दक्षिण एसियाको ढोका नेपाल : चीन
काठमाडौं : नवनियुक्त चिनियाँ राजदूत हाउ याङ्की राजनीतिक भेटघाटमा सक्रिय भएकी छन्। उनले बिहीबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटघाट गरेकी छन्। उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेकी छन्।
इन्डो–प्यासिफिक क्षेत्रको चासोसँगै जापानी सक्रियताले चिनियाँहरू चनाखो भएका हुन्। राजदूत याङ्कीले सबै भेटघाटमा नछुटाएको विषय हो, ‘मेरो कार्यकालमा उच्चस्तरीय राजनीतिक भ्रमण नेपालमा गराउन अधिकतम प्रयास गर्नेछु। नेपालको विकास र समृद्धि चीनको उच्च प्राथमिकतामा छ।’ दुई दशकयता कुनै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको सन्दर्भमा उनले त्यसतर्फ संकेत गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन्। उनले ओहोदाको प्रमाणपत्र बुझाएपछि राष्ट्रपति, प्रधानमन्त्री, दुवै सदनका सभामुख र सबैजसो विभागीय मन्त्रीसँग भेटघाट गरिसकेकी छन्।
भेटघाटमा सहभागीका अनुसार बिहीबार उनले उपप्रधान तथा रक्षामन्त्री पोखरेलको भेटमा पनि त्यही भनाइ दोहोर्याउँदै भनिन्, ‘नेपाललाई चीनले दक्षिण एसिया जोड्ने द्वारका रूपमा लिएको छ।
आफूसँग सीमा जोडिएका छिमेकीहरूको द्रुत आर्थिक÷सामाजिक विकासमार्फत यथाशीघ्र समृद्धि कायम हुन सकोस् भन्ने चीनका राष्ट्रपति सी चिनफिङको सदीक्षा छ।’ साथै उनले राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसँग पनि छुट्टाछुट्टै भेटघाट गरिरहेकी छन्। सबैसँग उनले उच्चस्तरीय भ्रमण र सहकार्यमा जोड दिएकी छन्।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपालको विकासमा चीनको सहयोग अपरिहार्य रहेको बताए। रक्षा मन्त्रालयमा राजदूत हाउसँग शिष्टाचार भेट गर्दै उनले भने, ‘केपी ओली नेतृत्व सरकारले देश विकासका लागि महत्वपूर्ण योजना तथा कार्यक्रमहरू अघि सारेको छ। यसमा चीनको सहयोग महत्वपूर्ण रहन्छ।’
उनले नेपाल चीनको पहिलो प्राथमिकतामा रहेको सीमा जोडिएको छिमेकी बताइन्। अमेरिका र जापानले नेपाललाई यस क्षेत्रमा भूमिका खेल्नु भनिरहँदा चीनले दक्षिण नेपाललाई एसियाको ढोकाका रूपमा परिभाषित गरेको हो। अमेरिका र पाकिस्तानमा काम गरिसकेकी उनी उर्दु र हिन्दीमा समेत कुराकानी गर्न सक्छिन्। परराष्ट्रमन्त्रालय उच्च अधिकारीले भने, ‘आरम्भमा शिष्टाचार भेट हुने गर्छ। तर राजनीतिक चासो कम गर्थे अहिले पूरै राजनीतिक विषयमा नै चासो राख्छन्। अन्य मुलुकसँगको सम्बन्धबारे चनाखो हुन्छन्।’