निर्दोष अम्बाको अवसान
बाबु पत्ता नलागेको बालकलाई आमाकै नाम, थरबाट शिष्य स्वीकार्ने हरिद्रुमतको सत्कार्य आधुनिक युगमा पनि अनुसरणीय छ। असली सत्यनिष्ठा यही हो। तर, भीष्मको प्रतिज्ञामा सत्य र न्यायनिष्ठाभन्दा बढी हठ थियो। नभए, आफैंद्वारा अपहरित निर्दोष युवतीको जीवनभन्दा ठूलो उनको ब्रह्मचार्य प्रतिज्ञा हुने थिएन।
महाभारतका जीवन्त पात्र भीष्म सत्य र कर्तव्यनिष्ठाका प्रतीक मानिन्छन्। तर, आधुनिक युगमा त्यस्तो निष्ठाको कुनै अर्थ हुँदैन। उनको निष्ठामा सत्यभन्दा बढी जडता थियो। उनको प्रतिज्ञा चानचुन थिएन। पिता शन्तनुको प्रेमको सम्मानमा उनले युवराज पद त्यागे। त्यतिले नपुगेर आजीवन ब्रह्मचार्य पालना गर्ने प्रतिज्ञा गरे। त्यसमा उनी एकरत्ति हलचल भएनन्। त्यसैले आज पनि कसैको दृढ प्रतिज्ञालाई भीष्म प्रतिज्ञा भनिन्छ।
महाभारत कथाअनुसार, हस्तिनापुरका राजा प्रतीपप्रति पद्मिनी शरीरकी गंगा मोहित थिइन्। प्रतीपले पत्नी होइन, बुहारीका रूपमा तिनलाई स्वीकार्ने वचन दिए। नभन्दै उनी प्रतीपका छोरा शन्तनुकी पत्नी भइन्। शन्तनु गंगाप्रति कति मोहित थिए भने उनले गंगाका कुनै पनि क्रियाकलापमा हस्तक्षेप नगर्ने वचन दिएका थिए। हस्तक्षेप गर्नेबित्तिकै गंगा उनलाई छाडेर जानेवाली थिइन्। गंगाले लगातार सात छोरालाई नदीमा बगाइदिइन्। अति भएपछि आठौं सन्तानका पालामा शन्तनुले हस्तक्षेप गरे। गंगाले यसपालि बच्चालाई बगाइनन्। तर, सर्त उल्लंघन गरेको निहुँमा बच्चा लिएर पतिलाई छाडिदिइन्। शस्त्र र शास्त्रविद्याले पारंगत बनाएर पछि शन्तनुलाई नै छोरा जिम्मा लगाइन्। ती बालकको नाम देवव्रत थियो। युवराज पद त्याग गरेर अनि आजीवन बह्मचार्य पालना गर्ने प्रतिज्ञा गरेर पछि उनी भीष्मका नामले प्रख्यात भए।
शन्तनुको अनुराग
गंगाको साथ छुटेपछि शन्तनुको जीवन झरेको पातजस्तै भयो। उनी सधैं उदास रहन्थे। एक दिन यमुनाको किनारमा घुम्दै गर्दा एक अनिन्द्य सुन्दरीसँग उनको भेट भयो। ती माझीकी छोरी सत्यवती थिइन्। तिनको रूप, शारीरिक बुनोट, स्त्रीसुलभ स्वभाव कुनै पनि पुरुषलाई भुतुक्क पार्ने खालको थियो। शन्तनुले प्रणय कामना गर्दै तिनीसँग बिहेको प्रस्ताव गरे। प्रस्ताव सुनेर युवतीका पिता खुसी भए। तर, तिनको सर्त साधारण थिएन। उनले आफ्नी छोरीबाट जन्मेको राजकुमारलाई नै युवराज बनाउनुपर्ने अंकुशे थापे। राज परम्पराअनुसार जेठो छोरालाई युवराज बनाउनुपथ्र्यो। पछि उही राजा हुन्थ्यो। देवव्रत शन्तनुका प्राणप्रिय छोरा थिए। आफ्नो मोहपूर्तिका लागि उनले छोरामाथि अन्याय गर्न चाहेनन्। शन्तनु ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भनेझैं हार मानेर फर्के। उनको जीवन झन्झन् एकांकी र निराशामा बित्न थाल्यो।
