छ महिनामा काठमाडौँमा २१ सय मोटरसाइकल दुर्घटना
सवारी दुर्घटना दिनदिनै बढ्दै छ । दुर्घटनामा परेपछि फेरि सवारी साधन चलाउन र चढ्न मानिसहरु तयार हुन्छन् कि हुँदैनन् ? दुर्घटनाले उनीहरुकाे मानसिक अवस्थामा कस्ताे असर पार्छ ? उनीहरुकाे मानसिक अवस्थालाई आधार बनाएर अन्नपूर्ण सम्पूर्णका (छ महिनामा काठमाडौँमा २१ सय मोटरसाइकल दुर्घटना) लागि सृजना खड्काले स्टाेरी तयार पारेकी छिन् ।
‘योर ब्रदर इज नो मोर।’
अस्पतालबाट काभ्रेका सुनील काफ्लेलाई कसैको फोन आयो। उनको होसहवास उड्यो। बानेश्वर, शंखमूलमा बस्दै आएका उनी बाइक लिएर हत्तपत्त धुलिखेल अस्पतालतिर लागे। यो दुई वर्षअघिको कुरा हो। ‘बाइक एकदमै स्पिडमा थियो,’ उनले भने, ‘सिमसिमे पानी परिरहेको थियो।
सामान्य बिरामी भएर अस्तपाल लगेको भाइको मृत्युको खवरले म एकदमै अत्तालिएको थिएँ।’ बाइक लिएर उनी काभ्रेको साँगासम्म मात्र के पुगेका थिए, एक जना महिला हतार–हतार बाटो काटिरहेकी थिइन्। ‘स्पिडमा भएको बाइक कन्ट्रोल गर्न गाह्रो भयो,’ उनले सम्झिए, ‘फिल्ममा जस्तै मान्छे र बाइक दुवै उड्यौँ। बाटो क्रस गरिरहेकी महिला पनि उछिट्टिएर अर्को कुनातिर पुगिन्।’ यसपछि सुनिललाई केही थाहा भएन।
भाइको मृत्युको खबर सुनेर अस्पताल हानिएका उनी आफैँ अस्पतालमा भर्ना हुनुपर्यो। एक महिना बेड रेस्ट गरेपछि उनी सामान्य हिँडडुल गर्न सक्ने भए। बाटो क्रस गर्ने क्रममा दुर्घटनामा परेर घाइते भएकी महिलाको अवस्था पनि उस्तै नाजुक थियो। ‘दुई जनाको उपचारमा लगभग चार लाख जति खर्च भयो,’ उनले भने, ‘दुई जना छोरा थियौँ। एक जना बितिहाल्यो। त्यसैले पनि आमाबुबाले मलाई बचाउन कुनै कसर बाँकी राख्नुभएन।’ त्यो घटनाले सुनीलको जीवनै परिवर्तन गरिदियो।
बाइकप्रति एकदमै मोह भएका उनी अहिले बाइक नै छुँदैनन्। त्यस घटनापछि उनी न कसैले चलाएको बाइकमा बस्छन्, न आफैँ चलाउँछन्। ‘बाइक देख्यो कि त्यही घटना झलझली दिमागमा आउँछ,’ उनले भने, ‘आमाबुबालाई बाइक चलाउँदिनँ भनेर कसम खाइसकेँ। आफैँलाई पनि मनैदेखि चलाऊँजस्तो लाग्दैन।’
खोटाङका अशोक थुलुङ कलेज पढ्न काठमाडौँ आए। भक्तपुर, सल्लाघारीमा उनी एक जना आफन्तकहाँ बस्थे। उनको कलेज भने काठमाडौं, बानेश्वरमा थियो। ‘कलेज जान–आउन गाह्रो भयो भनेर आमाबुबासँग बाइक किन्न लगाएँ,’ उनले भने, ‘‘भएकै यही एउटा छोरा हो, यसको इच्छा के मार्नु’ भन्दै उहाँहरूले भन्नेबित्तिकै बाइक किनिदिनुभयो।’
