पुलिस र आर्मीबीच उपाधि भिडन्त
इटहरी : सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब पुगेका छन्। दुई टोलीबीच शनिबार उपाधि भिडन्त हुनेछ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै आर्मीले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो।
पहिले ब्याटिङमा उत्रिएको प्रदेश १ ले २५.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रन जोडेको थियो। प्रदेश १ का लागि रवि रोयले २२, पुष्प थापाले १९, मुकुन्द यादवले १७ र मिनास थापाले १२ रन जोडेका थिए। प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका हरिबहादुर चौहानले चार विकेट लिए।
जवाफी ब्याटिङ गरेको आर्मीले १९.२ ओभरमा चार विकेट गुमाउँदै जित हात पार्यो। राजेश पुलामी र रोहित पौडेलले टोलीलाई फाइनलमा पुर्याए। रोहित पौडेलले ५८ र राजेश पुलामीले २३ रन बनाए। प्रदेश १ का मनोज मण्डलले दुई विकेट लिए।