अब यार्चा कफी
![अब यार्चा कफी](https://annapurnapost.prixacdn.net/media/albums/Yarcha_20190118061706_48LQNIMg1V.jpg)
केही दिनअगाडि काठमाडौंको दरबारमार्गमा एक पैदलयात्री भन्दै थिए, ‘काठमाडौंमा कफी पिउनेहरू मात्र छन् कि क्या हो ? कफी सपबाहेक केही देख्दिनँ।’ धेरै हदसम्म उनको कुरा सत्य लाग्छ।
काठमाडौं उपत्यकामा भटाभट कफी सप खुल्दै छन्। हरेक कफी सप केही नयाँ थिम लिएर बजारमा आएका देखिन्छन्। बजारको बढ्दो प्रतिस्पर्धाले कफी पिलाउने अनौठा टेक्निकहरू अपनाइएको हुन सक्छ, जसमा यार्चा कफी लिएर आएका छन् दुई युवा।
काठमाडौं मलको पहिलो तलामा पुग्दा सत्य थापा (२५) र विशाल चौलागाईं (२७) को ‘यार्चा जाभा’ भेटिन्छ। जाभाको नारा छ, ‘विश्वमै पहिलोपटक अब यार्चासँग कफी खाऔं।’ जाभामा कफीका पारखीहरूको आउजाउ चली नै रहन्छ। कफीमा यार्चाको धुलो मिक्स गरेर बनाइने यार्चा कफी कस्तो हुँदो रहेछ त ? ग्राहकहरू यही खुल्दुलीले त्यहाँ कफी पिउन पुग्दा रहेछन्।
विशाल र सत्यले यो कफी सप गएको दसैंको मुखमा खोलेका हुन्। केही नयाँ गर्ने सोचेर यी दुईले एक वर्षसम्म यार्सागुम्बाको बारेमा अनुसन्धान गरेको बताउँछन्। भन्छन्, अमेरिकाको फुड एन्ड सेफ्टीबाट प्रमाणित भएपछि नेपालमा आउटलेट खोलेका हौं।
‘म र सत्य दैनिकजसो भेट्थ्यौं’, विशाल भन्छन्, ‘प्रायः कफी सपमा भेटघाट गर्ने भएकाले एक दिनमै तीन चार कप कफी खान्थ्यौं।’ सत्यले आफ्नै कफी सप खोल्नुपर्ने प्रस्ताव राखेपछि यार्चा विथ कफीको आइडिया फुरेको विशाल बताउँछन्, ‘अचेल ग्राहकले केही युनिक खोज्छन्। त्यसैले हामीले कफीमा यार्सागुम्बा प्रयोग गर्यौं।’
यार्सागुम्बा डोल्पा र बझाङबाट ल्याउने गरेको सत्यले बताए। बझाङ घर भएका सत्य भन्छन्, ‘मेरो परिवार नै यार्चा टिप्ने काम गर्छन्।’ सत्यको गाउँमा वैशाखदेखि असारसम्म स्कुल नै बन्द गराएर स्थानीयवासी यार्चा टिप्न जान्छन्। सरकारले पनि यार्चा टिप्नकै लागि यतिसम्म छुट दिएको छ। यसैबाट सत्यले यार्चाको महत्त्व थाहा पाइसकेका थिए।
यार्चा मिक्स गरिएको एक कप कफीको तीन सय रुपैयाँ पर्छ। यार्चा विथ कफी स्टेसनमा सिंगल पिस यार्चासमेत टेस्ट गर्न सकिन्छ।
नेपालमा अवसर नपाएर युवाहरूको पहिलो रोजाइ विदेश भएको समयमा विशाल र सत्यले भने देशमै व्यवसाय गर्ने निधो गरेका छन्। ‘व्यवसाय गरेर लगानी उठाउन सकिने हो कि होइन भन्ने शंका परिवारले बारम्बार गर्छन्’, सत्यले भने, ‘तर म उहाँहरूलाई प्रत्येक दिन विश्वस्त पार्छु।’ नयाँ सोच र जुझारुभई काम गरे प्रतिफल पाइनेमा ढुक्क रहेको उनले बताए।
यार्चाको फाइदाबारे धेरैलाई थाहा छैन। विशाल भन्छन्, ‘धेरैले यार्चालाई सेक्सुअल पावरका रूपमा बुझ्छन् तर यसका फाइदा धेरै छन्।’ हाम्रो शरीरको रगत सफा गर्नेदेखि क्यान्सरका बिरामीका लागि समेत यो लाभदायी छ। ‘यार्सागुम्बा विथ कफी’ सम्भवतः नेपालमा पहिलो प्रयोग भएको विशाल बताउँछन्। यार्सागुम्बाको धेरै फाइदा भए पनि एक दिनमा नौ ग्रामभन्दा बढी खान नहुने उनले बताए। साथै गर्भवती महिलाले पनि यो कफी खान मिल्दैन।
यार्चा जाभामा सात ग्राम कफी र यार्चा तीन ग्राम मिक्स गरेर नौ ग्रामको कफी सर्भ गरिन्छ। यार्चा मिक्स गरिएको एक कप कफीको तीन सय रुपैयाँ पर्ने विशाल बताउँछन्। यार्चा विथ कफी स्टेसनमा सिंगल पिस यार्चासमेत टेस्ट गर्न सकिन्छ। ग्राहकलाई आकर्षित गर्न अरू विभिन्न उपाय पनि अपनाइएको विशालले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)