बाइक किनेको एक वर्षपछि विदेशबाट अशोकका एक जना आफन्त काठमाडौँ आए। काठमाडौं, जडीबुटीको एउटा होटलमा उनीहरूको भेटघाट गर्ने योजना बन्यो। ‘‘पातला छौँ, अटिन्छ’ भन्दै मैले मेरो बाइकमा तीन जना राखेँ,’ उनले भने, ‘अर्को साथीको बाइकमा दुई जना थिए।’ लामो समयपछि गाउँको मान्छे भेटेकाले तीनचार घण्टा लामो गफगाफ चल्यो। ‘गफगाफसँगै केटाहरू पिउन पनि थाले,’ उनले भने, ‘मैले चाहिँ बाइक चलाउनुपर्छ भनेर पिइनँ। अर्को बाइक चलाउने साथीले पनि पिएको थिएन।’ घर फर्कने बेला रातको ९ बजेको थियो। ‘फर्कने बेला मलाई एक जना साथीले ‘तेरो बाइक म चलाउँछु’ भन्दै जिद्दी गर्यो,’ उनले भने, ‘त्यो साथी टन्न पिएर मातेको थियो। हुँदैन भन्दाभन्दै टेरेन।’ धेरै नै जिद्दी गरेपछि ‘बिस्तारै चला’ भनेर आफूले साथीलाई साँचो दिएको अशोकले बताए।
‘उसले चलाएको बाइकमा ऊ र म मात्र बस्यौँ,’ उनले भने, ‘अर्को बाइकमा तीन जना बसे। एक त अँध्यारो, अर्को खाल्डाखुल्डी परेको बाटो। त्यसमाथि चलाउने मान्छेले टन्न पिएको थियो।’ अनेक शंका गर्दै आफू भक्तपुर गठ्ठाघरसम्म पुगेको उनले बताए। ‘गठ्ठाघर पुग्नेबित्तिकै बाटो खाली देखेर उसले बाइक बेस्करी हुइँक्यायो,’ उनले सम्झिए, ‘मातेको मान्छे कति नै कन्ट्रोल गर्न सक्थ्यो र ? अगाडि एउटा मिनी ट्रक आयो। ट्रकले साइड दिइरहेको थियो। मातेकोे तालमा उसले गुडिरहेको ट्रकमा लगेर बाइक ठोक्यो।’
‘हेलमेट पनि मैले नै लगाएको थिएँ,’ उनले सम्झिए, ‘मेरो खुट्टामा अलिकति मात्र चोट लाग्यो। साथीको अवस्था हेर्नै नसकिने थियो। निधार हेर्दा टाउको फुटेर दुई चिरा भएको जस्तो देखिन्थ्यो। शरीर रगताम्य थियो। सास एकदमै गाह्रो गरेर फेरिरहेको थियो।’ आफूले सहयोगका लागि हारगुहार गरेपछि केही मानिसले ट्याक्सीमा हालेर अस्पतालसम्म पुर्याएको उनी सम्झन्छन्। खुट्टामा सामान्य चोट लागेको हुनाले अशोक अस्पतालबाट भोलिपल्टै डिस्चार्ज भएका थिए। ‘साथीलाई काठमाडौँकोे केएमसी अस्पतालको आइसीयूमा राखियो,’ उनले भने, ‘तीन दिनपछि त्यो साथी बितेको खबर आयो। मैले फकाएर लगेको, ड्राइभ गर्न लगाएको र जानीजानी एक्सिडेन्ट गराएको भनेर उसको परिवारले मलाई पुलिस केस गर्यो।’
यही कारण अशोक २४ दिनसम्म पुलिस चौकीमा थुनिए। ‘पछि म निर्दोष साबित भएँ,’ उनले भने, ‘मेरो बाइक चकनाचुर भएको थियो। त्यो म आफैँले बेहोर्ने र अस्पतालको खर्च उनीहरूकै परिवारले बेहोर्ने सम्झौता भयोे।’ आफूसँग एकदमै मिल्ने साथी गुमाउनुपरेकोमा उनलाई अहिले पनि दुःख लाग्छ। ‘त्यो घटनापछि मैले बाइक र रक्सी दुवै छाडेँ,’ उनले भने, ‘घटना भएको वर्षौं भइसक्यो। फेरि बाइक किन्ने र चढ्ने मानसिकता अझै बनेको छैन।’
ती तीन दुर्घटना
इटहरीका आयुष गौतम दक्ष ड्राइभर थिए। उनीसँग दुईपांग्रे मात्र नभएर चारपांग्रे सवारीको लाइसेन्ससमेत छ। उनी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय सवारीको समेत लाइसेन्स होल्डर हुन्। तर, अहिले उनी चारपांग्रे सवारी त के साइकलसमेत चलाउँदैनन्।
