सम्झना र अनुभवको ककटेल
‘छुटेका अनुहार’ विगतमा छुटिगएका आकृति, स्मृतिको कुनामा रहिआएका अदृश्य सम्झनालाई शब्द–शिल्पमार्फत बाहिर ल्याउने एउटा इमानदार प्रयास हो।
उनी किसान हुन्, आफू किसान भएको कुरा गर्वका साथ सुनाउँछन्। उनी मजदुर हुन्, मजदुरी गर्दाका किस्सा तथा अनुभव उत्साहका साथ सुनाउँछन्। उनी श्रमजीवी पनि हुन्, श्रम गर्दाखेरिका अप्ठ्यारा र कठोर अनुभव यसरी सुनाउँछन् मानौं उनी कुनै प्रेमकथा भन्दैछन्।
विगतका तीता घर्षणलाई वर्तमानमा यसरी सुम्सुम्याउँछन्, जसरी हारुकी मुराकामीको कुनै औपन्यासिक पात्रले हराएको बिरालो फेला पार्दा काखमा राखेर स्नेहले बिरालोको न्यानो शरीरमा औंला दौडाइरहेको होस्। यी त भए उनले आफैंले आफैंलाई दिएको पहिचान-किसान, मजदुर अनि श्रमजीवी। दुनियाँ भने उनलाई केही फरक ढंगले हेर्छ, फरक विचार बनाउँछ उनका बारे। दुनियाँको नजरमा उनी एक कवि हुन्, एक कुशल निबन्धकार पनि।
‘छुटेका अनुहार’ निबन्धसंग्रह यिनै रमेश सायनको विगतमा छुटिगएका आकृतिहरू, स्मृतिको कुनामा रहिआएका अदृश्य सम्झनाहरूलाई शब्द र शिल्पमार्फत बाहिर ल्याउने एउटा इमानदार प्रयास हो। सरसर्ती पढ्दा उनका संस्मरण सामान्य लाग्छन्, अक्षर चिनेको जो कोहीले पनि उनका संस्मरण पढेर बुझ्न सक्छन्। र, सायद यही कुरा नै एउटा लेखकको रूपमा उनको शक्ति हो, न कि कमजोरी। उनी सरल लेख्छन् तर सरल लेख्नु आफैंमा सजिलो काम भने होइन। लेखनमा उनी इमानदार देखिन्छन्। लेखनमा इमानदारिता देखाउनु पनि उति सजिलो मेलो होइन।
संस्मरणात्मक शैलीमा लेखिएका जम्माजम्मी १९ निबन्धहरूको माध्यमबाट सायन आफूले जिन्दगीका विभिन्न कालखण्डहरूमा भोगेका अनुभव कोट्ट्याउन पुग्छन्। संग्रहका सबै अध्याय लेखकका निजी अनुभव भए पनि तिनै संस्मरणहरूमार्फत सायन हाम्रो समाजको तस्बिर र हाम्रो आम मानसिकता पाठकहरूमाझ सहजै पस्कन्छन्। ‘द पर्सनल इज् पोलिटिकल’ भनेजस्तो संग्रहका संस्मरणहरू मूलतः लेखकका निजी अनुभव भए पनि ती उनका निजी अनुभवमात्रै पनि होइनन्। किनभने धेरै अनुभव यस्ता छन्, जसले पाठकलाई उनीहरूकै बाल्यकाल, किशोरवय या कामकाजी जिन्दगीको याद दिलाई दिन्छन्।
संग्रहको छैठौं संस्मरण ‘बाको घडी क्रान्ति’ मा बालक सायनको चित्त दुख्छ, किनकि उनका बुवाले पहाडमा पढाइ राम्रो भएन भनेर उनलाई तराईमा पढाउन लैजाने निर्णय गर्छन्। सायनलाई उनका बुवाले भन्छन्, ‘यहाँ बसेर पढिस् भने घडीको घन्टा सुईजस्तो लोसे हुन्छस्। तँ सेकेन्ड सुईजस्तो बन्नुपर्छ।’ आफूलाई मात्र सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ र एक घन्टा अघि जन्मिएकी दिदीलाई घण्टा सुईजस्तै बने पनि ठीक छ भनेर बुवाले भन्नुको अर्थ बालक सायनको दिमागले बुझ्दैन। कालान्तरमा लेखकको पिताको नाडीमा लेखकको उनै दिदीले अमेरिकाबाट पठाइदिएको राडो घडी हुन्छ, जसमा सेकेन्ड सुई नै हुँदैन।
अब बालक नरहेका सायन बुवालाई सोध्छन्, ‘बा, घडीमा सेकेन्ड सुई छैन त !’
