नेपाली चेलीको पौरख

नेपाली चेलीको पौरख

‘ल्यान्ड अफ अपर्चुनिटी’ अर्थात् अवसरको भूमि अमेरिका। त्यहाँ पुग्न जस्तोसुकै खतरा मोल्छन्, नेपालजस्ता अल्पविकसित मुलकका नागरिक। वैधानिक तवरले नभए भूमि मार्ग भएर क्युबियन रुटदेखि मेक्सिको पुगेर अमेरिका छिर्न दाउ गर्ने पनि धेरै छन्। पछिल्लो समय महिलामा पनि अमेरिका थप आकर्षण बनेको छ। उच्च शिक्षादेखि व्यवसायमा समेत महिलाको आँखा अमेरिकातर्फ सोझिँदै गएको छ। त्यहाँ नभए मात्र अरू मुलुक रोजाइमा पर्छन्।

अमेरिका वा विदेश जानुपूर्व अधिकांश महिलाले ‘ब्युटिसियन ट्रेनिङ’ लिने गरेको पाइन्छ। मेहन्दी लाउने, नङ पालिस गर्ने, फेसियलदेखि कपाल रंगाउने सबै काममा निपूर्ण हुने गर्छन्। त्यस्तै ‘ड्राइभिङ’ सिकेर जाने पनि छन्। राम्रो अध्ययन गरेका वा नेपालमा कुनै विषयको ज्ञाता भएर काम गरेकाहरूले समेत त्यसलाई विकल्पका रूपमा लिने गरेका छन्। त्यसमध्येकी हुन्– रम्बिका (जेनी)उलक केसी। जापानमा कानुनमा स्नातक गरेर त्यसको अभ्यास थालेकी उनले अमेरिका गएपछि त्यो बाटो छोडिन्। उनका पतिले अँगालेको ‘पफ्र्युम’ व्यवसायमा पनि रम्बिका रम्न सकिनन्। विदेशीको ब्युटी पार्लरमा पार्टटाइम काम गर्दै उनले नेपालबाट अमेरिका आएकासँग मिलेर ब्युटी पार्लर अर्थात् नेल पार्लर (नङसँग सम्बन्धित) व्यवसाय थालिन्।

सन् २००२ मा नै न्युयोर्कको व्यस्त म्यानहटनमा नेल पार्लर खोलेकी उनी अहिले न्युयोर्कको रिजउडमा डिभाइन नेल्सकी सञ्चालिका हुन्। रम्बिका १६ वर्षदेखि यही पेसामा छन्। सन् १९९८ को अन्त्यतिर पति सुमन केसी अमेरिका आएकाले उनलाई जापानमा उच्च शिक्षाको अध्ययनमोह तुहियो र दुई वर्षपछि पुगिन् अमेरिका। कोरियनहरूले त्यति बेला पार्लर चलाउँथे। उनीहरूले छाड्दै जान थालेपछि नेपाली, फिलिपिनो, स्पेनिस र चिनियाँ यसमा आकर्षित भए। रम्बिका पनि त्यसमा रम्न थालिन्।

रम्बिकाको रिजउडस्थित डिभाइन नेल्स पार्लरमा न्युयोर्क टाइम्समा प्रकाशित समाचार झुन्डिएको छ। नेपाली संस्कृति र काम जोडेर सन् २०१२ मा न्युयोर्क टाइम्सले उनीसँग कुरा गरेर समाचार छापेको रहेछ। त्यसपछि धेरै भारतीय पत्रिकामा पनि समाचार आए। पार्लरमा काम गरिरहेका नेपाली महिलाले विदेशीको खुट्टाका नङ बनाइरहेकोलाई हिन्दु धर्मसँग जोडेर समाचार लेखेकोमा उनी केही दुःखी पनि भइन्। तर, पछि जे बुझे त्यही लेखे भनेर त्यो समाचार फ्रेममा राखेर झुन्ड्याइन्। उनको पार्लरमा सबैजसो नेपाली नै कार्यरत छन्। उनीहरू नेल्स, वाक्सिङ, थ्रेडिङ, आइब्रो, टिनटिन, आँखीभौंमा रङ लगाउनेदेखि कपाल मिलाउनेसम्मका सेवा दिन्छन्। कतिपय पार्लरले थेरापी र मसाजको पनि सेवा राखेका हुन्छन्।

