जय पृथ्वीबहादुर सिंह किन पुगे तारुका ?
गोरु जुधाईमाथि दुईखालका किम्बदन्ती भेटिन्छन्। पहिलो किम्बदन्ती भन्छ,'बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह मावली घर आएका बेला उनलाई खुसी पार्न नुवाकोटस्थित तारुका बासीले देखाएको गोरु जुधाई नै अहिलेको गोरु जुधाईको पहिलो दृष्य हो।'
दोस्रो किम्बदन्ती भन्छ,'श्री ३ चन्द्र शमशेरकी छोरी धनसाई मैया (खगेश्वरी लक्ष्मी देवी) लाई जय पृथ्वीबहादुर सिंहले विवाह गरेपछि उनलाई दाइजोको रुपमा नुवाकोटस्थित तारुकाको जमिन दिइयो, त्यो जमिनमा बनाइएको कोटघरमा बस्न राजा सिंह आउँदा स्थानीयले उनलाई स्वागत गर्न आफ्ना गोरु जुधाए, पछि यसलाई नै परम्परागत संस्कृतिको रुपमा लिइयो।'
दुईखाले किम्बदन्तीले आ-आफ्नै कुरा भनेका छन्। तर, दुबै किम्बदन्तीले तारुका र जयपृथ्वीबहादुर सिंहलाई छुटाउँदैनन्। यसको अर्थ राजा सिंहलाई देखाउन गोरु जुधाईको परम्परा तारुकाबाटै सुरु भएको मान्न सकिन्छ। अहिले माघे संक्रन्तिका दिन देशका विभिन्न स्थानमा गोरु जुधाउने प्रतियोगिता हुने गरेको छ।
तारुकामा धेरै वर्ष पहिले एउटा कोटघर रहेको र अहिले त्यसको अस्तित्व समेत नरहेको स्थानीय जानकार बताउँछन्। गोरु जुधाईसँग लामो समयसम्म जोडिएका स्थानीय जनक ढुंगाना दोस्रो किम्बदन्तीमा विश्वास गर्छन्।
'मेरो बुवाले मलाई सुनाए अनुसार तारुकाको माथिल्लो भागमा जय पृथ्वीबहादुर सिंहको दरबार थियो जसलाई पछि कोटघर भनिथ्यो' उनी भन्छन्,'मैले सानो छँदा त्यो कोटघरको अवशेष मात्र देख्न पाएँको थिए, त्यसलाई कोही पनि संरक्षण गर्नतिर लागेन।'
दुईपटक प्रधानपञ्च भइसकेका झमबहादुर प्रधान(८३) तारुकाको विर्ता आफूले जमिन स्थानीयको नाममा गराएको बताउँछन्। 'प्रधानमञ्च हुँदा म आफैले मुद्दा लडेर त्यो जमिन स्थानीय बासिन्दाको नाममा गराएको हुँ', उनी भन्छन्,'मानिसहरूले तारुकालाई जय पृथ्वीबहादुरको मावली घर भन्ने गरेका छन्, यो गलत हो।'
चन्द्र शमशेरले ज्वाई जय पृथ्वीबहादुरलाई दाइजो दिएको जमिन तारुका भएको पूर्वप्रधानपञ्च झमबहादुर बताउछन्। जय पृथ्वीबहादुरलाई विर्ता सम्हाल्न उनी यस ठाउँमा आएका बेला स्थानीयले गोरु जुधाएर मनोरञ्जन गराएको उनको दावी छ।
तारुकाको बदलिँदो दृष्य
भिरालो जमिन। पुर्व र दक्षिणतर्फ मोहडा फर्किएको सुन्दर बस्ती। सदरमुकाम विदुरदेखि ३० किलोमिटर दक्षिणमा रहेको तारुका ब्राम्हण, क्षेत्री, नेवार, मगर, दलित आदि समुदायको बासस्थान हो। यो गाउँमा वर्षको एक सिजन मात्र अन्न-बाली उब्जनी हुन्छ।
गाउँका धेरै युवा वैदेशिक रोजगारीका लागि बाहिर हुन्छन्। विदेशिएका युवाहरू वर्षको एक पटक मात्र बिदा मिलाएर घर फर्कन खोज्छन् त्यो दिन हो माघे संक्रान्ति। तारुका पहिले भारतको मुम्बई तथा दिल्लीका लाहुरेको गाउँ नै भनेर चिनिन्थ्यो। अहिले यसले गोरु जुधाउने ऐतिहासिक गाउँको रुपमा आफ्नो परिचय पाएको छ।
