च्याप्टो कविको शक्ति

च्याप्टो कविको शक्ति

टेलिभिजनको दृश्यमा जे छ

त्यो घरमा छैन

घरमा टेलिभिजन छ

टेलिभिजनमा

घर कहाँ छ ?       

बजारले आँसु, क्रान्ति, प्रेम, सौन्दर्य वा मूल्यका हरेक क्षेत्रलाई बजारीकरण गरिरहेको बेला चर्चित कवि कालिकाप्रसाद सिंहले आफ्नो कवितामा यस्तो प्रश्न गरिरहेका थिए ।

‘यो घर खोज्ने काम हाम्रो ड्युटी हो,’ सांग्रिला बुक्स सिलगढीमा एकदिन गप्फिन आइपुगे सिंह।मैले भने, ‘यही घर खोज्ने चेतना विकासको लागि अगमसिंह गिरीले हाम्रो समाजलाई विचार दिए।तर, त्यो विचारलाई छोप्न बजारले अर्को विचार ल्यायो ।’

कालिकाप्रसाद सिंहले मेरो कुराले ताकेको ठाउँको छनक पाए।‘तर गिरीको विचार छोपिएन।तपाईंहरूको राजनैतिक समाजले बोकेको पहिचानको सवाल गिरीले दिन खोजेको विचार थियो, गिरी अहिले पनि जिउँदै छन्।बरु उनको विचार छोप्न आउने विचारकहरू छोपिइसके,’ सिंहको निचोड थियो ।

त्यो हंग्री पुस्ताले परम्परालाई उल्ट्याएर मानिस– अनुकूल समाजको सपना देखिरहेको बेला थियो।गजानन मुक्तिबोधहरूले ‘तिमी कहाँ छौ ?       ’ भनेर समाजलाई सोधिरहेको बेला थियो।अंग्रेजहरूले भारत छोडेपछि देशभरि चिन्हारीका आन्दोलनहरू चले।संघीय देशको संविधानमार्फत सम्बोधित भइमाग्ने यस्ता आन्दोलनहरूको आन्तरिक प्रभाव सबैतिर थियो।मुक्तिबोधहरू त्यसैलाई सिर्जनामार्फत सम्प्रेषण गरिरहेका थिए ।

समाजका जटिलताहरूलाई सम्बोधन गर्न सक्ने भाषाको निर्माणमा लेखकहरू जुटिरहेको बेला यता दार्जिलिङ के गरिरहेको थियो त ?       

खोज्नेहरूले भेट्नेछन्, मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म।बितेको गौरवगाथा कहन आएको होइन म।तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म।सजिलै खोसिएको गाँस र हलुकै लुटिएको बास दिलाउन आएको होइन म।छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म।निर्धा आँसुका धारा हेर्न आएको होइन म।केवल तिमी तिमी नै हो कि चिन्न आएको म।तर, तिमी त यहाँ नचिनिने भएछौ !

मूलधारको साहित्यिक प्रवाहसित लय मिलाउँदै कोही अघि बढिरहेका थिए भने, उनी गिरी नै थिए।गिरीलाई यहाँसम्म आइपुग्न अनेकौं दुःखवादको भर्‍याङ चढ्नु पर्‍यो ।

गिरीमा द्विविधा थियो, तिनको काव्यमा निरन्तर दुखिरहने, रोइरहने समाज नेपालको नेपाली हो कि भारतको गोर्खाली समाज हो ?        धेरै समालोचकहरूले गिरीको यही दुःखवाद चिन्ने निश्चित केन्द्रीय बिन्दु नभेटिने बताएका छन् ।

गिरीलाई मात्र होइन, उसबेला दार्जिलिङमा बस्नेहरूलाई आफ्नो ‘देश’ नेपाल नै हो भन्ने भ्रम थियो।अहिलेसम्म पनि सन्धि, चुक्तिको इतिहास एकातिर छ, भ्रम अर्कोतिर छ।दुवैको प्रतिबिम्ब भने साहित्यमा पनि झल्कियो।त्यो भ्रम फैलाउनमा धरणीधर, सूर्यविक्रम, बैरागी काइँला, ईश्वर वल्लभहरूको साहित्यिक उपस्थिति र उनीहरूको गतिविधि, राजाहरूको दार्जिलिङ भ्रमण र कलाकारहरूको पलायनले पनि सहयोग गरेको छ ।