कुरा छ वर्ष अगाडिको हो। आयुषले विवाह गरेको दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष टेक्दै थियो। ‘हाम्रो एन्निभर्सरी आउन केही दिन मात्र बाँकी थियो,’ प्रेम विवाह गरेका आयुषले भने, ‘उनी मामाघर गएकी थिइन्। पोखराको महेन्द्रपुलमा उनको स्कुटर एक्सिडेन्ट भएछ।’ श्रीमतीको स्कुटर एक्सिडेन्ट भएको खबर आफन्तले फोनमा सुनाउँदा उनले पत्याएका थिएनन्।
‘विश्वास नै लागेन, मजाक होला भन्ठानेँ,’ उनले भने, ‘त्यो बेला म काठमाडौँमा थिए। हतार–हतार पोखरा गएँ। अवस्था मैले सोचेको जस्तो थिएन। उनको शरीर पूरै क्षतविक्षत थियो।’ त्यसपछिको एक वर्ष उनले श्रीमतीको यादमा बिताए। श्रीमतीको यादबाट टाढा भाग्न आफूसँग भएको बाइक बेचेर उनी विदेशिएको बताउँछन्।
ड्राइभिङमा दक्ष भएका कारण उनले विदेशमा पनि गाडी चलाउने काम पाए। ‘मन नलागी नलागी पनि चलाउथेँ,’ उनले भने, ‘अर्काको देशमा जे भन्यो, त्यही गर्नुपथ्र्यो। त्योबाहेक मसँग अर्को उपाय पनि थिएन।’ विदेशमा हुँदा फेरि अर्को अप्रिय खबर उनीसम्म पुग्यो। बैंकमा काम गर्ने उनकी माइजू स्कुटर एक्सिडेन्टमा बितेको खबर उनले सुने। उनको मोबाइलमा एक्सिडेन्टको फुटेज समेत आयो।
‘अफिस जाने क्रममा उहाँको स्कुटरलाई अपोजिटबाट आएको गाडीले हानेछ,’ उनले भने, ‘त्यो खबर सुनेपछि म एकछिन रन्थनिएँ। ड्राइभिङ राम्रोसँग गर्न सकिनँ। रेड सिग्नलमा पनि गाडी कुदाइदिन्थेँ। मैले के गरिरहेको छु ? मलाई नै थाहा हुँदैनथ्यो। विदेशमा बसुञ्जेल सात हजार डलर फाइन तिरेँ।’ विदेशमा काम गर्न नसकेपछि उनी नेपाल फर्किए।
उनी नेपाल फर्किएको दुई महिनापछि स्कुलमा सँगै पढ्ने एक जना साथीको बाइक एक्सिडेन्ट भयो। ‘धरानबाट इटहरी जाँदै गर्दा उसको एक्सिडेन्ट भएछ,’ उनले भने, ‘मापसे गरेर एक्सिडेन्ट भएको भन्ने खबर आयो। तर, मलाई उसले रक्सी पिएको कहिल्यै थाहा थिएन।’ अहिले आयुष सडकमा गुड्न त के, हिँड्न पनि मन पराउँदैनन्। ‘सडक र गाडीहरू देख्यो कि तिनै कुराहरू मात्र दिमागमा आउँछ,’ उनले भने, ‘हिँड्दा पनि सकेसम्म रोडवे प्रयोग गर्दिनँ। कतै टाढा जानुपर्यो भने फ्लाइटमै जाने गरेको छु। स्कुटी र मोटरसाइकल त हेर्न पनि मन लाग्दैन। नचढेको पनि धेरै भइसक्यो। बाँचुञ्जेल चढ्दा पनि चढ्दिनँ।’
परिवार नै त्रस्त
काठमाडौँ, बालाजुका धर्मेन्द्र बस्नेतको परिवारमा कसैलाई पनि मोटरसाइकल र स्कुटर चलाउने अनुमति छैन। काठमाडौँ, रिङरोडमा मोटरसाइकल दुर्घटनामा परी धर्मेन्द्रका भाइ जितेन्द्रको दुवै खुट्टा काम नलाग्ने भयो। चार वर्षदेखि उनी ह्विलचियरको सहारामा जीवन काटिरहेका छन्। ‘अफिस जान घरबाट निस्केको भाइलाई गाडीले हान्दियो,’ धर्मेन्द्रले भावुक हुँदै भने, ‘अब जीवनभरि मेरो भाइको सहारा यही ह्विलचियर हो।’ धर्मेन्द्रका दुई जना छोरा र जितेन्द्रका एक छोरा र एक छोरी छन्।