पिताको दुःखी जीवनको रहस्य एक दिन देवव्रतले पत्ता पाए। उनी सत्यवतीका पिता धीवरराजकहाँ पुगे। धीवरराजले शन्तनुसँग राखेकै सर्त दोहोर्याए। देवव्रतका लागि पिताको सुखी जीवनसामु युवराज पद केही थिएन। उनले सजिलै सत्यवतीका छोरालाई युवराज बनाउने वचन दिए। धीवरराज दूरदर्शी थिए। तिनलाई देवव्रतका वीर सन्तानले सत्यवतीका छोराको राज्य खोस्ने भय थियो। जवाफमा एक कदम अगाडि बढेर देवव्रतले लामो सुस्केरा हाल्दै दुवै हात आकाशतर्फ फर्काएर भने, ‘हे धीवरराज, राज्य त मैले त्यागिदिएँ। अब सन्तानबारे पनि अटल निश्चय गर्छु। म आजीवन ब्रह्मचारी हुन्छु। जन्मेदेखि मैले कहिल्यै झुटो बोलेको छैन। यसमा विश्वास गर्नुस् र मेरा पिताजीलाई छोरी दिनुस्।’
ब्रह्मचार्य अर्थात् स्त्रीसँग संसर्ग नगर्नुलाई ठूलो कुरा मान्नु नै उनको गल्ती थियो। यो भयानक प्रतिज्ञा थियो। त्यसपछि नै उनी भीष्म (भयानक) नामले प्रख्यात भए। बल्ल धीवरराजले हस्तिनापुरका शक्तिशाली राजा शन्तनुसँग छोरीको बिहे गरिदिए। यसको मूल्य भीष्मलाई निकै महँगो पर्यो।
निर्दोष अम्बाको अवसान
देवव्रतले भयंकर प्रतिज्ञा गरे। त्यसको पालनामा उनी कतै चुकेनन्। तर, गहिरेर हेर्ने हो भने उनको यस प्रतिज्ञामा सत्यनिष्ठाभन्दा बढी अहम् थियो। धीवरराजको जोड उनकी छोरीका सन्तान युवराज हुनुपर्छ भन्ने थियो। भीष्मले उनलाई आश्वासन दिन स्त्री संसर्गमै नरहने जुन कठोर निर्णय गरे, त्यसले पारेका पाश्र्वप्रभाव र कुण्ठा उनको व्यक्तित्वमा प्रशस्तै झल्किन्छ। जस्तो किः सत्यवतीबाट शन्तनुका दुई छोरा जन्मिए। चित्रांगद र विचित्रवीर्य। पिता शन्तनुको निधनपछि यी दुवैको नामबाट भीष्मले नायवी शासन चलाए।
चित्रांगद उनकै नामधारी एक गन्धर्वसँगको युद्धमा मारिए। त्यसपछि कान्छा विचित्रवीर्य राजा भए। भीष्मले तिनका लागि स्वयंवरमा राखिएका काशीराजका राजकुमारीहरू अम्बा, अम्बिका र अम्बालिकाको अपहरण गरे। अम्बिका र अम्बालिका विचित्रवीर्यसँग बिहे गर्न राजी भए। तर, अम्बाले शाल्व नरेशलाई हृदयको साँचो सुम्पिसकेकी थिइन्। स्वयंवरमा उनी तिनैलाई माला लगाइदिनेवाली थिइन्। भीष्मसँग उनले आफ्नो चाहना व्यक्त गरिन्। भीष्मले स्वतन्त्रता दिए। अम्बा अनेक सपना सजाएर शाल्व नरेशकहाँ पुगिन्। तर, भीष्मद्वारा अपहरित अम्बालाई शाल्व नरेशले स्वीकार्न सकेनन्। ‘भीष्मद्वारा तिम्रो अपहरण हुँदा मैले बचाउन सकिनँ। अतः तिमीले भीष्मलाई नै वरण गर्नु राम्रो हुन्छ राजकुमारी,’ शाल्व नरेशले भने।
