सवा अर्बमा दुईवटा रेल
काठमाडौं : सरकारले सवा अर्ब रुपैयाँ खर्चर दुईवटा रेल खरिद गर्ने भएको छ। रेल विभागले दुईवटा रेलगाडी किन्न गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। मन्त्रिपरिषद्ले बिहीबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेल किन्न स्वीकृति दिएपछि अब यसको प्रक्रिया औपचारिक रूपमै अगाडि बढ्ने भएको छ।
रेल विभागले भौतिक मन्त्रालयमार्फत गरेको रेलगाडी खरिद प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। मन्त्रिपरिषद्को यही पुस ३० गतेको निर्णय बिहीबार सार्वजनिक भएको हो। यस्तो निर्णयअनुसार ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईपक्षीय सरकारबीच (जीटूजी) प्रक्रिया अवलम्बन गरेर रेलगाडी खरिद कार्य अगाडि बढाउन सैद्धान्तिक सहमति दिएको छ।’ यो स्वीकृतिपछि रेल विभागले गरेकै प्रस्तावअनुसार रेल किन्ने प्रक्रिया अगाडि बढ्नेछ।
‘सरकारसमक्ष दुईवटा रेल किन्न ५०/५० करोडका दरले एक अर्ब रुपैयाँ र पाटपूर्जासहितको खर्च गरी करिब सवा अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने प्रस्ताव गरिएको थियो’, रेल विभागका महानिर्देशक बलराम मिश्रले अन्नपूर्णसँग भने, ‘सरकारले यसमा स्वीकृति दिएपछि अब हामी जनकपुरको कुर्थादेखि जयनगरसम्मको ३५ किमि दूरीमा रेल कुदाउन दुईवटा रेल खरिद प्रक्रिया अगाडि बढाउँछौं।’ रेलमार्ग तयार भएर यो दूरीमा रेल कुदाउनसक्ने अवस्था बनिसकेको छ। विभागको योजनाअनुसार करिब १२/१३ सय जना क्षमताको यात्रुबाहक रेल किन्ने जानकारी मिश्रले दिए।
उनका अनुसार सरकारले यसअघि चालु आर्थिक वर्षको बजेटमा नै ५० करोड रुपैयाँ रेल किन्न बजेट विनियोजन गरेको थियो। सोहीअनुसार रेल विभागले एकैपटक दुईवटा रेल ल्याउन प्रक्रिया अगाडि बढाउने अनुमति मागेको हो। सरकारले यसका निम्ति अनुमति दिएकाले अब नेपाल र भारत सरकारबीचको जीटूजी मोडलमा रेलगाडी खरिद हुनेछ।
रेल विभागले दुईवटा रेलगाडी किन्न गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
विभागएको योजनाअनुसार नेपालले किन्ने रेल नयाँ हुनेछ। रेलको अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको र दुवैतर्फ चलाउन मिल्नेछ। यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) खालको हुनेछ। यस्तो रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीको निम्ति उपयुक्त खालको रेल हुने पनि मिश्रले बताए।
नेपालले अहिले किन्ने रेल यात्रुबाहक हुने भएकाले यसमा यात्रुका सामान मात्रै बोक्न सकिन्छ तर कार्गो रेल भने होइन। यो रेल आए पनि हाललाई जनकपुरको कुर्थादेखि जयनगरको ३५ किमि दूरीमा मात्रै चल्नेछ। रेलमार्गको निर्माण भइरहेको र आवश्यक प्रक्रियामा रहेकाले ५/६ महिनामा नै रेलमार्गको दूरी बढेर बिजलापुरसम्म ५२ किमिको हुनेछ। यो रेलमार्ग विस्तार गर्दै डेढ वर्षभित्र जयनगरदेखि बर्दिवाससम्मको ७० किमिमा रेल कुद्ने विभागको भनाइ छ।
रेल चलाउन भने नेपालसँगदक्ष जनशक्ति नभएकाले भारतबाटै चालकसहित प्राविधिक ल्याउनुपर्छ। नेपालले रेलको जनशक्ति तयार पार्न भने करिब एक डेढ वर्ष लाग्ने विभागको भनाइ छ। रेल सरकारले जीटूजीबाट खरिद गर्ने भएकाले ३÷४ महिनाभित्रै रेल किन्न सकिन्छ तर आवश्यक तयारी पूरा गरेर रेल भित्त्याउँदा ६ महिनासम्मको समय लाग्ने जानकारी विभागका महानिर्देशक मिश्रले जानकारी दिए।
यसअघि गत मंसिर अन्तिम साता नै जनकपुर–जयनगर खण्डमा तयार भएको रेलमार्ग प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने तयारी भए पनि नेपालको आफ्नै रेल नभएका कारण अन्तिम समयमा आएर रोकिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीले एकसाथ उद्घाटन गर्ने तयारी भएपछि रेलै नभएका कारण रेलमार्ग मात्रै उद्घाटन गर्नुको औचित्य नहुने भन्दै यसलाई स्थगित गरिएको पनि रेल विभाग स्रोतले जानकारी दिएको छ।
यसैबीच पानी जहाजको कार्यालय स्थापना गर्न स्वीकृति सरकारले पानीजहाज सञ्चालनका निम्ति पनि आवश्यक कार्यालय स्थापना गर्ने स्वीकृति दिएको छ। सरकारले पानीजहाज कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ। कार्यालयमा इन्जिनियरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिसहित १६ जना कर्मचारी हुनेछन्।