अस्ट्रेलियन ओपनमा १७ वर्षीया किशोरीको चर्चा

अस्ट्रेलियन ओपनमा १७ वर्षीया किशोरीको चर्चा

एजेन्सी/मेलबर्न : भनिन्छ, ‘हरेक ठूला प्रतियोगिताले केही प्रतिभाशाली खेलाडी जन्माउँछ।’ अहिले चर्चाको शिखरमा रहेका अधिकांश खेलाडी कुनै समय यस्तै ठूला प्रतियोगिताहरुमा अविश्वासीलो प्रदर्शन गर्दै विश्व खेलकुदमा स्थापित भएका हुन्।

यतिबेला अस्ट्रेलियाको मेलबर्नमा ‘अस्ट्रेलियन ओपन’ टेनिस भइरहेको छ। विश्व टेनिसका चार ठूला प्रतियोगितामध्ये ‘अस्ट्रेलियन ओपन’ वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो। ‘अस्ट्रेलियन ओपन’ को यही संस्करणमा एक अमेरिकी किशोरी आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चाको शिखरमा छिन्।

एकपछि अर्को अविश्वासीलो नतिजा निकालेकी १७ वर्षीया अमान्डा आनिसिमोभा आफूभन्दा निकै शक्तिशाली खेलाडीलाई पाखा लगाउँदै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगिसकेकी छन्। डब्लूटीए वरीयताको ८७औं स्थानमा आसिन अमान्डाले आफूभन्दा वरीयतामा ७६ स्थान माथि रहेकी आर्यना साबालेन्कालाई आफ्नो पछिल्लो शिकार बनाइन्।

तेस्रो चरणको खेलमा बेलारुसकी २० वर्षीया आर्यनालाई ६—३, ६—२ को सोझो सेटमा हराएपछि अमान्डाको चर्चा निकै चुलिएको छ। अमान्डा जारी ‘अस्ट्रेलियन ओपन’ की सबैभन्दा कम उमेरकी खेलाडी पनि हुन्। 

अमान्डा सन् २००० पछि जन्मिएर कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको चौथो चरणमा पुग्ने पहिलो खेलाडी पनि बनेकी छन्। ‘यो मेरा लागि निकै ठूलो उपलब्धि हो। आफूभन्दा प्रभावशाली खेलाडीलाई हराएर चौथो चरणमा पुग्छु भनेर म आफैले पनि सोचेको थिइन’, अमेरिकाको न्यु जर्सीमा जन्मिएकी अमान्डा भन्छिन्।

अमान्डाले अब प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वी पेत्रा भितोभाको सामना गर्नेछिन्। चेक गणतन्त्रकी २८ वर्षीया अनुभवी खेलाडी भितोभाले दुई पटक प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि जितिसकेकी छन्। 

आठौं वरीयतामा आसिन भितोभाले गत साता मात्र ६८ मिनेटभित्रै स्विट्जरल्यान्डकी बेलिन्डा बेनसिचलाई ६—१, ६—४ को सोझो सेटमा हराएर सिड्नी इन्टरनेशनल टेनिस प्रतियोगिताको उपाधि चुमेकी थिइन्। 

पक्कै पनि १७ वर्षीया किशोरी अमान्डाका लागि अनुभवी भितोभा हरेक कोणबाट निकै शक्तिशाली प्रतिद्वन्द्वी हुन्। तर, भितोभालाई हराउन सके यही ‘अस्ट्रेलियन ओपन’ बाट विश्व टेनिसमा अमान्डाको रुपमा नयाँ खेलाडीको उदय हुने पक्का छ।
‘अमान्डाको खेल निकै स्तरीय छ। 

उनले आफूभन्दा प्रभावशाली खेलाडीहरुलाई हराएर आफ्नो क्षमताको वास्तबिक परिचय पनि दिइसकेकी छिन्। त्यसैले आगामी खेलमा मैले उनलाई सहज रुपमा लिने भुल कदापी गर्ने छैन’, अमान्डाको खेलबाट प्रभावित भितोभा भन्छिन्।

अमान्डाले यसअघि थप दुई ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र यूएस ओपन पनि खेलेकी थिइन्। तर, ती दुबै प्रतियोगितामा उनी पहिलो चरणमै पराजित भएकी थिइन्। उनी सन् १९९८ पछि कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको चौथो चरणमा पुग्ने पहिलो सबैभन्दा कम उमेरकी अमेरिकी खेलाडी पनि बनेकी छन्।

यसअघि यो कीर्तिमान चर्चित खेलाडी सेरेना विलियम्सको नाममा थियो। सेरेना सन् १९९८ मा फ्रेन्च ओपनको चौथो चरणमा पुगेकी थिइन्। यसैगरी अमान्डा सन् १९९३ पछि ‘अस्ट्रेलियन ओपन’ को चौथो चरणमा पुग्ने सबैभन्दा कम उमेरकी अमेरिकी खेलाडी हुन्। सन् १९९३ मा अमेरिकाकी जेनिफर क्याप्रियाटी ‘अस्ट्रेलियन ओपन’ को चौथो चरणमा पुगेकी थिइन्।

जारी प्रतियोगिताको पहिलो चरणको खेलमा ३१ वर्षीया रोमानियन खेलाडी मोनिका निकुलेस्कुलाई ७—६ (३), ६—४ को सोझो सेटमा हराएकी अमान्डाले दोस्रो चरणको खेलमा भने २४औं वरीयतामा आसिन २९ वर्षीया युक्रेनी प्रतिद्वन्द्वी लेसिया सुरेन्कोलाई ६—०, ६—२ को सोझो सेटमा पाखा लगाएकी थिइन्।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.