यो सन्देश लिएर अम्बा भीष्मकहाँ फर्किइन्। भीष्मले आफ्नो ब्रह्मचार्यको प्रतिज्ञा सुनाए। सत्य सधैं सापेक्ष हुन्छ। जडता सत्य होइन। भीष्म जड नभई सत्यनिष्ठ हुँदा हुन् त यस स्थितिमा अम्बासँग बिहे गर्न राजी हुन्थे। धीवरराजसँग वाचाको मूल उद्देश्यअनुसार उनले प्राकृतिक उपाय अपनाएर सन्तान नजन्माए पुग्थ्यो। भीष्म टसमस नभएपछि अम्बा निराश भइन्। आफ्नै पिताकहाँ फर्केर अपमानित जीवन व्यतीत गर्नु पनि उनलाई उचित लागेन। उनको बर्बादीका कारण भीष्म थिए। अतः कसैगरी उनी भीष्मसँग बदला लिन चाहन्थिन्। पछि उनी भीष्मका गुरु परशुरामलाई पुकार्न पुगिन्। गुरुले आग्रह गर्दा पनि भीष्मले आफ्नो प्रतिज्ञा भंग हुने गरी बिहे गर्न मानेनन्। अन्ततः परशुराम र भीष्मबीच युद्ध भयो। गुरु पराजित भए। सबैतिरबाट निराश भएपछि अम्बाले आत्महत्या गर्नुपर्यो। भीष्मको जड प्रतिज्ञाकै कारण एक निर्दोष युवतीको अमूल्य जीवन खेर गयो।
नियोग प्रथाबाट सन्तान
अस्वस्थ जीवनशैलीका कारण विचित्रवीर्य पनि यौवनमै क्षयरोगी भए। बिहेको सात वर्षपछि दुई रानीलाई निःसन्तान छाडेर बिते। हस्तिनापुरको राजसिंहासन उत्तराधिकारीविहीन भयो। यस्तो अवस्थामा नियोग प्रथाबाट सन्तान जन्माउने चलन थियो। सत्यवतीले भीष्मलाई अम्बिका र अम्बालिकासँग संसर्ग गरेर सिंहासनको उत्तराधिकारी जन्माउन निर्देशन दिइन्। भीष्मले आफ्नो प्रतिज्ञा सम्झाए। त्यसकै प्रतापले सत्यवती रानी हुन पाएकी थिइन्। सत्यवती शरीरबाट माछाको गन्ध फैलने तिनै मत्स्यगन्धा थिइन् जसको यौवनप्रति पराशर ऋषि पागल थिए। तिनै ऋषिको संसर्गबाट उनले कुमारी अवस्थामै व्यासलाई जन्माएकी थिइन्। संसर्गपछि नै द्वैपायनले उनलाई निकै टाढासम्म सुगन्ध फैलने युवतीमा परिणत गरिदिएका थिए। सत्यवतीले पहिलो पल्ट भीष्मसँग आफ्नो रहस्यमय विगतबारे बताइन्। अन्ततः भीष्मकै स्वीकृतिमा हिमालयमा तपस्यारत व्यासलाई सत्यवतीले दुई बुहारीसँग संसर्ग गरेर उत्तराधिकारी जन्माउने आदेश दिइन्।
आधुनिक युगमा गर्भादानका बेला पुरुष र स्त्री दुवै खुसी, स्वस्थ मनस्थिति र र स्वस्थ शारीरिक अवस्थामा हुनुपर्छ भन्ने मान्यता राखिन्छ। यसो हुन सके बाबुआमाको सद्गुण बच्चामा आउँछ भनिन्छ। त्यसैले कतिले यसलाई प्रजननभन्दा पनि सुजनन भन्छन्। त्यसको सामान्य संकेत महाभारतको नियोग प्रथामा पनि पाइन्छ। संसर्गका बेला व्यास र तीन युवतीको अवस्था भने फरक थियो।