युद्ध र योद्धासम्म आइपुग्दा गिरीमा नेपाल नोस्टालिजा हट्दै थियो।मुक्तिबोधहरूसितै स्वर मिलाएर उनी नचिनिने भएकाहरूको पहिचानको मुद्दा बोकेर अघि बढिसकेका थिए ।

गिरीको ‘तिमी’ भारतको राजनैतिक गोर्खा हुन्।हामीले यसरी बुझेका हौं।यदि यसलाई लोकल अर्थमा लिइयो भने ग्लोबल अर्थमा ‘तिमी’ संसारभरका किनारीकृत त हुँदै हुन्।‘युद्ध र योद्धा’सम्म आइपुग्दा, चियामा सुन टिप्न आएका पुर्खा, राजाले दिने विविध आपराधिक दण्डबाट लुक्न आएका नेपाली नागरिक, नेपालका राजा र धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, काइँला, वल्लभहरू र भानुभक्तीय मिथकले रोपेको नेपालमोहमा ग्रहण लागिसकेको थियो ।

 एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे।आफ्नै आमा ठान्थे।इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे।र, नेपाल सम्झेर भावुक बन्थे।जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन्।‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि...’ भन्दै रोएका छन् 

एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे।आफ्नै आमा ठान्थे।इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे।र, नेपाल सम्झेर भावुक बन्थे।जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन्।‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि...’ भन्दै रोएका छन्।इन्द्रबहादुर राईले पशुहरू त्यही ‘माटो’ भएर फर्काएका छन्।(हस्तक्षेपीहरूले आलोचना गर्न थालेदेखि अंग्रेजी संस्करण ‘आज रमिता छ’बाट त्यो अंशबाट हटाएको छ भन्ने सुनेको छु, पढेको चाहिँ छैन)।मनबहादुर मुखियाहरूले मुठ्ठीमा त्यही ‘माटो’ मुठ्याएका थिए।अम्बर गुरुङ त्यही ‘माटो’मै फर्किएका थिए।अथवा राजाले खनेको बाटैबाटै उनी नेपाल छिरेका थिए।(त्यही बाटो धेरै कलाकारहरू नेपाल छिरे।नेपालमा उनीहरूको प्रतिभाले ठाउँ बनायो।तर, यससरी नै छिरेका आम मानिसको कथाबारै अहिलेसम्म कसै अनभिज्ञ नै छन्) ।

नेपाल छिर्ने ‘धन्दा’ दुई हिसाबले परिभाषित हुन थालिसकेको थियो।१९५० को धाराले खनेको बाटो भएर दार्जिलिङका नेपालीहरू नेपाल (र नेपालका नेपालीहरू भारत) छिर्दैछन् ?        कि अम्बर गुरुङहरूलाई छिराउन राजाले खनेको बाटोबाट छिर्दैछन् ?       

यताबाट छिरेकाहरूको नागरिकता र सम्मानको सवाल अलग।छिर्नु र नछुर्नुबीचको संकटको सवाल अलग ।

अगम सिंह गिरीले खण्डकाव्य ‘युद्ध र योद्धा’मा यही ‘कन्फ्युजन’लाई डिस्कोर्समा ल्याएका छन्।फोर्समा ‘गोर्खा’ नेपालका धेर र भारतका कम।अंग्रेज भगाउन दुवै गोर्खाको उस्तै योगदान।तर, देश सेता मानिसबाट मुक्त भइसकेपछि काला मानिसहरू त्यही सेता चरित्रमा उदाए।युद्ध र योद्धाबीच खाडल बनियो।गोर्खाहरूलाई संघीय देशमा स्थान दिइएन।उनीहरूको चिनारी निश्चित गरिएन ।

‘युद्ध र योद्धा’बाट नै गिरीले नेपाल र भारतलाई एक गोर्खाले हेर्ने पारम्परिक दृष्टिकोणको सवालमा आफूलाई सच्याए।तर, भूमिकामा इन्द्रबहादुर राईले गिरीको दृष्टिकोणलाई गलत व्याख्या गरिदिए।गिरीय चेतलाई ‘रोमान्टिसिज्म’ भनेर लिमिटेड गरिदिए।भने, ‘कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन्।गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन ।’

चिनारीको निम्ति फेरि युद्ध गर्नुपर्ने हो त ?        गिरीय चेतनाले खनेको प्रश्निक बाटो यस्तो हो।तर, इबरा गिरीको परिवारमा युद्धको अपघात छैन भन्दै गिरीय काव्यलाई अव्यावहारिक तुल्याउन खोजिबसे ।

