गायकको नायक सपना
राज सिग्देल गजल गायनमा रुचि राख्छन्। उनले पहिलोपटक आवाज दिएको ‘ऊ जितेर गई वा हारेर गई’ बोलको गीतले निकै चर्चा कमायो। पछिल्लो समय विदेश भ्रमण तथा स्टेज कार्यक्रममा व्यस्त रहेका सिग्देलसँग अजवी पौड्यालले गरेको कुराकानी।
तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो?
बाल्यकालदेखि नै बाँसुरी बजाउथेँ। नाटक लेखन तथा निर्देशन गर्थें। मादल बजाउनमा म त्यो क्षेत्रमै गनिएको थिएँ। वाद्यवादनबाट गीत गाउन पनि सिक्दै गएँ।
गीत गाउन सक्छु भन्ने महसुस कहिले भयो?
काठमाडौंमा आएर कलेज पढ्दै बाँसुरी सिक्दै थिएँ। बाँसुरी सिक्न गएको बेला गुरुले गीत गुनगुनाउँदै बस्नु भएको रहेछ। मैले पनि उहाँलाई गीत गाएर सुनाएँ। त्यसपछि गुरुले मलाई बाँसुरी होइन, भोकल सिक्न जाऊ भन्नुभयो। मेरो स्वर पनि राम्रो रैछ भन्ने बल्ल थाहा भयो मलाई।
संगीत साधना गरेको कति भयो?
बाँसुरी, अन्य वाद्यवादन र क्लासिकल भोकल गरी करिब १२ वर्ष संगीत सिक्नमा नै बिताएको छु। अझै धेरै कुरा सिक्न बाँकी नै छ। सुरुआती चार वर्ष त म गुरुसँगै बस्थेँ। ३ बजे नै उठेर हाम्रो रियाज सुरु हुन्थ्यो। फुर्सद भयो कि गीत गुन्गुनाइरहन्थेँ। संगीतमा अति धेरै डुब्थेँ म।
पहिलो पटक स्वर दिएको गीतले नै तपाईंलाई चर्चित बनायो है?
हो, मैले पहिलो पटक ‘गुरु’ एल्बम बजारमा ल्याउँदा चर्चित बनायो। यसको पहिलो शीर्ष गीत थियो ‘ऊ जितेर गई या हारेर गई’। यो गीतको शब्दलाई धेरै युवाले मन पराइदिनु भो। युवाहरूको प्रेम र जीवनशैलीमा प्रत्यक्ष मेल खाने खालको छ यो गीत।
ऊ जितेर गई या हारेर गई, यो गीत रेकर्डको पृष्ठभूमि के हो?
गुरु चण्डीप्रसाद काफ्लेसँग पाँचौं वर्षको भोकल सिक्दै थिएँ। एक दिन गुरुले स्टुडियो टोन र बाहिर गाएको टोन फरक हुन्छ, प्रयोगका लागि तपाईंको आवाजमा गीत रेर्कड गरौं भन्नुभयो। आफ्नो स्वर परीक्षणको लागि पनि मैले यो गीत गाएको हँु। यो गीतले राम्रो चर्चा कमायो। त्यसैले, गुरुदक्षिणा स्वरूप मैले ‘गुरु’ एल्बम निकालेको हुँ।
नेपाली संगीतमा आफ्नो स्वरको स्थान कता पुगे जस्तो लाग्छ?
म एकदमै अधकल्चो भइरहेको छु। न म ठीकठाक गीत गाएर सामान्यमा मेन्टेन गर्न सक्छु। न धेरै अब्बल गीत गाएर केही विशेष गर्न सकेको छु। मैले जे जति गीत गाएँ, थोरैमा चित्त बुझाएको छु। म धेरैभन्दा धेरै गहकिला गीतमा आवाज भर्न चाहन्छु। तर पछिल्लो समय मेरो साधना कम भएको महसुस भएको छ। इन्डिया गएर पढ्ने र पाश्चात्य संगीत सिक्ने योजना छ।
तपाईंको गायकीमा आलाप शैलीको चर्चा छ नि?