सबै जनासँग ड्राइभिङ लाइसेन्स छ। दुर्घटनापछि सबैले मोटरसाइकल र स्कुटर चलाउन छाडेका छन्। ‘घरमा भएका बाइक र स्कुटर पनि सबै बेचिदियौँ,’ धर्मेन्द्रले भने, ‘म आफैँ पनि गाडी चढेर अफिस जान थालेको चार वर्ष भइसक्यो। ड्राइभिङ लाइसेन्स घरमा यत्तिकै थन्केर बसेको छ।’ छोराछोरी भने कहिलेकाहीँ चढ्न रहर गर्ने उनी बताउँछन्। ‘‘अरू जे गर्न मन लाग्छ, गर, तर, बाइक कुदाउने काम नगर’ भनेर बेलाबेला गाली गर्ने गरेको छु।’ बाइकलाई उनी यमराजको संज्ञा दिन्छन्। ‘त्यसैले गर्दा आज मेरो भाइको दुवै खुट्टा गुम्यो,’ उनले भने, ‘हाम्रो परिवार अर्काे दुर्घटनाको खबर सुन्न चाहँदैन।’
दुर्घटनाको पाठ
चितवनका आशिष कुँवरको खुट्टामा अहिले स्टिल राखिएको छ। शरीरभरि चोटपटक लागेका दागहरू अझै पनि प्रस्ट देखिन्छन्। दुई वर्षअघि पर्सामा उनी एकदमै डरलाग्दो मोटरसाइकल दुर्घटनामा परे। ‘घुम्नका लागि भनेर घरबाट निस्किएका थियौँ,’ उनले भने, ‘अल्लारे केटाहरूको ग्याङ थियो। बाइक रेस गर्दै चलाएका थियौँ।’ रेसमा आफू सबैभन्दा अगाडि भएको उनी सम्झन्छन्।
‘वभरटेक गर्न खोज्दा अगाडिबाट आएको टाटा सुमोमा मेरो बाइक बेस्सरी बजारियो,’ उनले भने, ‘मेरो स्पिड सयभन्दा माथि थियो। त्यसपछि के भयो, केही थाहा छैन। होसमा आउँदा अस्पतालको बेडमा थिएँ। हलचल गर्न सक्ने अवस्थामा थिइनँ। शरीर पूरै दुुखेको थियो।’ चितवन मेडिकल कलेजलगायत त्यहाँका तीनचार वटा अस्पताल चहारेपछि उनी उपचारका लागि काठमाडौं आएको बताउँछन्।
‘काठमाडौँमा पनि धेरै अस्पताल गयौँ,’ उनले भने, ‘खुट्टा काट्नुपर्छ भनेका थिए। तर, धन्न खुट्टाचाहिँ काट्नु परेन।’ उनी दुई महिना अस्पताल बसे। बैसाखीको सहारा लिएर छ महिनापछि बल्ल अलिअलि हिँड्न सक्ने भएको उनले बताए। ‘करिब ४० लाख रुपैयाँ उपचारमा खर्च भयो,’ उनले भने, ‘किनेको १५ दिन मात्रै भएको बाइक पनि झर्यामझुरुम भयो। अहिले पनि एक्लै बस्दा ‘त्यो दिन स्पिडमा बाइक नचलाएको भए यो सबै हुँदैनथ्यो’ भनेर पश्चात्ताप लाग्छ।’ अहिले आशिषलाई गाडी चड्न पनि डर लाग्छ। ‘बाइक चढ्ने कुरा त कल्पना पनि गर्न सक्दिनँ,’ उनले भने।
काठमाडौँ, धुम्बाराहीका निराजन लम्सालको अगाडिका तीनटा दाँत छैनन्। आँखाको माथिल्लो भागमा ठूलो चोटको दाग छ। खुट्टामा पनि त्यस्तै खतहरू छन्। तीन वर्षअगाडि अंग्रेजी नयाँ वर्षको दिन थियो। त्यही दिन निराजनको जापानका लागि भिसा लागेको थियो। ‘न्यू इयर र मेरो भिसा लागेको खुशीयालीमा ठमेलमा साथीहरूलाई एउटा सानो पार्टी दिएको थिएँ,’ उनले भने, ‘पार्टी सकेर निस्किँदा रातको पौने १ बज्यो।