इबराले त गिरीले जाति–दुःखलाई नाम्लो लगाउनुको कुनै तुकसमेत नरहेको बताएका छन्।गिरीय जातिवादी चेतना दार्जिलिङे साहित्यले प्रसार गरेको मूल चेतना हो।त्यही चेतनाको जगमा अहिलेको दार्जिलिङे राजनीतिसमेत टिकेको छ ।

गिरी रातारात हरेक गोर्खाले नाम लिने शीर्ष कवि बने।अहिले पनि इबराहरूभन्दा धेरै लिइने नाम हुन् उनी।अहिले पनि धेरैलाई गिरीका कविता मुखस्त छन्।हरेक आन्दोलनमा बाटो देखाउने काव्यिक पंक्ति उनी नै हुन्।जातिलाई संकट पर्दा लिइने नाम उनी नै हुन्।साठीको दशक, साहित्य र राजनीतिले दार्जिलिङे वैचारिकीमा युटर्न लिएको बेला पनि हो ।

किनभने दार्जिलिङका सबैभन्दा प्रभुत्वशाली राजनैतिक दल अखिल भारतीय गोर्खा लिगले गोर्खा नामलाई मिथ बनाएर त्यसको छातामुनि सबै जातगोष्ठीलाई एकीकृत गर्ने विचार समाजलाई दिइरहेको थियो।गिरीका कविताले त्यही समयलाई सम्बोधन गरेको थियो।चिनारीको सवाल, जाति मुक्तिको सवाल, केवल गोर्खाहरूको सवाल मात्र त थिएन, संघीय लोकतान्त्रिक देशले सम्बोधनमा ल्याउन नसकेकाहरूको लडाइँ पनि थियो।विश्वभरि नै पहिचानसम्बद्ध साहित्यले अनुहार उठाइरहेको क्रिम समय पनि थियो ।

यतिखेर नै इबराहरूले गिरीय साहित्यलाई भनिदिए, ‘च्याप्टो साहित्य’।अर्थात् गिरीय साहित्य भनेको रोनाधोना, सस्तो भावुकता, रोमान्टिक र एक आयामी वा समाजलाई काम नलाग्ने थोत्रा ।

वास्ताविकता के हो भने दार्जिलिङमा त्यही च्याप्टो साहित्यले समाजलाई दिएको प्रभाव नै ज्युँदो छ।समाज त्यो रामान्टिसिज्मबाट मुक्त छैन।जाति मुक्त छैन।इन्द्रबहादुरीय बौद्धिक लेखनले भने मुक्त समाजको गफ गर्छन्, जो दार्जिलिङे समाजको लागि ‘हावागफ’ हो ।

जाति मुक्त नबनी न भाषाले बंगाली हुँदै अरू भाषामा छिर्ने मौका पाउने हो न केन्द्रमा गोर्खाहरूको समस्याले फ्लोर पाउने हो।इन्द्रबहादुर राईहरूको बौद्धिक डिस्कोर्स दार्जिलिङे समाजमा पुल्ठो बालेर दिउँसै खोज्दा पनि भेटिन्न ।

मलाई कवि कालिकाजीले भने, ‘गिरीको आयाम, तीनवटा आयामले छोप्न सक्दैन।गिरी आफ्नै माटोमा जन्मिएका हुन्।जो आफ्नो माटोमा जन्मिएका हन्, उनी जिउँदा हुन्छन्।हेर्नुहोस्, अहिले तपाईंको राजनैतिक समाजले बोकेको मुद्दा गिरीले थमाएका हुन् ।’

०००

बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछने, ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?       ’

तर काइँला बोलेनन्।उनले नबोलेरै जिते।काइँलालाई लाग्छ, उनलाई गिरीले ‘रिसाएजस्तो व्यंग्य गरे ।’

‘मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला,’ काइँला भन्छन्, ‘एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।’

वास्तवमा गिरी रिसाएकै चाँही होइनन् तर उनका केही आग्रहहरू थिए।केही भन्नु थियो उनलाई।उतिखेर साहित्यमा नयाँ प्रयोगको प्रोपोगान्डादेखि बाहिर बसेर अघिल्ला साहित्यिक मान्यताहरूलाई अथवा यसका इतिहासलाई सम्मान गरियोस्, ठान्थे गिरी।तर, ‘नयाँ’हरू चाहिँ अघिल्ला लेखनलाई नै भन्थे, ‘च्याप्टो ।’

