मिस यु मुस्ताङ

मिस यु मुस्ताङ

मुस्ताङ घुम्ने योजना धेरै बने। तारादेवीको गीत ‘सोचे जस्तो हुन्न जीवन’जस्तै कहिल्यै जुरेन। हामी पत्रकारको समय अनुकूल भएपछि बल्ल तय भयो मुस्ताङ यात्रा। हिमालको काखमै बसेर अर्गानिक स्याउ खाने मौका मिल्ने भयो। वर्षाैंपछिको प्रयासपछि मुस्ताङ जाने साइत जुरेको थियो। कछुवा गतिमा मार्फा गाउँ पुगियो। शरदमा गमक्क परेको गाउँमा टन्नै खाइयो रसिलो स्याउ।

मार्फा गाउँ जहाँ न ट्राफिक जाम, न खाल्डाखुल्डी, न कुनै धुवाँधुलो नै छ। मित्र दीपक भट्टले टिप्पणी गरे, ‘यहाँको त धुलो पनि अर्गानिक लाग्ने।’ मार्फा प्यालेस होटलका मोहनसिंह लालचनले हामीलाई थकाली शैलीमा स्वागत गरे। उनले आफ्नै स्याउको बगानसमेत घुमाए।

हेर्दा काँचो देखिने स्याउ खाँदा मीठा थिए। मार्फाको सबैभन्दा स्वादिलो र रसिलो स्याउ नै हरियो रहेछ। ‘गोल्डेन डेलिसियस’ भन्दा रहेछन् मार्फावासी। सत्कारमा त्यही स्याउ खुवाए हामीलाई लालचनले। मार्फाको गुम्बा दर्शन गरिसकेपछि लालचनले हामीलाई डाँडामा जान अनुरोध गरे। चिसोले सिकिस्तै बनेको राजु चौधरीलाई होटलमा बसाएर हामी उक्लियौं। टुप्पामा पुगेपछि जोडले सिरेटो चल्यो। टोपी त के आफूलाई उभ्याउनसमेत हम्मेहम्मे पर्‍यो। स्याउ बगानले भरिपूर्ण मार्फा बस्ती छर्लंगै देखेपछि हामी उत्साहित बन्यौं। सबैले एकै स्वर लगायौं ‘चल्यो हावा सिरिरि, आँतै झिरिरि...’

साँझपख मार्फामा कटुवाल कराउँदै गरेको पनि सुनियो। मनभरि थकालीको सत्कार, हिमाली हावा, रुप्से झरनाको सम्झना बोकेर मस्त निदाइयो। बिहान लालचनको बिदाइले टम्म भरियो छाती। मिर्मिरेमै हामी हुइँकियौं। नांगा डाँडाको एकपछि अर्को शृंखला नाघ्दै अघि बढ्यौं। धुलाम्मे मोटरबाटो पछ्याउँदै अघि बढिरहँदा कालीगण्डकीको कालो बगरमा एक हूल भेडाच्यांग्राको बथान दौडिरहेको थियो।

जोमसोम पुगियो। मानसपटलमा अनायासै गुञ्जियो नेपथ्यको गीत ‘जोमसोमे बजारमा, बाह्र बजे हावा सरर...’। जोमसोम सहर, हिमालकै आँगनको बाटो हिंड्न पाउँदा छाती ढक्क फुल्छ र आवेश, रिस, मोह, खोज सबै सलक्क पग्लिन्छन्। कुनै बेला बादलले घेर्ने, कुनै बेला खुल्ने आकाश। लेकाली पहाड र हावापानीसँग चाकाचुली खेल्न पाएर मन सन्तुष्ट थियो।

मास्तिर मुक्तिनाथ मन्दिर पुग्न नपाइने हो कि भन्ने ठूलो पिरलो थियो मित्र आमिर श्रेष्ठलाई। ‘त्यै मन्दिर हेर्न भनेर यति टाढा आइएको छ। रित्तै फर्किनु त पर्दैन ? ’ उनको संशय। मुक्तिनाथकै दर्शन गर्र्न हामी काठमाडौंबाट आएका थियौं। त्यसपछि पश्चिमपट्टि भएर तेर्पे बाटो समातियो।

मध्याह्नमा झुल्के घामको तातोले चिसो खेद्न थाल्यो। भोकले आन्द्रा बटारिएको थियो। पहाडमाथि पहाड। थाप्लामा गुजुमुज्ज भएर थुप्रिएको छ कुइराको गुजुल्टा। छिनमै छरिने र छिनभरमै भेला भइहाल्ने। उजाड डाँडामा एकाध घर फाट्टफुट्ट देख्दा डर, अत्यास र अचम्मले आँखामा ठुङ मार्थे। अग्लो ठाउँबाट देखिने आनन्दी आफैंमा अलौकिक। ‘म रोएँ मीतज्यू, म रोएँ !’ मुक्तिनाथ पुग्ने भोकले आमिरले भन्यो। सुनेर कबिन अधिकारीको हाँसो बाहिरियो। उनको दुर्लभ हाँसो सुनेर सिंगो टोली नै गलल्ल हाँस्यो।

अन्ततः हामी मुक्तिनाथ पुगेछौं। मन्दिर पुग्नेबित्तिक्कै राजु र आमिरले कपडा खोलेर धारामा नुहाए। त्यहाँ नुहाउँदा ‘पाप पखालिन्छ’ भन्ने धार्मिक विश्वास रहेछ। अत्यधिक चिसोमा दीपक र मेरो आँट आएन। हातले पानी छर्केर पाप मुक्तिको प्रयास गर्‍यौं।

भोकले रन्थनिएका हामी थकाली भान्छामा छिर्‍यौं। चौंरीको दूधको चिया र नास्ता खाएर ओरालो लाग्यौं। राजुले भात खानुपर्ने इच्छा व्यक्त गरे। हामी मुस्ताङकै थकाली होटलमा थामियौं। होटलकी साहुनी एक्लैले पकाउँदा समय लाग्ने देखेपछि राजु, आमिर र दीपकले भान्छामा सहयोग गरे। साहुनी दंग परिन्। त्यसपछि हामी लम्कियौं। मुस्ताङको आभाले थिचिएको मन कालीगण्डकीको गर्जनालाई कलकल बनाएर सुनिरहेथ्यो। बेनीमाथि कुइरोमा छेलिएको थियो, हिमाल।

मनले खुसुक्क भनिरहेथ्यो, ‘मिस यु मुस्ताङ !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.