सबै गीतमा मेहनत गर्ने गर्छु म। आलापमा मेरो विशेष लगाव छ। अरूले गीत गाएको देख्दा हार्मोनियम बजाउँदै गीत गाउन सक्ने भए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो। लयलाई नयाँपन दिन पनि आलाप जान्नैपर्ने हुन्छ।
आफ्नो स्वर आफैंलाई कस्तो लाग्छ?
सुरुमा त मलाई आफू गायक बन्न सक्छु भन्ने लाग्दैनथ्यो। पहिलो गीत बजारमा आएपछि म पनि रेडियोमा सुनिन थालेँ। टीभीमा भिडियो बज्न थाल्यो। अब गायक भएछु कि जस्तो लाग्यो। म आफ्नो मात्रै गीतभन्दा पनि अन्य चलेका गायकहरूको गीत बढी सुन्छु, मेरोमा कहाँनेर कमजोरी छ त्यो ख्याल गर्छु। म ठीकै गाउँछु भन्ने लाग्छ।
आफ्ना गीतमा आफैं मोडलिङ पनि गर्नुको कारण?
मलाई अभिनयमा पनि अत्यन्तै रुचि छ। गायकसँगै नायक पनि बन्ने सपना छ मेरो। केही गीतमा अभिनय गरेको छु। राम्रै प्रतिक्रिया आइरहेको छ। हेरौं कुनमा बढी सफल हुन्छु?
सांगीतिक क्षेत्र कस्तो लाग्छ?
यहाँ टिक्न अत्यन्तै गाह्रो छ। अस्वस्थ प्रतिस्पर्धा छ। कसैलाई कसैको इज्जत, सम्मान र महत्त्व थाहा छैन। राम्रा प्रतिभा भएकाहरू बाहिर आउन सकेका छैनन्। जसले बजारमा बिक्ने गीत गाउन सक्यो, त्यही क्षमतावान् मानिन्छ। विदेशमा बस्ने नेपालीकै आडमा बाँचेका छन् धेरै कलाकारहरू। उनीहरूले विदेशमा कार्यक्रम गर्छन्, कलाकार बोलाउँछन् र गायकगायिकाको जीवन चलेको छ।
एल्बम कत्तिको बिक्छ?
एल्बम बिक्ने जमाना गइसक्यो। आज हरेक चिज डिजिटल भइसक्यो। एल्बम विमोचनभन्दा पनि युट्युबबाट गीत सार्वजनिक गर्ने चलन छ। एल्बम त संग्रहको लागि मात्र हो।
तपाईंलाई मनपर्ने आफ्नै गीत?
चुलबुल चुलबुल, च्वास्स बिझ्ने तिम्रो माया, यो माया हराएको सहर हो प्रिया, ऊ जितेर गई या हारेर गई, कसरी बताऊ खै, यो त जाली सहर हो प्रियालगायतका गीत मन पर्छ।
रेकर्डका लागि गीत कसरी छान्नुहुन्छ?
पहिले त गीतको शब्द नै हेर्छु। आफूलाई सुट हुने खालको शब्द रैछ भने मात्र रेकर्डिङको तयारी गर्छु। त्यसो त गीत लेख्न कोसिस पनि गरे तर आफैंलाई मन परेन।
खासमा संगीत के रैछ?
संसारमा धेरै खालका कला छन्। कलाका माध्यम फरकफरक हुन्छन् तर फिल गरेर आफ्नो कुरा व्यक्त गर्न सकिने माध्यम हो संगीत। यो प्रत्यक्ष रूपमा मान्छेको संवेदना र मनसँग जोडिन्छ।
गजल गायनमा सक्रिय हुनुका कारण?
म क्लासिकल बेसबाट संगीतमा आएको हु। गजल सेमिक्लासिकल विधा हो। पहिलेदेखि नै ह्याभी गीत मन पराउथेँ। राम्रा गजलका शब्दहरूमा ओज हुन्छ, त्यसैले पनि गजल गाउन मन पर्छ।