सभामुख कप भलिबल : आर्मीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
पोखरा : पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। साबिक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफले आर्मीलाई सोझो सेटमा हराउने क्रममा पहिलो सेट २५–१५ मा जित निकाल्यो। दोस्रो सेटमा त्रिभुवन आर्मी क्लबले केही सुधार गरे पनि २५–१९ मा हार बेहोरेको थियो। अन्तिम सेटमा आर्मीले एपीएफसँग फितलो प्रदर्शन गर्दै २५–१६ मा सेट गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। गण्डकीले २५–१३, २५–६, २५–१७ ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो।
यसैगरी प्रदेश ३ र प्रदेश १ बीचको खेलमा प्रदेश ३ विजयी भएको छ। प्रदेश ३ ले २५–३, २५–१४, २५–१० को जित निकाल्यो।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ लाई पनि सोझो सेटमा पराजित गरेको छ। पुलिसले प्रदेश २ लाई २५–१४, २५–१४, २५–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलहरू शुक्रबार सुरु हुनेछन्। गण्डकी प्रदेश र एपीएफ तथा नेपाल पुलिस क्लब र प्रदेश ३ बीच खेल हुनेछ।