बाटो खाली भएकाले बाइक एकदमै स्पिडमा थियो। अलिअलि पिएको पनि थिएँ। बाइक स्लिप खायो। म बेस्सरी घिर्सिंदै पोलमा बजारिएछु।’ त्यसपछि निराजन आफूलाई केही होस नभएको बताउँछन्। ‘खुट्टाको अपरेसन गर्नुपर्यो,’ उनले भने, ‘हड्डी बांगो भएकाले रि–अपरेसन गर्नुपरेको थियो। उपचारमा चार लाख रुपैयाँ खर्च भयो। अहिले सम्झिँदा ‘त्यो एक दिन बाहिर ननिस्केको भए हुन्थ्यो’ भन्ने लाग्छ।’ निराजन अहिले ठीक भएसके। तर, उनी बाइक चलाउँदैनन्। ‘बाइक देख्यो कि त्यो रात सम्झिन्छु,’ उनले भने।
दुर्घटनामा कलाकार
अभिनेता विपिन कार्कीले बाइक कुदाउन थालेकोे १५ वर्ष भयो। उनी बाइकका सोखिन हुन्। आफूलाई बाइक कुदाउँदा छुट्टै खालको मज्जा लाग्ने उनी बताउँछन्। विपिन पनि डेढ महिनाअघि मोटरसाइकल दुर्घटनामा परे। ‘योभन्दा पहिला पनि सामान्य लड्ने, हल्का घाउचोट लाग्ने भएको थियो,’ उनले भने, ‘तर, हस्पिटल नै जानुपर्ने चाहिँ भएको थिएन।’
त्यो दिन उनी फिल्म ‘जात्रैजात्रा’ को सुटिङमा जान लागेका थिए। ‘कालिमाटीमा पुगेपछि अगाडितिरबाट अनियन्त्रित गतिमा आएको बाइकले सीधै मेरो खुट्टामा हान्यो,’ उनले भने, ‘सडकमा लम्पसार परेछु। त्यो बेलामा म एकदमै आत्तिएको थिएँ।’ ट्राफिक प्रहरीको सहयोगमा उनी अस्पताल पुगेको बताउँछन्।
‘दायाँ खुट्टा भाँचिएको रहेछ,’ उनले भने, ‘यो भन्दा धेरै भएको भए मेरो हालत के हुन्थ्यो होला ? धन्न बाँचँे भने जस्तो लाग्यो। अस्पतालमा मनमनै ‘अबदेखि बाइक कहिल्यै कुदाउँदिन’ भनेर सोचिसकेको थिएँ।’ विपिनले छ हप्ता पूरै बेड रेस्ट गरे। खुट्टामा अहिले पनि स्टिल राखिएको छ। अझै एक वर्ष राख्नुपर्ने उनी बताउँछन्। आफूले राम्रो चलाउँदाचलाउँदै पनि दुर्घटनामा परेका विपिन दुर्घटनालाई भइपरी आउने घटना भन्छन्। ‘एक्सिडेन्ट भनेको भइपरी आउने कुरा हो,’ उनले भने, ‘संसारको जुनसुकै शहरमा पनि हुन्छ। न्यूनीकरण गर्न सकिएला, रोक्न सकिँदैन।’
पछिल्लो समय हेमन्त राणाको ‘साइँली’ गीतको म्युजिक भिडियोबाट चर्चा कमाएकी अभिनेत्री मेनुका प्रधान पनि केही समयअगाडि स्कुटर दुर्घटनामा परेकी थिइन्। एउटा फिल्मको प्रेस–मिटबाट फर्किने क्रममा उनको दुर्घटना भएको थियो। उनले चलाएको स्कुटरलाई बाइकले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको थियो। लामो समयको बेड रेस्टपछि अहिले उनी पुनः काममा फर्किएकी छिन्।
स्कुटरको सन्त्रास
ललितपुर, सातदोबाटोकी प्रजिना खत्रीलाई स्कुटर देख्नेबित्तिकै आफ्नी दिदी एलिजाको याद आउँछ। जो एक वर्षअघि काठमाडौँ, दक्षिणकालीमा दुर्घटनामा परेर बितेकी थिइन्। प्रजिनाकी दिदी पाटन अस्पतालमा कार्यरत डाक्टर थिइन्। धेरै मिडियाले उनको दिदीको दुर्घटनाको समाचार छापेका पनि थिए। ‘दिदीको एक्सिडेन्टको न्युज अहिले पनि झुटो हो जस्तो लाग्छ,’ प्रजिनाले भनिन्, ‘सुमो गाडीले हानेको उहाँको शरीर सम्झेपछि मात्रै उहाँ हामीमाझ हुनुहुन्न जस्तो लाग्छ।’ यसअघि प्रजिना स्कुटी भनेपछि एकदमै मरिहत्ते गर्थिन्। ‘स्कुटी चलाउन पाएपछि मलाई केही चाहिँदैनथ्यो,’ उनले भनिन्, ‘दिदीको मृत्यु भएपछि स्कुटर चलाउन छाडेँ। घरमा भएको स्कुटर पनि बेचिदिएँ।’