मासिक सात हजार अमेरिकी डलर भाडा तिरेर म्यानहटनमा सुरु गरेको व्यवसाय फस्टाउँदै गएको थियो। सुरुमा त्यहाँ नौजना काम गर्थे। पछि म्यानहटन छाडेर रम्बिका रिजउड आइन्। अहिले तीन स्थानमा रहेको उनको पार्लरमा विभिन्न सिफ्टमा गरी ४४ जना कार्यरत छन्। अधिकांश नेपाली नै छन्। बच्चाको कारणले म्यानहटन छाडेर घरछेउमा सरेको उनी बताउँछिन्। कोरियालीसँग किनेको १३ सय स्क्वायर फुटमा रहेको आफ्नो १४ वर्ष पुरानो पार्लर देखाउँदै उनी भन्छिन्, ‘यहाँ हामी मिलेर काम गर्छौं। पार्लरमा धेरै नेपाली महिला काम गर्छन्। यो सहज त छैन तर आम्दानीको हिसाबले राम्रो छ।’

रम्बिका (जेनी) उलक केसीले अमेरिकामा तीनवटा ब्युटी पार्लर खोलेर ४४ जनालाई रोजगारी दिएकी छन्।

उनको पार्लरमा चिनियाँ र स्पेनिस पनि काम गर्छन्। अरूको काम के गर्नु भन्ने लागेर नै यो व्यवसायमा लागेको उनी बताउँछिन्। उनको अनुमानमा विगत १८ वर्षको अवधिमा उनीसँग दुई हजारभन्दा बढी नेपालीले काम सिके। त्यहाँ सिकेर कैयौंले उनीजस्तै पार्लर खोले। हरेकजसो सहरका पार्लरमा आफूले सिकाएका एक न एक नेपाली बहिनीहरू देख्दा खुसी लाग्ने उनी बताउँछिन्। भन्छिन्, ‘उच्च शिक्षा अध्ययन गर्नेहरूले पार्ट टाइमका रूपमा काम गरे। राम्रै पारि श्रमिक र ग्राहकको टिप्सले यसमा महिला आकर्षित छन्।’

आफ्नो काममा सन्तुष्ट रहेको उनलाई पतिले पनि पार्लरलाई आवश्यक पर्ने समान किनेर ल्याउन सघाउँछन्। प्रफुल्लित मुहारमा भन्छिन्, ‘पतिको साथ अनि आफन्तको मायाले अन्य शाखा पनि खोल्दै छु।’ उनको स्विस नेल र अल्लुर (ब्लेस भन्ने अर्थ लाग्छ) नेल्स थपिँदै छन्। उनले न्युयोर्कको रिजउडमा पार्लर खोल्दा चारपाँच जनामात्र नेपाली थिए। कपाल काट्न जाने ठाउँसमेत थिएन। अहिले यहाँ चार हजारभन्दा बढी नेपाली छन्। न्युयोर्क र क्यालिफोर्निया अलि लिबरल भएकाले पनि नेपाली बढिरहेका छन्।

ब्युटिसियनले यहाँ व्यवसाय गर्न सक्ने अवस्था छ। सौन्दर्यको चाहना कसमा हुँदैन र ? यसैले यो व्यवसायमा नेपाली जमेका छन्। पार्लरमा मात्र होइन रेस्टुरेन्ट, पेट्रोल पम्प, ग्यास स्टेसन, स्टोर, नेपाली ह्यान्डिक्राफ्ट, कानुन व्यवसाय, अमेरिकी सेनालगायत क्षेत्रमा नेपाली महिला आकर्षित छन्। तर आफ्नै व्यवसायको मोह बढेको छ। रम्बिका भन्छिन्, ‘नेपाली डायस्पोरा निकै बढेको छ। अब त हामी विदेशमा छौं जस्तो लाग्न छाडेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.