सर्लाहीमा दुर्घटना : तीनको मृत्यु, तीन घाइते
मलंगवा : पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर १२ बाँके जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। रोकी राखेको बसमा शनिबार बिहान ट्रकले ठक्कर दिदाँ बसमा सबार दुई र ट्रकमा सबार एक गरी तीन जनाको मृत्यु भएको हो। अन्य तीनजना गम्भीर घाइते छन्।
झापाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ईलामको सुलुबुङ नगरपालिकाका ईन्द्रध्वज साउदेनको २७ वर्षीय छोरा गोविन्द साउदेन, सुनसरी इटहरी उप महानगरपालिका १६ बस्ने प्रेमप्रसाद राईकी ३० वर्षीय श्रीमती बिनेता राई र ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका १९ इनरुवाका अन्दाजी ३५ वर्षीय रहिम मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट बिदुर नगरपालिका १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका ६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बस सह चालक उदयपुर कटारी नगरपालिका १ का २२ वर्षीय दिपक अधिकारी रहेको प्रहरीले जनाएको छ।
तामाङको खुट्टा भाँचिएको र उपचारको लागि काठमाडौं पठाइएको छ। चालक खतिवडाको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि बर्दिबास लगिएको छ। त्यसैगरी अधिकारीको खुट्टा र टाउकोमा समान्य चोट लागेको छ। उनको लालबन्दीमा उपचार भइराखेको छ।