सायनका पिताको उत्तर हुन्छ, ‘घडी किन्ने मान्छे स्वयम् सेकेन्ड सुई जस्ती भएर होला।’
अन्तिममा सायनले निष्कर्ष निकाल्छन्, ‘सपनाहरू सधैं सही देखिँदैनन्। बाले देखेको गलत सपना भएँ म।’
अनुभव लेखकको आफ्नो भए पनि ‘बाको घडी क्रान्ति’ ले समाजमा अहिले पनि कुनै न कुनै रूपमा हुने छोरा र छोरीबीचको विभेदलाई उजागर गर्छ। सरल रूपमा समाजमा युगौंदेखि रहिआएको लैंगिक असमानताको कुरा उठाउँछ। ‘जागिरः तीन उपशीर्षक’मा सायन सबैभन्दा बढी इमानदार देखिन्छन्। जागिर पाउन बोलेको झुट, कामको सिलसिलामा पाएको दुःख, माथिल्लो तहका कर्मचारीबाट पाएको हेपाइ, आफैंले मन नलाईनलाई पचाएको लाजदेखि लिएर अपहरणमा पर्दाका किस्सा साँच्चिकै कुनै काल्पनिक पात्रको कथा जस्तो लाग्छ। त्यस्तै ‘साथी’ लेखमा समकालीन कवि बोनम प्रतापलाई लेखक साथी सायनको तर्फबाट उपहारस्वरूप दिइएको एउटा ‘हार्टफेल्ट ट्रिबिउट’ हो। दोस्तीको अलग, अमर किस्सा।
संस्मरणहरूमा सायन आफ्नै आलोचना गर्न डराएका छैनन्। धेरै अवसरमा उनले आफ्नै आलोचना गरेका छन्, अप्ठ्यारा आत्मस्वीकृति गरेका छन्। एक लेखकको रूपमा इमानदार रहने यो उनको इमानदार प्रयास हो। यद्यपि, पत्रपत्रिकामा छापिएका लेखमार्फत रमेश सायनलाई पढ्दै आइरहेका पाठकहरूलाई पढिसकेका संस्मरण फेरि किताबमा भेटिँदा केही मात्रामा खिन्नता नहोला भन्न सकिन्न। संग्रहमा ‘कामेश्वर’, ‘भकुन्डो’, ‘अर्गानिक मान्छे’ जस्ता केही संस्मरण पनि छन्, जुन औसत छन्। सायद लेखकले संख्या पुर्याउनमात्र यिनलाई किताबमा समावेश गरेका हुन् कि।
किताबमा एउटा ठूलै तथ्यगत त्रुटि पनि छ। ‘लभ लक’ शीर्षकको अन्त्यमा लेखक दक्षिण कोरियाको सिओल टावरको बारेमा जानकारी दिँदै भन्छन्, ‘सिओल टावर ९३ हजार तीन सय ६७ मिटर !’ जबकि टावरको वास्तविक उचाइ भने केवल दुई सय ३६ मिटर मात्र हो। जुन आउने संस्करणहरूमा पक्कै सच्चिनेछ।
कुनै लेखक र उनको कामको मूल्यांकन उनको लेखाइको आधारमा नै हुने हो। लेखनशैली, भाषाको प्रयोग, पात्रहरूको निर्माण, समग्र कथाले पाठकको मनमा पार्ने प्रभाव आदि हुन सक्लान्, लेखकको मूल्यांकन गर्ने आधारका धेरैमध्ये केही खम्बाहरू। लेखनमा इमानदारिताको पनि हामी कुरा गर्छौं। तर कल्पनामा डुबेर लेखिने साहित्यका अरू विधाजस्तै कविता वा आख्यानमा इमानदारिताको नापतौल कसरी गर्ने ? कुनै कवि या उपन्यासकार आफ्नो कृतिमा इमानदार छ कि छैन, कसरी निक्र्योल गर्ने ? यसर्थ, साहित्यको संस्मरण विधामा लेखक इमानदार हुँदैमा उसको उच्च मूल्यांकन हुने र अरू आधारहरूमा बहस गर्नु नपर्ने पनि होइन। र, साहित्यका अन्य विधाजस्तै कविता वा आख्यानमा लेखकको इमानदारिता स्पष्ट रूपमा नझल्किँदैमा उसको कम मूल्यांकन हुने पनि होइन।
आफ्ना दुई संस्मरण ‘फेल’ र ‘पास’मा लेखक सायन आफूले सही उत्तर दिँदा फेल भएको र गलत उत्तर दिँदा पास भएको अनुभव सुनाउँछन्। ‘छुटेका अनुहार’ मा समग्रमा सायन सजिलै पास भएका छन् तर पूर्णांक भने आएको छैन।