०६२ सालअघि यस गाउँको विभिन्न स्थानमा गोरु जुधाई हुन्थ्यो। पछि स्थानीय बासिन्दाले यसलाई एकीकृत गरेर चाँदनीमा ल्याए। अहिले झमबहादुरको बारीको पाटामा गोरु जुधाई हुने गरेको छ।
१९९२ सालमा झमबहादुर चार वर्षका थिए। त्यही साल हो गोरु जुधाई हेरेर उनको दिमाग पहिलो पटक रोमाञ्चक भएको। बारिको पाटामा बसेर पहिलो पटक गोरु जुधाई हेरेको उनलाई अझैं याद छ।
समयसँगै झमबहादुरको उमेर बढ्यो। १२ वर्षको उमेरमा उनले पहिलो पटक आफ्नो गोरु मैदानमा उतारे। जब आफ्नो गोरुले पहिलो नै पल्ट जित हाँसिल गर्यो, उनका आँशु रोकिएनन्। संसार जिते जस्तै लाग्यो। पुरस्कारमा उनले पाए आत्मसन्तुष्टी मात्र। त्यो समय जित्ने गोरुलाई पुरस्कार दिने चलन थिएन।
'पञ्चायतमा म दुई पटक यहाँको प्रधानपञ्च भएँ, प्रधानपञ्च भएका बेला गोरु जुधाउने समय भएन, यस पटक नातिहरूले रहर गरेर आफ्नो गोरु ल्याएका छन्' झमबहादुर मैदानतिर हेरेर मुस्कुराउँदै भन्छन्,'अब त हाम्रा समय गए।'
१० वर्षको हुँदा सितबहादुर अधिकारी(८९)ले पहिलो पटक आफ्नो गोरु मैदानमा उतारेका थिए। तर, त्यसबेला आफ्नो गोरुले जित्यो कि हार्योए उनलाई याद छैन। 'त्यो बेला हामी रमाइलोका लागि गोरु जुधाउँथ्यौं, अहिले त रमाइलो भन्दा बढी कसको गोरु जित्छ कसरो गोरुले हार्छ भन्ने कुरामा सबैको ध्यान हुन्छ' सितबहादुर भन्छन्।
मैदानको किनारातिर कुर्सी बसिरहेका सितबहादुरको अनुहार रोमाञ्चकताले भरिएको छ। 'गोरु जुधाई हेर्दा पुरानो याद आउँछ, मसँग गोरु जुधाउने धेरै मरिसके बाँचिरहेका यहाँसम्म आउनै सक्दैनन्' उनी मुस्कुराउन खोज्दै भन्छन्।
गोरु जुधाईको रोमाञ्चकता
मुल्यांकन समितिले विशिष्ट श्रेणी निर्धारण गरेर विष्णु प्रधानको माले र रेशमलाल श्रेष्ठको कथुरे गोरु जुधायो। सबैभन्दा धेरै ४६ मिनेट जुधेपछि मुल्यांकन समितिले दुबैलाई छुट्ट्याउनु पर्यो।
सबैभन्दा पहिले जुधाइएका तारुकाकै प्रमोद प्रधान र नवीन श्रेष्ठको गोरु पनि लगातार ३१ मिनेट जुधेपछि छुट्ट्याउनु पर्यो। स्थानीय श्याम मजकोटीको गोरुलाई सुजन न्यौपानेको गोरुले धुलो चटायो। गोरु जुधाई यस्ता दृष्य खुबै रोमाञ्चक देखिन्छन्।
किसानहरुले जुधाउनकै लागि भनेर गोरुमाथि ३० हजारसम्म लगानी गर्छन्। यदि गोरु विजेता बन्यो भने जम्मा ५-७ हजार मात्र पुरस्कार पाउँछन्। पुरस्कारका लागि आफ्नो पैसा खर्च गरेर गोरु तयार नपार्ने उनीहरूको दाबी छ।
१४ वर्षको उमेरदेखि गोरु जुधाउँदै आएका मदन श्रेष्ठ (४८) प्रत्येक वर्ष गोरु तयार पार्न ३० हजार रुपैयाँ खर्च गर्ने गरेको बताउँछन्। उनका अनुसार जोत्नको लागि समेत प्रयोग हुने गोरुलाई वर्षभरि नै नियमित स्याहार त हुन्छ नै । तर, जुधाउने गोरुको लागि भने कात्तिक मंसिर लागेपछि विशेष स्याहार सुरु हुन्छ ।
