ताराखोला गाउँपालिकाको वडा नम्बर ३ को काक्राखोर, ४ को असमुखी र नागबेली बस्ती जलविद्युत्को पहुँचबाट वञ्चित छ। यसका साथै भौगोलिक दूरीका हिसाबले बस्तीबाट टाढा रहेका केही घर पनि विद्युत्विहीन अवस्थामा छन्। आयोजनाबाट यहाँका २ हजार २ सय घरमै यो विद्युत्ले उज्यालो बनाउनेछ। ताराखोला गाउँपालिकामा सम्भावित अन्य आयोजनाको उत्पादन जोड्नका लागि हरिचौरमा सबस्टेसन निर्माण भएको छ। यहाँ केही आयोजना निर्माणाधीन छन्।

लघु विद्युत्बाटै यहाँ कुटानी पिसानी मिलसमेत सञ्चालनमा छन्। निर्माणाधीन विद्युत् उत्पादन भएपछि सबै विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गराउने लक्ष राखिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए। ‘केही प्राविधिक समस्या र भौगोलिक विकटका कारण डिजाइन परिवर्तन गर्दा तोकिएको समयमा बनाउन सकिएको थिएन’, आयोजनाका इन्जिनियर दिलबहादुर थापाले भने, ‘अब भने निर्माणको धेरै शंका आशंका र द्विविधा हामीले कामबाटै निवारण गरेका छौ‌ं, सबै उत्साहित छन्।’ यसअघि १६ करोड लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो। विद्युत् उत्पादन हुनासाथ ताराखोला गाउँपालिकामा मझौला तथा साना उद्योग सञ्चालनका लागि धेरै युवाले तयारीसमेत गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.