डरलाग्दा, काला र दिगम्बर शरीरका व्याससँग समर्पित हुनुपर्दा अम्बालिकाले आँखा चिम्लिइन्। अतिशय भयका कारण अम्बिकाले फुस्रो अनुहार बनाइन्। गर्भादानका बेला दुई बुहारीको अवस्था सुनेर निराश सत्यवतीले दासी वनितालाई पठाइन्। वनिताले आनन्दित भएर व्याससँग सम्भोग गरिन्। महाभारत कथाअनुसार सम्भोगका बेला आँखा चिम्लेकीले अम्बिकाबाट जन्मैले दृष्टिविहीन धृतराष्ट्र, फुस्रो अनुहार लगाएकीले अम्बालिकाबाट पाण्डुरोगी (गम्भीर प्रकारको दुबी) पाण्डु र आनन्दित मुडमा भएकीले वनिताबाट विद्वान् विदुर जन्मिए।
आर्य संस्कृतिमा कुनै विधवालाई गर्भधारण वा शारीरिक सम्पर्क गर्ने अनुमति हुँदैन। आदिवासी माझीकी छोरी सत्यवतीले आफ्ना दुई विधवा बुहारीलाई नियोग प्रथामार्फत यो हक दिइन्। तर, त्यो महिलाको देह स्वतन्त्रता थिएन। त्यसको एक मात्र उद्देश्य राजकुललाई निरन्तरता दिनु थियो।
असफल संरक्षक
दृष्टिविहीन भएकाले जेठा भए पनि धृतराष्ट्रलाई राजा बन्नबाट वञ्चित गरियो। पाण्डु राजा भए। भीष्मकै प्रतापले धृतराष्ट्रको बिहे गान्धार राजकुमारीसँग अनि पाण्डुको बिहे कुन्ती र माद्रीसँग भयो। राजा भएपछि आफ्नो सौर्यद्वारा पाण्डुले हस्तिनापुरको सीमा निकै फैलाए। थुप्रै राजा रजौटालाई अधीनस्थ गरेर हस्तिनापुरलाई नियमित कर तिर्ने बनाए।
भीष्मको ब्रह्मचार्य प्रतिज्ञा पूर्ण रूपले सफल भयो। त्यसबाहेक उनले हस्तिनापुरलाई अकण्टक, शान्त र न्यायको भूमि बनाउने प्रण गरेका थिए। त्यसमा भने उनी सफल हुन सकेनन्। परम्पराअनुसार राजाको जेठो छोरा नै राजा हुनुपथ्र्याे। उनकै अभिभावकत्वमा दृष्टिविहीन भएका निहुँमा जेठा धृतराष्ट्रलाई पन्छाई कान्छा पाण्डुलाई राजा बनाइयो। समस्याको थालनी यहीँबाट भएको थियो। राजकाजबाट विरक्तिएर पाण्डु वनवासी भएपछि पहिले पन्छाइएका धृतराष्ट्रलाई नै राजा बनाइयो। दृष्टिविहीन हुनु अयोग्यता थियो भने पाण्डुपछि विदुरलाई राजा बनाउनुपर्ने थियो। धृतराष्ट्रलाई नै किन रोजियो ? दासीपुत्र हुनु विदुरको अयोग्यता थियो भने उनलाई धृतराष्ट्र र पाण्डुका भाइको दर्जा किन दिइयो ? यसको जवाफ भीष्मका क्रियाकलापबाट कतै पाइँदैन।
पाण्डु र माद्रीको निधनपछि पाँच पाण्डवलाई लिएर कुन्ती हस्तिनापुर फर्किइन्। पाण्डवहरू धृतराष्ट्रपछि आफूले राज्य पाउनुपर्ने, नभए अंशबन्डा हुनुपर्ने आकांक्षा राख्थे। राज परम्पराअनुसार पाण्डवहरू राज्यका उत्तराधिकारी हुन सक्दैनथे। अर्कातिर राज्यको अंशबन्डा गर्ने कुरा कसैलाई स्वीकार्य हुन सक्दैनथ्यो। पाण्डवहरूलाई बेलैमा यो कुरा बुझाउन नसक्नु भीष्मको गल्ती थियो। शारीरिक रूपले निकै बलिया भीम कौरवहरूलाई सताउनु सताउँथे। उनी तिनीहरूलाई चौरमा पाहालाई जस्तै पछार्थे वा निसासिने गरी पोखरीमा डुबाइदिन्थे। त्यसको बदलामा पछि सय भाइ कौरवले टुहुरा पाँच पाण्डवमाथि गर्नुसम्म अत्याचार गरे।