‘मेरो हजुरवाको पालादेखि नै तारुकामा गोरु जुधाइँदै आएको हो । मेरा बुबाले पनि जुधाए, मैलै पनि वर्षेनी जुधाउँदै छु, हरेक वर्ष नयाँ गोरु किनेर जुधाउँछु। एक वर्ष जुधाएको गोरु अर्को वर्ष जुधाउन उचित हुन्न’उनी भन्छन्।
चार वर्षअघि उनको गोरुले हारेमा गोरु नै दिने बाजी राखेका थिए। गाउँघरमा ‘बुरुस’ छाडेको भनिने यो बाजीमा उनको गोरुले हारेपछि जितुवा गोरुको धनीले गोरु नलगेर पैसा मागेपछि उनले २३ हजार रुपैया बुझाएका थिए।
त्यो वर्ष गोरु दर्ताको ५ सय धरौटी समेत उनले गुमाए। उनी परम्परा धान्नको लागि भन्दै गोरु जुधाउने गरेको बताउँछन्। पितापछि दाजु र दाजु बसाई सरेपछि उनले गोरु जुधाउने पारिवारिक परम्परालाई निरन्तरता दिइरहेका छन्। वर्षेनी नयाँ गोरु खरिद गरेर जुधाउनु उनको लागि महँगो परिरहेको छ। तैपनि उनी आफुलाई ३५ वर्षदेखि लगातार गोरु जुधाउने किसानका रुपमा दर्ज भएका छन्।
उनी जस्तै अरु स्थानीयहरू गोरु जुधाउने संस्कृति जोगाउन सक्रिय छन्। जुधाउने गोरुको लागि खुराकीको लागि चामल, अण्डा, चना, मास, कोदो खुवाउन पर्ने उनीहरू बताउँछन्।
माघे संक्रान्तिमा जुधाएको गोरुलाई उनले मंसिरदेखि दैनिक चार माना चामल, १२ मान ढूटोपिठो, एउटा अण्डा, तोरीको तेल सातामा एक लिटर, मास दैनिक एक पाउ, चना र कोदो पकाएर दैनिक दुई माना खुवाउने किशानहरू बताउँछन्।
आफ्नै खर्चमा परम्परा धानिरहेका अर्का गोरु पाल्ने किसान ईश्वर श्रेष्ठ बताउँछन्। ‘अचेल समिति बनाएर एकै ठाउमा गोरु जुधाउन थालेको छ। तर, गोरु जुधाउने किसानको खर्चलाई सहयोग गर्नतर्फ ध्यान दिनुपर्छ ।’
नुवाकोटको गोरु जुधाउने मेलाले आन्तरिक र वाह्य पर्यटकको साथै राष्ट्रिय अन्तरराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत चर्चा बटुलेको छ । गोरु जुधाउने मेलाको अवलोकन गर्न कच्ची बाटोमा धुलाम्मे हुदै हजारौं सर्वधारण तारुका पुग्ने गरेका छन् । चन्दनीमा हजारौं नरनारीको अगाडि गोरु जुधाइने गरिन्छ ।
चाम घट्यो
तारुकाको चन्दनीमा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको १० वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट तर्फको भू–भाग) मा गोरु जुधाउन सुरु भएको थियो। अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको शेराबगरमा समेत गोरु जुधाउन थालिएको छ।
मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङ, चितवनका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गर्दछ। तर, कुनैपनि स्थानमा व्यवस्थित तरिकाले गोरु जुधाईको आयोजना गर्न सकेको छैन्। सोही कारण तारुकामा गोरु जुधाई हेर्न आउने मानिस घटिरहेको आयोजक तथा स्थानीयहरू बताउँछन्।