काभ्रे बनेपाकी इसा पाठकले स्कुटर चलाएर हिँड्न थालेको पाँच वर्ष भएको थियो। दुई वर्षअघि उनी स्कुटरबाट नराम्रोसँग लडिन्। त्यो दिनदेखि स्कुटर चढ्नै छाडिन्। ‘अगाडिबाट हानिएर आएको ट्रक देखेर नर्भस भएँ,’ उनले भनिन्, ‘लडेर मेरो खुट्टा स्कुटरको मुनि पर्यो। फ्याक्चर भयो। खुट्टामा स्टिल नै हाल्नुपर्यो।’ त्यो दिनदेखि अहिलेसम्म स्कुटर चलाउने आत्मविश्वास अझै नफर्किएको उनी बताउँछिन्। ‘चार कोस पर ट्रक देखेँ भने पनि आत्तिन्छु,’ उनले भनिन्, ‘स्कुटर चलाएर हिँड्ने आँट अहिलेसम्म आएको छैन। त्यो स्कुटर बेचिसकेँ। अहिले गाडीमा अफिस जान्छु।’
पाल्पाकी सुदिप्ता पराजुली स्कुटर सिक्ने क्रममा थिइन्। मुख्य रोडमा स्कुटर लिएर हिँड्ने भने भइसकेकी थिइनन्। तीन वर्षअघि चलाउन सिक्ने क्रममा उनको स्कुटर दुर्घटना भयो। ‘ओरालोमा एउटा ठूलो ढुंगा थियो, ‘उनले भनिन्, ‘त्यही ठूलो ढुंगामा ठोक्किएर लडेँ। खुट्टा र हातमा चोट लागेर अस्पताल भर्ना हुनुपर्यो।’ त्यो दिनदेखि आफूले स्कुटर नै नछोएको सुदिप्ता बताउँछिन्। ‘हातखुट्टामा भएका चोटका खतले मलाई फेरि कहिल्यै स्कुटर चलाउन दिएनन्,’ उनले भनिन्, ‘स्कुटर चलाउन खोज्नेबित्तिकै तिनै खतमा आँखा जान्छ। अहिलेसम्म फेरि स्कुटर चलाउने आँट बटुलेकी छैन।’
दक्ष नभई सडकमा आउँदा यस्ता घटना घट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्त बताउँछन्। ‘ड्राइभिङ इन्स्टिच्युटमा ‘आठ’ घुमाउन आएर मात्र हुँदैन,’ उनी भन्छन्, ‘आठ पास गरेपछि हातमा लाइसेन्स त पर्छ। तर, सडकसम्बन्धी ज्ञान नहुँदा धेरै मानिस दुर्घटनामा पर्ने गरेका छन्।’ यस्तो अवस्थामा मानिस नर्भस भएर पुनः बाइक वा स्कुटर चलाउने आत्मविश्वास नआउने उनको भनाइ छ। ‘वेल ट्रेन्ड भएर मात्र सडकमा निस्किनुपर्छ,’ उनी भन्छन्, ‘जबसम्म ट्राफिक नियम, सडक र सवारीबारे जानकारी हुँदैन, तबसम्म सवारी लिएर सडकमा निस्किनु हुँदैन।’ दुईपांग्रे सवारी चलाउँदा ख्याल पुर्याइएन भने जे पनि हुन सक्ने उनी बताउँछन्। ‘बढ्दो जाम, समय अभाव, सोख आदि कारणले मोटरसाइकल र स्कुटर हरेकको आवश्यकता बनिसक्यो,’ उनले भने, ‘तर, नियमपूर्वक नचलाउँदा वा राम्ररी चलाउन नजान्दा यही साधन काल बन्न सक्छ।’