भीमसेनलाई विष खुवाएर नदीमा बगाइयो। पाण्डवसहित कुन्तीलाई लाहाको घरमा जलाएर मार्न खोजियो। कुरुसभामा जुवा खेलाइयो। रजस्वला भएकी एकवस्त्रा द्रौपदीलाई सभामा नांगेझार पार्न खोजियो। वनवास र गुप्तवासका बेला पनि हत्या गर्ने अनेक षड्यन्त्र भए। धृतराष्ट्रको समेत त्यसमा मौन समर्थन थियो। कौरवको नुनको सोझो गर्ने निहुँमा भीष्म त्यसको मौन साक्षी भइदिए।
हरेक कुरामा लाचारी व्यक्त गरेर भीष्मले पाण्डवमाथि अत्याचार गर्न कौरवलाई एक प्रकारले प्रोत्साहित नै गरे। ‘जुवामा आफैंलाई हारिसकेका युधिष्ठिरले मलाई दाउमा थाप्ने अधिकार कसरी हुन्छ ? ’ चीरहरणका लागि कुरुसभामा ल्याइएकी द्रौपदीले अत्यन्त जायज प्रश्न उठाएकी थिइन्। उनको प्रश्नमा बरु कौरव पक्षकै विकर्णले समर्थन गरे। द्रौपदीको बेइज्जत कुरुकुलकै सारा महिलाको बेइज्जत हुने तर्क गरे। कुरु राज्यका अभिभावक तथा संरक्षक भीष्मले भने गाँजेमाजे कुरा गरे। ‘द्रौपदी जितिएकी हुन् कि होइनन् म भन्न सक्दिनँ’ भनेर विषम परिस्थितिबाट पन्छन खोजे। यसले दुःशासन अझै उत्तेजित भएर द्रौपदीको सारी तान्न थाल्यो।
गुप्तवासका क्रममा पाण्डवहरू विराट राजाकहाँ भएको सूचना दिने पनि भीष्म नै थिए। सर्तअनुसार वनवास र गुप्तवासको सर्त पूरा गरेपछि पाण्डवले आफ्नो भागको राज्य स्वतः पाउनुपथ्र्यो। यस्तोमा दुर्योधनलाई हस्तक्षेप गर्न नसक्नु हस्तिनापुरको अभिभावक भएका नाताले भीष्मकै गल्ती थियो। यसले गर्दा युद्ध अवश्यम्भावी भयो।
युद्धमा उनी कौरवतर्फका सेनापति भए। तर, उनको मन पाण्डवतिर थियो। विपक्षी सेनापति भएर युधिष्ठिरलाई उनले विजयी हुने आशीर्वाद दिए। कुन्तीपुत्रलाई नमार्ने वचन दिएर र कर्णलाई लड्न नदिएर सुरुआतमै उनले कौरव पक्षको पराजयको उद्घाटन गरिदिए। अर्जुनको युद्ध कौशल देख्दा उनी हुनसम्म खुसी हुन्थे। खासमा भीष्मले युद्धको आठौं दिनसम्म पूरा शक्ति खिचेर लडेकै थिएनन्। त्यसरी लडेका भए ११ अक्षैहिणी सेना भएको कौरवसामु सात अक्षैहिणी पाण्डव सेना त्यतिन्जेल निर्जन भइसक्थ्यो। दुर्योधनले गुनासो गरेपछि नवौं दिन उनले आफ्नो शक्ति देखाए। पाण्डव पक्ष सखापै हुने खतरा देखियो। भीष्मको आक्रमण रोक्न नसक्ने देखेपछि पाण्डवहरूले उनको अवसान अनिवार्य भएको ठहर गरे। त्यही विजयको एकमात्र माध्यम हुन सक्थ्यो। युधिष्ठिर र कृष्णले मृत्युको सूत्र सोधे। भीष्मले सजिलै बताइदिए, ‘शिखण्डीलाई अगाडि राखेर ममाथि भीम र अर्जुनले वाण प्रहार गरून्।’
