प्रदेश २ को नाम मध्य मधेस र राजधानी सर्लाही राख्नुपर्ने माग
मलंगवा : प्रदेश-२ को नाम मध्य मधेस र राजधानी सर्लाहीमा राख्नुपर्ने माग मलंगवाका स्थानीय अगुवाले गरेका छन् । प्रदेशको राजधानी तथा नाम सम्बन्धमा गठित सुझाव संकलन समितिका सदस्यहरुसमक्ष उनीहरुले यस्तो माग राखेका हुन् ।
बिहीबार एक कार्यक्रमका बीच समितिका सदस्यहरुले मलंगवास्थित स्थानीय अगुवाहरु सहभागी गराउने गरी एक कार्यक्रम गरेका थिए । कार्यक्रमका अधिकांश सहभागीले सुझाव दिने क्रममा सर्लाहीमै राजधानी र मध्य मधेस नाम राख्नुपर्ने माग गरेका हुन् ।
प्रदेश २ को मध्य भागमा सर्लाही पर्ने र सबैलाई पायक पर्ने उनीहरुको तर्क छ । समितिका सदस्यहरुले झण्डै एक सयको हाराहारीको संख्यामा स्थानीयहरुसँग संवाद गरेका थिए ।
प्रदेशको नामबारे भने मिश्रित प्रतिक्रिया आएको थियो । मिथिला, जनक, भोजपुरा, जानकी लगायत नाम राख्नुपर्ने माग पनि केही सहभागीबाट उठेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रमोद साहले मधेसको नाममा आन्दोलन भएको र मधेशको ८ वटा जिल्ला मधेसकै रहेकोले प्रदेशको नाममा मधेस शब्द समावेश गर्नुपर्ने माग राखेका थिए । प्रदेशको नाम मध्य मधेस नराखिए सहिदको सपना र मधेस आन्दोलनको औचित्य हराउने साहको तर्क थियो ।