अरूलाई ‘च्याप्टो’ भनेर आफूहरूलाई अग्लो, लामो र चौडा भन्नेहरू हुन्, इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभ।दुईजना नेपालका, एकजना भारतका।नेपालमा पहिलो साहित्य संस्था कसले खोले ?        पहिलो मूर्ति कसको बनाइयो ?        किन र कसले बनाए ?        यसबारेका बहस त भएकै छैन।‘च्याप्टो’ र ‘तेस्रो आयाम’ले कुन समाजलाई के दियो, त्यसबारे पनि बहसै छैन ।

च्याप्टो अर्थात् रुन्चे।नयाँहरू (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभहरू)लाई लाग्थ्यो, गिरीहरू स्वच्छन्दवादी पखेटामा बसेर जसरी उडिरहेका थिए, त्यसले त कतै पुर्‍याउँदैन।त्यो उडान च्याप्टो उडान भयो।जीवन र जगत्लाई त अरू आयामले पनि हेर्नुपर्छ।त्यसपछि आयो, तेस्रो आयाम।गिरी भन्थे, ‘नयाँको आडमा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ ।’

इन्द्रबहादुर राईहरूको बौद्धिक लेखन च्याप्टो साहित्यको जगबाट उठ्यो।च्याप्टो भत्काएर त्यसको ठाउँमा राखियो– त्रय आयाम।तर, त्रय आयाममा इन्द्रबहादुर राई बसेको समाज रिफ्लेक्ट भयो न विश्व समाज नै।तेस्रो आयाम न नेपाली घेरा नाघेर बाहिर नै गयो न नेपाली घेराभित्र नै पस्यो।तेस्रो आयाम न विश्व समाजमा काम लाग्यो, न आफू उभिएको समाजलाई काम लाग्यो ।

पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ।तर, विश्व समाजलाई अत्तोपत्तो छैन।डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ?        भयो ।

तर यता ?        च्याप्टा कवि अगमसिंह गिरीको चेतना भने संकटमा परेका भारतीय (गोर्खा)हरूको चिनारीको खोजतिर लहसिँदै थियो।गिरीय चेतना लोकल भएर पनि ग्लोबल थियो ।

उनले १९५९ मा प्रकाशित गरेको ‘आत्मव्यथा’ चर्चामा यसै कारण थियो।त्यही संग्रहमा उनले ‘नचिनिने भएछौ’ लेखेका हुन्।पहिले–पहिले गिरी नेपाल र भारतलाई एउटै देख्थे।उनी भाषाबाट छिरुन् वा संस्कृतिबाट छिरुन्, पुग्दा नेपाली व्यथामा नै पुग्ने ।

त्यो व्यथाको जनक देश त पक्कै थियो, तर त्यो भारत हो कि नेपाल ?        यो दुविधाको पेन्डुलम गिरीको चेतनामा हल्लिबस्थ्यो।त्यसै कारण उनको दुःखवादको जिलो केलाउन निक्कै गाह्रो कुरा हो भनेका हुन्– आलोचकहरू ।

तर, गिरी त्यही दुःखवादमा अल्झिएनन्।पछिपछि उनी त्यहाँबाट उक्लिए।र, जातिप्रति आशक्त बन्दै गए।६० को दशकबाट हुर्किएको जातीय चेतनाले ७० को दशकमा ‘युद्ध र योद्धा’ जस्तो जातिमुक्तिको दस्तावेज निर्माण गरिसकेको थियो।अथवा भारतीय नेपालीहरूले दार्जिलिङबाट आफ्नो ऐना हेर्न थालिसकेका थिए ।

राजनीतिले गिरीय चेतनालाई सतहमा ल्याउँदै थियो।गोर्खालिगजस्तो राजनैतिक दलले जातीयताको विचारलाई जीवन र समाजसित जोडेर रूपान्तरणको सपना देख्न थालिसकेको थियो ।

अँ, बल्ल राजनीति र साहित्यले समानन्तर विचारलाई परिवर्तन र रूपान्तरणको नारा बनाउँदै थियो।तर, त्यही दशकमा तेस्रो आयामले साहित्यलाई अझ अग्लो विचारले उठाउने भए ।

बैरागी काइँलाले सम्पादकीयमा नै गिरीय लेखनलाई इंगीत गर्दै भने, ‘च्याप्टो लेखन ।’

नेपालका बैरागी काइँलाले नेपाली साहित्यलाई बुझ्दा भारतको नेपाली र नेपालको नेपालीको रूपमा लिए–लिएनन्, थाहा छैन।तर, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’को अन्तर्य नेपाली संकटबाटै आएका विचार हुन्।तर, त्यसको अन्तर्य केवल नेपाली आवाज र संकटमा सीमित रहेन।त्यो आवाज विश्वका कुनै पनि ठाउँको आवाज बन्यो।नेपालमा काइँलाको ‘मातेको मान्छे’ र भारतमा गिरीको ‘नचिनिने भएछौ’ले एउटै काम गरेका छन् ।

