सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आज सुरु हुँदै
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मोहनराज मल्लले दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व रहेका तीनवटै दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यसूची तय भएको संसद् सचिवालयका सचिव बालारम शर्माले जानकारी दिए।
तेस्रो अधिवेशनको पहिलो बैठक भएकाले सत्ता पक्ष नेकपाबाट तीन जना सांसद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट दुई जना र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीबाट एक जना सासंदले सम्बोधन गर्ने कार्यतालिका तय भएको उनले बताए ।
बैठकमा प्रदेश सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक पनि पेश गर्ने कार्यसूची रहेको सचिव शर्माले जानकारी दिए।