ट्राफिक लाइटको बिजोग
काठमाडौं : उपत्यकाका २० स्थानमा ट्राफिक लाइट छन्। तर बल्छन्, चार स्थानका मात्रै। २०५८ सालमा जापान सरकारको सहयोगमा राजधानीका १० स्थानमा ट्राफिक लाइट जोडियो। केही वर्ष बल्यो। २०६७ सालसम्म आइपुग्दा सबै स्थानका लाइट चल्न छाडे। केही समय जापान सरकारकै सहयोगमा ट्राफिक इन्जिनियर आएर लाइटको रेखदेख गरेर सरकारलाई बत्ती हस्तान्तरण गरेको थियो।
काठमाडौं उपत्यकामा अहिले दैनिक १४ लाख सवारी चल्छन्। प्रायः सबै संघीय इकाइ (तत्कालीन अञ्चल)मा दर्ता भएका सवारी उपत्यकामा भित्रिने र बाहिरिने गर्छन्। सवारीसाधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनका भौतिक पूर्वाधार निर्माणमा भने सरकार चुकेको देखिन्छ। उपत्यकामा अहिले नारायणगोपाल चाके, केशरमहल, राष्ट्रिय संग्रहालयको दक्षिण गेट, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालिमाटी, गौशाला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, मुनिभैरव, जडिबुटी, ठिमी चोक, सूर्यविनायक, कौशलटार, गठ्ठाघर र सल्लाघारीमा ट्राफिक लाइट छन्। नारायणगोपाल चोक, नयाँ बानेश्वर, ठिमी चोक र गठ्ठाघरका बाहेक लाइट चालू छन्। तर सवारी चापका कारण यी लाइट पनि प्रहरीले नियमानुसार चलाउन सकेको छैन।
ट्राफिक लाइट एक स्थानमा चल्ने र अर्को स्थानमा नचल्ने भएपछि सवारी व्यवस्थापन झनै बोझिलो देखिएको छ। थापाथली, सिंहदरबार, कोटेश्वर र माइतीघरमा लाइट नचल्दा त्यहाँबाट आउने सवारीको सबै बोझ नयाँ बानेश्वरमा पर्दै आएको छ। गौशाला, केशरमहल, पद्मोदय मोड, पुतलीसडक र संग्रहालयमा लाइट नचल्दा उक्त रुटबाट चल्ने सबै सवारीको लोड नारायणगोपाल चोकमा पर्दै आएको छ।
तत्कालीन गृहमन्त्री जनार्दन शर्माले सडक जामको विषयलाई लिएर बैठक राख्दा उपत्यकामा दुई सय ट्राफिक लाइट जडान गर्न तत्काल प्रक्रिया थाल्न निर्देशन दिएका थिए। त्यो काम अहिलेसम्म अघि बढेको छैन। गृहमन्त्री रामबहादुर थापाले पनि आवश्यक स्थानमा ट्राफिक लाइट जडान प्रक्रिया थाल्न निर्देशन दिएका छन्। प्रत्येक गृहमन्त्री आउने र निर्देशन मात्रै दिन्छन्। लामो समयपछि अहिले सडक विभागले उपत्यकाका विभिन्न ११ स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ।
‘ट्राफिक लाइट एउटा ठाउँमा चल्ने र अर्को ठाउँमा नचल्ने हुँदा त्यसले सवारी व्यवस्थापनमा झन बाधा पुग्छ’, सवारी तथा ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने। सबै लाइट चालू अवस्थामा राख्दा सवारी व्यवस्थापन सहज बन्ने उनको भनाइ छ। अन्य मुलुक (जापान, अमेरिका, चीन, इन्डोनेसियालगायत युरोपियन मुलुक)मा सडकमा ट्राफिक लाइट र सीसीटीभीले काम गर्छन्। नेपालमा ‘ म्यानुअल’ सिस्टममा सवारी व्यवस्थापन भइरहेकाले कठिन देखिएको उनको भनाइ छ। ‘अन्य मुलुकमा ट्राफिकको काम कानुन कार्यान्वयन गराउने देखिए पनि हाम्रोमा सबै पक्ष हेर्नुपर्ने समस्या छ’, गजुरेलले भने, ‘हात हल्लाएकै भरमा कति दिन थेग्न सकिन्छ र ? ’
अहिले एक हजार पाँच सय ट्राफिक जनशक्ति खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ। लाइट चालू नहुँदा अहिले प्रत्येक चोकमा चार देखि ६ जना ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता रहेको महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले बताए। महाशाखाले विभागसँग अति व्यस्त थप ३२ स्थानमा ट्राफिक लाइट थप्नुपर्ने माग गरेको छ।
विभागले पुराना लाइट नबन्दै पुनः नौ स्थानमा नयाँ लाइट जडान प्रक्रिया थालेको छ। उसले पुतलीसडक, गौशाला, मित्रपार्क, पुरानो बानेश्वर, कालिमाटी, पद्मोदय मोड, थापाथली, तीनकुने र सिंहदरबारमा लाइट जोड्न एक करोड १० लाख बजेट छुट्याएर काम थालिसकेको छ। नेपाली कम्पनीलाई नै ठेक्का दिएको विभागले अढाई महिनाभित्र काम सकिसक्न भनेको छ। ‘ट्राफिक लाइट नभएर सवारी व्यवस्थापनमा परेको असरलाई दृष्टिगत गरी हामीले नौ स्थानमा लाइट जोड्ने प्रक्रिया थालेका छौं’, विभागका प्रवक्ता प्रमुख मुक्ति गौतमले भने, ‘अढाइ महिनाभित्रै लाइट चल्छन्।’
पेडेस्ट्रियन कन्ट्रोल लाइट पनि चल्दैन
सरकारले पैदलयात्रुलाई बाटो काट्न सजिलो होस् भनेर पाँच वर्षअघि उपत्यकाका १० स्थानमा पेडेस्ट्रियन कन्ट्रोल लाइट राख्यो। तर अहिले अधिकांश बल्दैनन्। त्रिचन्द्र कलेज, वागदरबारस्थित काठमाडौं महानगरपालिका, भोटेबहाल, कालिमाटी, खिचापोखरी मोड, शंकरदेव क्याम्पस, सिंहदरबार चोक, अल्का अस्पताल, कालिमाटीस्थित साल्ट टेड्रिङ र दमकल मोड पुल्चोकमा यस्तो लाइट जोडिएको छ। तर अहिले पुतलीसडकस्थित शंकरदेव क्याम्पस, साल्ट टेड्रिङअघि र दमकल मोड पुल्चोकमा मात्रै यी लाइट चालु छन्।
यी हुन् नयाँ प्रस्तावित ठाउँ
चाबहिल, पुरानो बसपार्क, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, ल्होत्से चोक, लैनचौर, खानी विभाग, सोह्रखुट्टे, हलचोक, बालाजु, एयरपोर्ट गोल्डने गेट, ग्वार्को, सातदोबाटो, जावलाखेल, पुल्चोक, एकान्तकुना, महालक्ष्मीस्थान, पेप्सीकोला चोक, कुपन्डोल, टेकु, ज्ञानेश्वर, नयाँ बसपार्क गेट, सामाखुसी चोक, कलंकी, बल्खु, गैरीधारा, इटालियन एम्बेसी मोड, सिंहदोबाटो, हात्तीसार चोक।