सोहीअनुसार, अर्जुनले उनलाई सजिलै वाणैवाणको शैयामा सुताइदिए। पाण्डवहरूको आधा विजय त्यसै भयो। शरशैयामा सुतिसकेपछि पनि उनले कृष्ण र कुन्तीले जस्तै कर्णलाई पाण्डवतर्फ लाग्न सुझाव दिएर आफ्नै पदप्रति अन्याय गरे। धन्य, कर्णले उनको आग्रहलाई विनम्रतापूर्वक अस्वीकार्दै दुर्योधनप्रति वफादारी देखाए।
सापेक्ष सत्य
धर्मभीरुका लागि ढुंगाको मूर्ति नै देवता हुन्छ भने नास्तिकका लागि देवमूर्ति ढुंगा हुन्छ। सत्यसापेक्ष हुन्छ भन्नुको अर्थ यही हो। उपनिषद्को एउटा कथाअनुसार गुरु हरिद्रुमत गौतम सत्यकामको गोत्र सोध्छन्। सत्यकामकी आमा जाबाला भन्छिन्, ‘छोरा, तिमी जन्मनुअघि म परिचारिका भएर काम गर्दा अनेक पुरुषसँग समर्पित हुन बाध्य भएँ। अतः तिम्रो पिता को हो, यसै भन्न सक्दिनँ। तसर्थ तिम्रो नाम, थर सत्यकाम जावाल हुन सक्छ। गुरुलाई सत्य नलुकाई मैले भनेको कुरा अनुरोध गर्नू।’ सत्यकामले गुरुलाई यथार्थ सुनाए। गुरुले पिताकै गोत्र हुनुपर्छ भनेर जिद्दी गरेनन्। आमाकै थर, गोत्रबाट उनलाई सहजै शिष्य स्वीकार गरे।
हरिद्रुमतको यो सत्कार्य आधुनिक युगमा पनि अनुशरणीय छ। असली सत्यनिष्ठा यही हो। तर, भीष्मको प्रतिज्ञामा सत्य र न्यायनिष्ठाभन्दा बढी हठ थियो। नभए, आफैंद्वारा अपहरित निर्दोष युवतीको जीवनभन्दा ठूलो उनको ब्रह्मचार्य प्रतिज्ञा हुने थिएन। उनले आफूलाई कौरवआश्रित पनि ठान्नु पर्दैनथ्यो। तिनका हरेक अनुचित कारबाहीमा लाचार भएर साथ दिनु उनलाई सुहाउने कुरा थिएन। किनभने उनकै आत्मबलिदान, त्याग र वीरताका कारण उनीहरूलाई राज्य प्राप्त भएको थियो। उनको हैसियत तिनलाई दण्ड वा पुरस्कार दिने स्तरको थियो। यस्तो त्याग गर्नु नपरेको भए उनको पनि बिहे हुन्थ्यो। सन्तान जन्मन्थे। तिनैले त्यो राज्य पाउँथे।
उनले दृढ भएर धृतराष्ट्रको असीम पुत्रमोह र दुर्योधनको महत्त्वाकांक्षामाथि हस्तक्षेप गर्न सकेको भए महाभारत युद्धै हुँदैनथ्यो। युद्ध टरेको भए अर्जुनले अञ्जानमा आफ्नै दाजु कर्णलाई युद्धको नियमविपरीत मार्नु पर्दैनथ्यो। गुरु द्रोणको हत्याका लागि युधिष्ठिरले अर्धसत्य बोल्नुपर्दैनथ्यो। अर्जुनलाई युद्धमा प्रेरित गर्न र जयद्रथ वध गराउन कृष्णले छल गर्नुपर्दैनथ्यो। पिता द्रोणको हत्याको बदला लिन अश्वत्थामाले युद्ध सकिसकेपछि सुतिरहेका पाण्डव सन्तानको नरसंहार गर्नु पर्दैनथ्यो। विभिन्न देशका राजा, कौरव र पाण्डवपुत्रसहित लाखौंजनको ज्यान जाने थिएन। तिनका पत्नी विधवा र केटाकेटी टुहुरा हुने थिएनन्। राज्य पाए पनि पाण्डव स्वयंलाई आफ्नै वान्धव हत्याको अपराधबोध हुने थिएन।