कर्णालीमा चालकको स्वास्थ्य परीक्षण :अधिकांशको कलेजो र फोक्सोमा समस्या
जुम्ला : कर्णाली राजमार्गका सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएका अधिकांश चालकको फोक्सो र मुटुमा समस्या देखिएको चिकित्सकले बताएका छन्। चालकले अत्यधिक मदिरा सेवन गरेका कारण उनीहरुको फोक्सो र मुटुमा समस्या देखिएको चिकित्सकको भनाइ छ। बिहीबार जुम्ला बसपार्कमा संचालन भएको स्वास्थ्य शिविरमा कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका ७७ जना सवारी चालकले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन्।
स्वास्थ्य परीक्षण गर्नेमा ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबहाक गाडीका चालक थिए।स्वास्थ्य परीक्षण गरेका सतप्रतिशत सवारी चालकले नियमित धुम्रपान तथा मध्यपान सेवन गर्ने गरेको देखिएको छ।
डा. दिनेश शाहीका अनुसार चालकले अध्यधिक मदिरा र धुम्रपान सेवन गर्ने गरेकाले उनीहरुको कलेजो र फोक्सोमा समस्या देखिएको छ। मदिरा सेवनकै कारण चालकको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण देखिएको चिकित्सक रोजनिम श्रेष्ठले बताइन् ।आँखा चिकित्सक कालिबहादुर रावतले सवारी चालकको आँखामा समस्या देखिएको बताए।
कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकले धुम्रपान तथा मध्यपानको अधिक सेवन गर्ने, क्षमता भन्दा दोब्बर यात्रु बोक्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढेको छ। यिनै कारणले राजमार्गमा भएका सवारी दुर्घटानामा हजारौले ज्यान गुमाएका छन्।
ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक माधब रावतले भने, 'जोखिम घटाउनुका साथै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो।सो अवसरमा सवारी साधन संचालनका लागि हुनुपर्ने आवाश्यक कागजातहरु समेत चेकजाँच गरिएको छ।'
उनका अनुसार सवारीचालक अनुमति पत्र, सडक अनुमति पत्र, बिमालगायतका कागजातको चेकजाँच गरिएको हो। चेकजाँच गरिएका ७७ जना सवारी चालकमध्ये १५ जना सवारी चालकको कागजात नमिलेको कारण कारवाहीको सूचीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय, यातायात व्यवस्था कार्यालय, नेत्रज्योती संघ (आँखा अस्पताल) र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा स्वास्थ्य शिविर संचालन भएको थियो।