व्यावसायी चन्द्र ढकालको स्पष्टिकरण : स्वीस बैंकमा हाम्रो खातै छैन
काठमाडौं : आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू र आफ्नो परिवारको नाम जोडेकोमा आपत्ति जनाएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष ढकालले कुनै पनि स्वीस बैंकमा आफूहरुको नाममा खाता समेत नरहेको स्पष्टिकरण दिएका छन् ।
‘कुनै पनि स्वीस बैंकमा हाम्रो नाममा खाता छैन, कुनै पनि ट्याक्स हेभन मुलुकमा हाम्रो कम्पनी दर्ता पनि छैन,’ ढकालले भने, ‘हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी पनि ल्याएका छैनौँ ।’
नेपालको पहिलो निजी स्तरको रेमिट्यान्स कम्पनी आईएमईका मालिक ढकालले राष्ट्र बैंकको स्वीकृति लिएरै विदेशबाट बैंकिङ च्यानल मार्फत रेमिट्यान्स भित्र्याएको दावी पनि गरे ।
‘मलेसिया र बेलायतमा रहेका हाम्रा कम्पनीमा नेपालबाट लगानी लगेका हैनौँ,’ ढकालले भने, ‘बेलायतको हाम्रो कम्पनी एक पाउण्डको हो । हामीले ती देशमा त्यहीँ रहेका नेपालीसँगको सहकार्यमा लगानी गरेका हौँ । यहाँबाट पैसा लगेका छैनौँ ।’
हेर्नुस् विज्ञप्ति