अभागी आर्मी
फुटबलको पर्याप्त भौतिक संरचना, बाह्रै महिना तयारी र राष्ट्रिय टोलीका चर्चित खेलाडीको जमघट। घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको विशेषता हो यो। तर, उपलब्धिका हिसाबले आर्मीको फुटबल त्यति गर्विलो छैन। पछिल्लो समय नकआउट फुटबलमा राम्रो गरिरहेको आर्मीले नयाँ संरचनाको घरेलु लिगको उपाधि जित्न सकेको छैन।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आर्मीको उपस्थिति खासै देखिँदैन। जब कि आर्मीको भन्दा कमजोर खेलाडी र संरचना भएका क्लबले ‘ए’ डिभिजन लिगको स्वाद चाखिसकेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफूलाई परिस्कृत बनाइसकेका छन्।
खेल र खेलाडीको तुलनामा आर्मीकै स्तरमा रहेर पनि घरेलु फुटबलमा नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबले उल्लेख्य सफलता हात पारिरहेका छन्। लिग फुटबलमा पुलिस, थ्रीस्टार र मनाङको सफलताको इतिहास गर्व गर्न लायक छ। समान हैसियतको आर्मीले अहिलेसम्म यो उपलब्धि भेट्टाउन सकेको छैन।
यसपटक एन्फाले रेलिगेसन बिनाको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग गरेको थियो। रेलिगेसन बिनाको लिग भएकाले प्रतिस्पर्धी टोलीले राम्रा खेलाडी अनुबन्ध गरेका थिएनन्। यसको बढी फाइदा विभागीय टोली आर्मीलाई थियो।
आर्मीलाई यसपटक कप्तान भरत खवाससहित अनुभवी खेलाडीहरू विकेश कुथु, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन अर्याल, जितेन्द्र कार्की, दीप लामा, विवेक बस्नेत, टंक बस्नेत, दिनेश हेन्जन, सेसेहाङ आङ्दाम्बे, विकास खवास, राजीव गुरुङ, दीपक गुरुङ, विमल पाण्डे, पदम तामाङ, विकास तामाङ र सन्तोष तामाङको साथ थियो। अहिलेको जस्तो टिम आर्मीको विगतमा थिएन। तर पनि आर्मी कमजोर टोलीसँग हार खेप्दै लिगमा चौथो स्थानमा चिक्त बुझाउन बाध्य भयो। पहिलो गाँसमा ढुंगा भनेजस्तै लिगमा आर्मी पहिलो खेलमै कमजोर टोली एनआरटीसँग २–२ गोलको बराबरीमा रोकियो।
आर्मीका लागि यसपटकको लिग कमजोर टोलीसँग निरन्तर बराबरीमा रोकिनु अभिषाप भयो। आर्मीले फ्रेन्ड्स, जाउलाखेल र थ्रीस्टारसँग पनि बराबरी खेलेको थियो। मनाङसँग १–० गोलले पराजित भएपछि आर्मी थप कमजोर बन्यो। त्यसपछि एपीएफसँग २–१ गोलको हार खेपेपछि आर्मीको उपाधि दौड सकिएको थियो।
लिगअघि आर्मीलाई च्याम्पियन बनाउँदै नयाँ इतिहास रच्ने दाबी गरेका प्रशिक्षक नवीन न्यौपानेले कमजोर टिमसँग बराबरीका रोकिनु नै आर्मीको दुर्भाग्य भएको बताए। ‘यसपटकको लिगमा पहिलो खेलदेखि नै हामी अभागी बन्यौं। एनआरटीसँगको खेल राम्रो भएन। बीचमा नसोचेको टोलीसँग बराबरीमा रोकिनु अर्को कमजोरी भयो’, नवीनले भने।
टोलीलाई लिग जिताउने सपना बुनेका आर्मीका कप्तान भरत खवासको सपना पनि अधुरै रह्यो। यद्यपि उनले उत्कृष्ट स्ट्राइकरको उपाधि हात पारे। लिगमा भरतले सर्वाधिक सात गोल गरेका थिए। उनले समान सात गोल गरेका मनाङका ओलावाले अफिज र थ्रीस्टारका रन्जित धिमाललाई पछि पारेका थिए।
प्रशिक्षकले जस्तै भरतले पनि कमजोर टोलीसँग अंक बाँड्नु गल्ती भएको बताए। ‘लिगको उत्कृष्ट स्ट्राइकर भए पनि टोलीलाई च्याम्पियन बनाउन नसक्दा दुःख लागेको छ’, भरतले भने। ह्याट्रिकबिनै सकिएको लिगमा भरत ह्याट्रिक नजिक पुगेर चुकेका थिए।
२०११ सालमा नरशमशेर जबराले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनमा ल्याएका थिए। आर्मी–११ टोलीले २०१२ सालमा उपाधि जितेको थियो। बसेनि हुनुपर्ने लिगले निरन्तरता भने पाएन। हालसम्म १४ क्लबले लिग जितिसकेका छन्। लिगमा सर्वाधिक सफल टोली मनाङ हो। मनाङले आठपटक लिग उपाधि जितेको छ। त्यसपछि रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले ६ पटक, थ्रीस्टार र नेपाल पुलिस क्लबले समान पाँच÷पाँचपटक लिग जितेका छन्।
यसैगरी एनआरटीले चारपटक, महावीर र संकटाले तीन/तीनपटक, अन्नपूर्ण फुटबल क्लब र देउराली क्लबले दुई/दुईपटक, आर्मी, विद्या व्यायाम, फ्रेन्ड्स, ब्वाइज युनियन र सुनाखरी एथलेटिक्स क्लबले एक/एकपटक लिगको उपाधि जितेका छन्।
लिग जित्ने कतिपय पुराना क्लब अहिले अस्तित्वमा छैनन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादका कारण २०७१ यता सहिद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको थिएन। यसपटक राम्रा विदेशी खेलाडीको साथ पाएको मनाङले दुई खेलअगावै लिग जितेर कीर्तिमान रच्यो।