तेस्रो स्थानमा उक्लियो रियल मड्रिड
म्याड्रिड : रियल मड्रिड स्पेनिस ला लिगा फुटबल तालिकाको तस्रो स्थानमा उक्लिएको छ । रियलले शनिबार राति खेलिएको खेलमा सेभिलमाथि २—० गोलको जित हात पार्यो । घरेलु मैदानमा खेलिएको खेलमा रियलका लागि कासेमिरो र लुका मोड्रिचले एक÷एक गोल गरे ।
रियलले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ७८औं मिनेटमा कासेमिरोले टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा मोड्रिचले टोलीका लागि दोस्रो गोल गरेका थिए ।
ला लिगा तालिकामा १९ खेलबाट ४३ अंक बटुल्दै बार्सिलोना पहिलो स्थानमा छ । दोस्रो स्थानमा आसिन एट्लेटिको मड्रिडको २० खेलबाट ४१ अंक छ । तेस्रो स्थानमा उक्लिएको रियलको २० खेलबाट ३६ अंक छ । सेभिल भने २० खेलबाट ३३ अंक बटुल्दै चौथो स्थानमा आसिन छ ।
सन् १९९३ पछि रियल र सेभिलबीच खेलिएको कुनै पनि खेल बराबरीमा सकिएको छैन । एट्लेटिको मड्रिडले भने शनिबार राति भएको खेलमा एसडी हुएस्कालाई उसैको मैदानमा ३—० गोलले पराजित गर्यो । एट्लेटिकोमड्रिडका लागि लुकास हर्नान्डेज, सान्टियागो एरिस र कोकेले गोल गरे ।
यसैगरी आइतबार विहान भएको खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई उसैको मैदानमा २—१ गोलले हरायो । २० खेलबाट २६ अंक जोड्दै भ्यालेन्सिया तालिकाको सातौं स्थानमा छ ।