२९ वर्ष ट्राफिक प्रहरीका रूपमा कार्यरत पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु अरू सवारीसाधनका हकमा मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने बताउँछन्। ‘मोटरसाइकल र स्कुटर जुन सवारीसाधनसँग पनि दुर्घटनामा परेको सुनिन्छ,’ उनी भन्छन्, ‘बस, कार, ट्याम्पो, ट्रक, टाटा सुमो, माइक्रो जति पनि सवारी छन्, ती प्रायः मोटरसाइकल वा स्कुटरसँग नै दुर्घटनामा पर्छन्।’ सवारीको चापको कारण दुर्घटना दिन प्रतिदिन बढेको उनको अनुभव छ। ‘हालसम्म नौ लाख मोटरसाइकल र स्कुटर यातायातमा दर्ता भएका छन्,’ उनले भने, ‘तीमध्ये छ लाख उपत्यकाका सडकमा गुड्छन्।’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले आर्थिक वर्ष २०७५-०७६ मंसिर मसान्तसम्म निकालेको सवारी दुर्घटनाको विवरणमा २ हजार १ सय ७७ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको देखिएको छ।
‘कुल र भद्र भएर सवारी चलाउनुपर्छ’
वसन्तकुमार पन्त, प्रहरी वरिष्ठ उपरीक्षक
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ
चिल्लो सडक, ट्राफिक प्रहरी र ट्राफिक लाइट हुँदैमा मात्र सडक सुरक्षित हुँदैन। चालक पनि अनुशासित हुनुपर्छ। चेतनाको कमीले गर्दा धेरैजसो दुर्घटना हुने गर्छन्। हाम्रोमा मान्छे हिँड्ने फुटपाथमा व्यापार गर्नुपर्छ, मोटरसाइकल गुडाउनुपर्छ भन्ने चेतना छ। कसरी बाटो काट्ने ? थाहा हुँदाहुँदै पनि व्यवहारमा लागू हुँदैन। आकाशेपुल र अन्डरपासको कसैलाई मतलब छैन।
मोटरसाइकल वा स्कुटर चालकले धेरै कुरामा ध्यान दिनुपर्छ। सवारी चलाउँदा आफ्ना डकुमेन्टहरू साथमा राख्नुपर्छ। लाइसेन्स नभएका छोराछोरीलाई बाइक वा स्कुटर चलाउन दिनु हुँदैन। बाइक वा स्कुटर चलाउनुभन्दा पहिला ब्रेक, क्लच, फ्युल, एक्सिलेटर, स्टयान्ड सबै जाँच्नुपर्छ।
हेलमेट लगाएर मात्र बाइक वा स्कुटर चलाउनुपर्छ। ट्राफिक नियम, संकेत तथा चिन्हका बारेमा ज्ञान राख्नुपर्छ। जेब्रा क्रसिङमा अनुशासित भई पैदलयात्रुलाई पहिलो प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङ नभएको ठाउँमा पनि पैदलयात्रुलाई नै प्राथमिकता दिनुपर्छ। सडकमा सवारी प्रतिस्पर्धा गर्दै कुदाउने काम गर्नुहुँदैन। लेन अनुशासनको पालना गर्नुपर्छ। बाटो मोड्दा सधैँ इन्डिकेटरको प्रयोग गर्नुपर्छ। आवश्यकताअनुसार हर्न प्रयोग गर्नुपर्छ। टाढाको दूरीमा जाँदा सकभर बाइक वा स्कुटरको प्रयोग गर्नु हुँदैन। बाइक वा स्कुटर चलाउँदा मोबाइल र इयरफोन प्रयोग गर्नु हुँदैन।
कहिल्यै पनि तनावमा मोटरसाइकल र स्कुटर चलाउनु हुँदैन। घरमा आमाबुबासँग र बाहिर गर्लफ्रेन्डसँग झगडा भयो भन्दैमा मोटरसाइकलको कान बटार्ने होइन। कुल माइन्डमा बिस्तारै भद्र भएर चलाउनुपर्छ। मापसे गरेर सवारी चलाउनु हुँदैन। यस्तो अवस्थामा सवारी चलाउँदा आफू पनि दुर्घटनामा परिन्छ र अरू पनि दुर्घटनामा पर्छन्। आजभोलिका ठिटाहरू सडकमा हिरो बन्दै जिकज्याक गरेर बाइक चलाउँदै हिँड्छन्। कतिपयले