यद्यपि, कविताको निश्चित भूगोल नहोला, तर त्यसले सम्प्रेषण गर्ने अर्थको भुइँले कवि बाँचेको इतिहास, भूगोल, संस्कृति र सत्ता टेकेकै हुन्छ ।

गिरीय च्याप्टो साहित्यले जातीय चेतना सम्प्रेषण गर्दैथियो।त्यो जातीयता भारतीय गोर्खाहरूको जातीयता हो ।

अंग्रेजको उपनिवेश खप्ने दार्जिलिङे समाजले अंग्रेजबाट आफ्नो चरित्र निर्माणको लागि पाएको कुनै ठूलो कुरा थियो भने त्यो हो– हिप्पोक्रेसी ।

अंग्रेजीलोे रवाफ।संस्कार।सभ्यता।बोलीचाली।हाउभाउ।बोलिबचन।दृष्टिकोण, विचार निर्माणमा अंग्रेजीलो मनोविज्ञानले साहित्यकार, पढेलेखेका मानिस र ठूलाबढालाई गोर्खेपनबाट पर धकेल्दैथ्यो।यस्तोमा साहित्यले पनि पश्चिमी सैद्धान्तिकी, भौतिकशास्त्र, समाजशास्त्र, आइडियोलजी, दर्शन, मिथहरू भाटभट टिप्दै केन्द्रमा विश्व राखेर ‘वैचारिक आन्दोलन’ गर्ने भएपछि अगमसिंह गिरीहरूको च्याप्टो साहित्य संकटमा परेको हो।च्याप्टो साहित्य अर्थात् स्थानीय मूल्य, स्थानीय आवाज वा आफ्नै माटोले निर्माण गरिरहेको सैद्धान्तिकीहरू संकटमा परेको हो।

मसिना कुराहरूलाई ठूला कुराहरूले छोप्नु भनेको अल्पसंख्यकलाई बहुसंख्यकले छोप्नै त हो।गिरीलाई काइँलाहरूका ठूला कुराले दार्जिलिङे साना कुरा छोपिने हो कि भन्ने पीर थियो।बैरागी काइँलाहरूलाई उनले त्यही पीर व्यक्त गरेका हुन् ।

रिस् होइन।वास्तवमा, बैरागीहरू गिरीय पीडाको (भारतीय गोर्खाहरूका राजनैतिक संकट) जरा भेट्न नसक्ने चेतनाका सर्जकहरू हुन्।उनीहरूका नयाँ प्रयोगले पुरानाहरूलाई चोट परेकोसम्म त बुझ्थे तर गिरीय चेतनाले समाजलाई दिन खोजेको दीर्घकालीन बाटोको न टुप्पो भेट्न सक्थे, न फेद ।

काइँलाहरूलाई त कहलिएका सर्जकको अहम्मा उनीहरूको गतिविधिले चोट पुगेको लाग्थ्यो तर गिरीलाई भने नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लाग्थ्यो ।

अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ।तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन।साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन ।

अहिलेसम्म भारतीय नेपाली साहित्य गिरीय च्याप्टो साहित्यकै जगबाट उठ्न खोजिरहेको छ।च्याप्टो साहित्य नै समाजमा कामलाग्दो भएको छ।आजको समाज गिरीय च्याप्टो साहित्यको जगमा नै उठ्दै गर्दा तेस्रो आयाम विश्वभरि छरिसकेको हुनुपर्ने हो कि ?        अब बहस गर्ने बेला भइसक्यो।उतिखेर तेस्रो आयाम र च्याप्टो साहित्यबीचको द्वन्द्वलाई साह्रै खोतलियो÷खोतलिएन तर अब खोतल्ने बेला भइसक्यो ।

कालिकाप्रसाद सिंह भन्छन्, ‘मुझे लगता है, गिरीको मार दिया गया।क्यो कि उनका कविता सत्ता के लिए खतरा पैदा करते थे।गिरी बहुत शक्तिशाली थे, ये सबको मालुन नही थे ।’

हो त, च्याप्टो कविको शक्तिबारे सबैलाई त थाहा थिएन।तर, केहीलाई थाहा थियो।र, नै त आयो तेस्रो आयाम र भनियो– च्याप्टो साहित्य ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.