‘सरकार हरेक दिन एक कदम अगाडि’

‘सरकार हरेक दिन एक कदम अगाडि’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकार हरेक दिन एक कदम अगाडि बढिरहेको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कांग्रेसका पूर्वसांसद तीर्थबहादुर भुषाललाई शनिबार पार्टी प्रवेश गराउँदै उनले सरकार दिनैपिच्छे नयाँ–नयाँ काम गर्दै एक कदम अघि बढिरहेको बताए।

‘कानुन बनाउने, संरचना बनाउनेदेखि सबै काम हामीले सरकारको नेतृत्व गर्दा बनाउनु पर्ने अवस्थामा थियो, अब कर्मचारी समायोजनसम्म आइपुग्दा ती सबै अनेक व्यवधान र कठिनाइ पार हुन्छन्’, उनले भने, ‘हरेक दिन एक कदम अगाडि बढ्यो कि बढेन हेर्नुहोस्। मैले भन्दै आएको छु, नयाँ–नयाँ काम भएका छन्, हरेक दिन।’ प्रधानमन्त्रीले नेकपाले चुनाव जालझेल गरेर नभई जनताको मन जितेर जितेको भन्दै यसलाई कसैको बदख्वाइँ नठान्न आग्रह गरे।

उनले नेकपा श्रीखण्ड भएको भन्दै नबुझ्नेका लागि मात्र खुर्पाको बिँड र बुझ्नेका लागि श्रीखण्ड भएको बताए। नेकपा खुइलियो भन्नेहरूलाई प्रधानमन्त्रीले चस्मा सफा गरेर हेर्न आग्रह गरे। ‘नेकपा खुइलियो भन्नेहरू छन्। चस्मामा तुँवालो लाग्यो भने सफा देखिँदैन। चस्मामा फोहोरको तुवाँलो लागेको छ भने होइन आज तुवाँलो लागेको छ भनेर हुन्छ ? चस्मा सफा गर्न म आग्रह गर्छु’, उनले भने।

उनले नेकपा सबैभन्दा लोकतान्त्रिक पार्टी भएको जिकिरसमेत गरे। ‘नेकपा कसैका मुखमा बुजो नलगाउने, बोल्न पाउने, मज्जाले छलफल गर्ने, मतभेद प्रकट गर्ने र एकताबद्ध भएर सर्वसम्मत निर्णय गर्ने लोकतान्त्रिक पार्टी हो’, उनले भने ‘त्यो सहिष्णुता, लचकता फराकिलो अवस्थाको पार्टी हो नेकपा।’

उनले चुनावमा आफ्नो पार्टीले झुक्याएर गोल नगरेको भन्दै देश विकासमा एकताबद्ध भएर लाग्न सबैसँग आग्रह पनि गरे। ‘हामी कसैकाविरुद्ध अनुचित रूपमा एउटै आरोप लगाउँदैनौं। झुटो एक शब्द लान्छना लगाउँदैनौं, आफ्नोबारे हामी कुनै बढाइचढाइ गर्दैनौं। हाम्रा उपलब्धिका कुरा गर्दा हामी आत्मप्रशंसा गर्दैनौं’, उनले भने, ‘हाम्रा नीति अग्रगामी छन् भनेका छौं। त्यो उपलब्धिले देखाएका छन्, परिणामले देखाएका छन्। आउनुहोस् देशको विकास र समृद्धिका लागि सबै एकताबद्ध भएर लागौं।’

 ‘नेकपा कसैका मुखमा बुजो नलगाउने, बोल्न पाउने, मज्जाले छलफल गर्ने, मतभेद प्रकट गर्ने र एकताबद्ध भएर सर्वसम्मत निर्णय गर्ने लोकतान्त्रिक पार्टी हो।’
– प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्रीले विश्वमै सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको देशमा नेपाल पर्‍यो भने पनि आश्चर्य नमान्न आग्रह गरे। आँकडामा खेल्ने फूर्सद र सोख आफ्नो पार्टीलाई नभएको भन्दै उनले आँकडा परिवर्तन गर्ने संकल्प र सम्भावना आफ्नो पार्टीले देखाइरहेको उनको भनाइ थियो।

नवप्रवेशी भुषालले नेकपाले मात्र अब जनताको मुक्ति सपना पूरा गर्ने र देशको विकास पनि गर्ने बताए। उनले नेपालमा अहिले नेकपाको शक्तिशाली सरकार रहेको र कसैले डगमगाउन नसक्ने भन्दै पूर्वपार्टी कांग्रेससँग पनि सरकारलाई सघाउन आग्रह गरे। कांग्रेसले सरकारविरुद्ध आन्दोलनमा उत्रने बताइरहेका बेला कांग्रेसबाटै पूर्वसांसद समेत रहेका उनले सरकारलाई सबै दलले भित्र र बाहिर सबैतिरबाट सघाएर विकासमा साथ दिनुपर्ने धारणा राखे।

‘शक्तिशाली सरकार छ नेपालमा अहिले। मैले हिजो जुन पार्टीमा काम गरें, तिनलाई पनि यो सरकारलाई भित्र÷बाहिर जहाँबाट भए पनि सहयोग गरेर नेपाल निर्माणमा एकजुट भएर लाग्न आग्रह गर्छु’, उनले भने। ०५१ सालमा चितवन क्षेत्र ४ बाट निर्वाचित उनी कांग्रेस चितवनका पूर्वजिल्ला सभापति हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.