बिहेको चिन्ता
‘पूर्णी तेरो बिहे हुन लागेको हो र ? ’ फोन उठाउँदा सन्चोबिसन्चो नसोधी यस्तो प्रश्न आयो।
‘हँ ! कसले भन्यो ? ’
‘पोखरा जाँदै छेस् रे। किन जान लाको अचानक ? ’
‘हो हो मेरो बिहे हुँदैछ, आएस् है।’ गाडीमा घन्कोको ‘ऐना हेरेर लाऊ माया लाउनेले धोको फेरेर’ भन्ने गीतले संवादलाई जित्यो। फोन काटेँ। सँगै पढ्ने साथीको फोन थियो। कलेज जाँदा कतै जाने योजना होस् या कामको योजना साथीहरूबीच पूर्वसूचना दिइन्थ्यो। पोखरा अर्थात् जन्मभूमिको यात्रामा थिएँ।
माघ महिना भएर होला, साथीहरू हल्ला फिजाउँछन्। केही दिनअगाडि क्याम्पसअगाडि केही साथीसँग भेट भएको थियो। मित्र सरोजले मेरो बिदाको प्लानबारे सोधेका थिए। मैले बिदाभर पोखरा हुन्छु भनेर सुनाएँ। ‘त्यसो भए केही विशेष जस्तो छ। माघमा पार्टी खान पाइन्छ कि ? हाँसो फैलियो। मैले साथीहरूलाई कुनै खास नभएको जनाएर छुट्टिएँ।
घर आएको दिन थकानले छिटै सुतेँ। बिहान अबेरसम्म सुतेँ। आमा र म घाममा बसेर सुन्तला खाँदै थियौ, आमा कि जेठानी अर्थात् बुवाकी साइँलीआमा आउनुभयो। मलाई देखेर खुसी हुनुभयो। नातिनीको पढाइ कता पुग्यो ? ‘सोह्र कक्षा पढ्दैछु हजुरआमा’, मैले भनेँ। आश्चर्य मान्दै भन्न थाल्नुभयो, ‘ओहो दस र छ सोह्र है ? यति पढेकी मेरी नातिनीलाई कति पढेका ज्वाइँ आउने हुन् ? ज्वाइँ खोज्न पो गाह्रो पर्च क्यारे।’ यसो भन्दै हाँस्दै हजुरआमाले मेरो कपाल मुसार्नुभयो।
हजुरआमाको आशय छोरीभन्दा ज्वाइँ जान्ने हुनुपर्छ भन्ने थियो। ‘हजुरआमा अहिले पहिलाजस्तो ज्वाइँ नै जान्ने हुनुपर्छ, कमाउनुपर्छ, छोरीलाई पाल्नुपर्छ भन्ने छैन। पहिलापहिला पो छोरीहरू पढेका हुँदैनथे। आफैं केही गर्न सक्दैनथे र पो। अहिले त्यस्तो हुँदैन। म जागिर खाइहाल्छु नि। पीर नगर्नु। तपाईंकी नातिनीले ज्वाइँलाई नै पाल्न सक्छे।’ मैले यति भनिसक्दा आमा र हजुरआमा दुवै जनाको मुहारमा खुसी छाइसकेको थियो।
‘नातिनीले यति भनेपछि हाम्लाई नि हर्क लायो। नातिनातिनासँग कुरा गरेर पनि नसकिने भैयो अब। अब पीर अर्न परेन।’ म हजुरआमाको काखलाई सिरानी बनाएर सुतिरहेको थिएँ। ‘अब कति पढ्न पर्छ नि बा ? ’ हजुरआमाले फेरि सोध्नुभयो। ‘अब एक वर्ष पढेपछि डिग्री सकिन्छ हजुरआमा। त्यसपछि नि पढ्न मन लागे त पढे हुन्छ।’ हजुरआमा र मेरो कुरा सुनिरहनुभएकी आमाले भन्नुभयो, ‘पढेर नसकिने रैछ तनि। हाम्ले पढ्न पाइएन। नातिनीहरूले राम्रो पढिराछन्। यसैमा गर्व छ।’
म भान्सातिर लागेँ। चिया बसालेँ। मनमा कुरा खेलिरह्यो। पढ्दै छु। पढाइ पूरा भा’छैन। पढेर केही गर्नु छ। आमाले भनेजस्तै घुम्ने कुर्सीमा बस्ने पनि बन्नु छ। जन्मेको माटोमा केही गर्न पाए हुन्थ्यो भन्ने छ। रहरहरू धेरै छन्। के के पूरा हुने हुन् ? सबै रहर र सपना आँखामा घुम्न थाले।
बिहेको कुनै सोच छैन। पढाइ सकौं। कुनै फिल्डमा सेटल हौं। सके एक दुईवटा देश, नसके नि आफ्नै देशका कुनाकाप्चा घुमौं भन्ने छ। चिया उम्लिन कति टाइम लाको ? डाटा अन गरेँ। म्यासेन्जरमा टुङटुङ घन्टी बज्यो। च्याट हेडमा आएको एउटा म्यासेज यस्तो थियो, ‘पूर्णे बिहेको डेट फिक्स भयो ? ’
मनले भन्यो, ‘आफूलाई भन्दा अरूलाई नै किन लाग्छ, बिहेको चिन्ता ? ’