त सडकमै स्टन्ट गर्दै हिँडेको देखिन्छ। यो बिलकुलै गर्नु हुँदैन। त्यस्तै, हरेक सवारीको रोक्ने ठाँउ निश्चित तोकेको हुन्छ। त्यो ठाउँमा मात्र रोक्नुपर्छ। सवारी साधनमा चढिसकेपछि कहिल्यै पनि हतार गर्नु हुँदैन। बरु घरबाट १५ मिनेट छिटो निस्कँदा केही बिगिँ्रदैन। दुर्घटनाको पहिलो मुख्य कारण तीव्र गति हो। दोस्रो कारणमा ट्राफिक नियमको पालना नगर्नु हो।
‘रहरलाई डरले जित्यो’ दयाहाङ राई, अभिनेता
मलाई बाइक चलाउन एकदमै रहर लाग्थ्यो। तर, अहिलेसम्म कहिल्यै बाइक चलाएको भने छैन। जुन समयमा रहर लाग्थ्यो। त्यो बेला बाइकको पहुँच थिएन। पहुँच हुन थालेपछि रहर घट्दै गयो। डर बढ्दै गयो।
साथीहरूसँग बाइकमा चढेको बेला म तीनचार चोटि बाइक एक्सिडेन्टमा परेँ। एक पटक धुलीखेलबाट मेरो एक जना साथी र म बाइकमा आइरहेका थियौँ। साँझ पर्नै लागेको थियो। हल्का पानी परिरहेको थियो। ओरालोबाट दायाँतिर टर्निङ लिइरहेका थियौँ। अचानक कहाँबाट एउटा साइकल रोड क्रस गर्न आइपुग्यो। बाइक आएको देखेर साइकलवालाले तर्सिएर साइकल नै छाडिदियो। बाइकको ब्यालेन्स बिग्रिएर हामी लड्यौँ।
अगाडि बाइक चलाउने साथी बेहोस भयो। अस्पताल लगेको धेरै समयपछि मात्र होस आयो। मलाई पनि सामान्य चोटपटक लाग्यो। काठमाडौँको ज्ञानेश्वरको ओरालोमा फेरि अर्को एक जना साथीसँग स्कुटरमा एक्सिडेन्टमा परियो। खासै चोटपटक त लागेन। तर, त्यो दिन धन्नले बाँचियो। जाम खुलेर स्कुटर स्टार्ट गर्नै लाग्दा पछाडिबाट गाडीले हानेको थियो। स्कुटर चलाउने साथी खाल्डोमा प¥यो। म उछिट्टिएर केही पर पुगेँ।
त्यसको केही समयपछि मेरो एक जना एकदमै मिल्ने अर्को साथी मोटरसाइकल दुर्घटनामा परेर बित्यो। त्यसपछि मोटरसाइकलप्रति मेरो मोह पूर्ण रूपले घट्यो। मेरो मोहलाई डरले जित्दै गयो। त्यो दिनदेखि ‘कहिल्यै मोटरसाइकल चलाउँदिनँ’ भन्ने निर्णय गरेँ। अहिले प्रायः ट्याक्सीमा हिँड्छु।
मिलेसम्म साथीभाइको गाडीमा लिफ्ट लिन्छु। भीडभाडमा बाइकमा यात्रा गर्न एकदमै डर लाग्छ। कलाकारको बानी धेरै कल्पना गर्ने खालको हुन्छ। साधारण कुरालाई पनि भयंकर देखिन्छ। मोटरसाइकल र स्कुटरबारे पनि मैले धेरै कल्पना गरेँ। एक्सिडेन्ट भयो भने के होला ? हात–खुट्टा भाँचियो भने के होला ? भनेर सोच्दासोच्दै डरले नराम्ररी डेरा जमायो।
मैले तीनटा फिल्ममा बाइकको सिन दिनुपरेको थियो। तर, कुनैमा पनि मैले बाइक चलाइनँ। अहिले विभिन्न खालका टेक्नोलोजी आएका छन्। तिनै टेक्नोलोजी प्रयोग गरेर सुटिङ भयो। फिल्ममा मैले नै कुदाएको जस्तो देखिन्छ। धेरै दर्शकलाई यो कुरा थाहा नहुन सक्छ। कलाकारले बाइक चलाउन जान्नुपर्छ। यो स्वाभाविक पनि हो। तर, पनि डरले म सुटिङमा होस् वा बाहिर, कहिल्यै बाइक चलाउँदिनँ।