एउटै कलाघरमा सिन्धुलीका सिर्जना
सिन्धुली : सिन्धुलीका ऐतिहासिक स्थल, साहित्य र स्रष्टासँगै मौलिक संस्कृति अब एउटै सिन्धुली कलाघरमा अवलोकन गर्न सकिने भएको छ। प्रगतिशील प्रतिभा केन्द्रले लामो समय लगाएर सिन्धुलीलाई चिनाउने ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, सिन्धुलीका स्रष्टा र सर्जकबाट सिर्जित साहित्य तथा संगीतकलाका साथै विभिन्न लोपोन्मुख जातिका भेषभूषा, मौलिक बाजा तथा घरेलु सामग्री कलाघरमा प्रदर्शनमा राखेपछि यस्तो सम्भावना भएको हो।
कालघरको अवलोकनका लागि पुग्नेहरूका लागि एकै घरभित्र सिन्धुलीका प्रायः स्थल, समुदाय र तिनका कला संस्कृतिका अनुपम सिर्जना राखिएपछि कलाघरको अवलोकन गर्नेको भीड लाग्न थालेको छ।
जिल्लाका झन्डै एक दर्जनभन्दा बढी स्थानीय कलाकर्मीको सक्रियतामा तयार पारिएको कलाघरमा ऐतिहासिक धरहरादेखि सिन्धुलीकै सबैभन्दा अग्लो स्थलमा निर्माणाधीन फिक्कल भ्यु टावरको कलात्मक सिर्जना अवलोकन गर्न सकिने प्रगतिशील प्रतिभा केन्द्र सिन्धुलीका संयोजक सुमन आइडु मगर बताउँछन्।
सिन्धुलीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै सञ्चालन गरिएको सिन्धुली कलाघरमा अंग्रेज शासकलाई परास्त गरिएको ऐतिहासिक सिन्धुलीगढी किल्ला, सिन्धुलीलाई लोक गीतबाट चिनाउन सफल २०३६ सालमा रेडियो नेपालबाट लिइएको स्वर परीक्षणमा प्रथम भएका स्वर्गीय कृष्णविक्रम थापादेखि सिन्धुलीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थलको आर्ट ग्यालरीसमेत देख्न सकिने मगरको भनाइ छ।
उनी भन्छन्, ‘कला घरमा सिन्धुलीका चर्चित साहित्यिक स्रष्टाबाट सिर्जना गरिएका साहित्यिक पुस्तक संकलन गरेर सिन्धुली साहित्य संगम, जरबुट्टालाई कलात्मक बुट्टा भरेर जरबुट्टा संग्रहालय, लोपोन्मुख पञ्चैबाजा संग्रहालयदेखि सिन्धुली रोधीघरमा मौलिक तथा काँठेभाकाको सांगीतिक प्रस्तुतिसमेत देख्न पाइनेछ।’
सिन्धुलीका महत्त्वपूर्ण क्षेत्रको प्रचारप्रसारले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले यस्तो कलाघरको निर्माण गरी प्रदर्शन सुरु गरिएको उनको भनाइ छ। २०७२ सालको भूकम्पले ढलेको धरहराको नमुना अवलोकन र फिक्कल भ्यु टावरमा पाँच जनासम्म चढेर सिन्धुली कलाघरको अवलोकन गर्न सकिने अर्की कलाकार आरती पहाडी बताउँछिन्।
सिन्धुली कलाघरको अवलोकन गर्न पुग्ने आगन्तुकलाई कलाघर भित्रको आधुनिक प्रविधि भित्रिनु पहिला नै परापूर्वकालमा प्रयोगमा ल्याइने हलो, जुवा, तेल पेल्ने कोल, घुम, छत्री, ढिकी जाँतो, कुटो कोदालो, सिकार खेल्न प्रयोग गरिने गुलेली, आरन भाँटी, डोको, माछामार्ने जलारी, चुथ्रोलगायतका घरेलु सामग्रीले थप आकर्षित पार्ने पहाडीको विश्वास छ। ‘यस्ता सामग्री लोप हुँदै जाँदा पछिल्ला पुस्ताले देख्न पनि छाडेका बेला संकलन गरेर संग्रृहीत गरिएका सामग्री अवलोकन गर्दा नयाँ पुस्ताले विगत र वर्तमानको समीक्षा गर्ने गरेका छन्’, उनले थपिन्।
यसअघि सिन्धुली सदरमुकाममा १० दिनसम्म कलाघरको प्रदर्शनी गरिएकोमा यस पटक सिन्धुली सदरमुकामबाट झन्डै ९० किलोमिटर पूर्वसिन्धुली, उदयपुर र ओखलढुंगाको सिमानास्थित फिक्कल गाउँपालिकाको फिक्कल बेसीमा कलाघरको प्रदर्शनी सुरु गरिएको छ। कलाघरको अवलोकनका लागि पुग्नेलाई ग्रामीण भेगमा बहुप्रचलित, भुटेको मकै, भटमास, साँधेको गुन्द्रुक, मोही, मुलाको साग, लोकल भालेको मासु, कोदो र फापरको ढिँडोको परिकार खुवाउँदा थप आकर्षित हुने गरेका छन्।
कलाघरको अवलोकनका लागि विद्यार्थीले ३० रुपैयाँ र अन्यले ५० रुपैयाँबराबरको सहयोग गर्ने गरेका छन्। फिक्कलमा सात दिनसम्म प्रदर्शनीमा राखिने कलाघरलाई त्यसपछि भने सिन्धुली सदरमुकाममाढीमा स्थायी रूपमा राख्ने संयोजक मगरको भनाइ छ।